लमजुङ । दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीया चिजकुमारी श्रेष्ठले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिँधेरै जीवन बिताइन् । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिसिएको मकै, कोदोको ढिँडो, फापरको रोटी तथा ढिँडोलगायत खानेकुरा ढिकी–जाँतोमा कुट्ने र पिस्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आइन् ।
उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा संघर्ष गरिएका ती दिन कथा जस्तै लाग्ने गरेको छ । ऊ बेला गाउँमा ढिकी–जाँतो नभएको कुनै घर हुँदैन थियो । तर त्यस बेला ठूलो महत्व रहेको ढिकी–जाँतो केही वर्षदेखि हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई ढिकीजाँतो कुनै बेलाको कथा जस्तै हुने थालेको छ ।
सोही वडामा पर्ने श्रीमञ्जाङका ९४ वर्षीया चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिसेर जीवन बिताइन् । उनलाई नै यतिबेला विगतमा ढिकी–जाँतोमा संघर्ष गरिएका ती दिन कथा जस्तै लाग्न थालेको छ । अहिले वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँलगायत गाउँमा ढिकी जाँतो देख्नै नपाइने अवस्था आएको छ ।
सबै गाउँमा एक हजारभन्दा बढी घरपरिवार रहेकामा अहिले पाँच–दशवटा भन्दा धेरै घरमा ढिकी–जाँतो छैन । ढिकी–जाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा विगतमा घरैपिच्छे ढिकी–जाँतो राखेर प्रयोग गर्दै आए पनि ३५ घरपरिवार रहेको यस गाउँमा अहिले एउटा मात्र ढिकी रहेको स्थानीय कामसार्की गुरुङले बताए ।
करिब १०–१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकी–जाँतो हराउँदै गएको उनको भनाइ छ । यसरी परम्परागत ढिकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिने अवस्थामा रहेको गुरुङले बताए ।
सोही गाउँपालिका वडा नं ३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्ष अघिसम्म गाउँका प्रायः सबै घरमा ढिकी जातो राखेर प्रयोग गर्दै आए पनि अहिले एक–दुई जनाको घरमा मात्र रहेको बताए ।
त्यस्तै, बेसीसहर नगरपालिका–२ नरुवाल गाउँमा करिब १४ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै जाने क्रममा ६ वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकी–जाँतो रहेको स्थानीय सावित्री रानामगरले बताइन् ।
उनले भनिन्, ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडेको उनको भनाइ छ । विद्युतीय मिलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि त्यसको आधा पनि कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ ।– रासस
प्रतिक्रिया