बझाङ । बझाङको वुगल नगरपालिका–९ की कैशिल्ला देवी कामी एकल तथा दलित महिला हुन् । उनको श्रीमान्को ८ वर्ष पहिले रोजगारीका लागि भारत गएका बेला प्राणघातक रोगका कारण उपचार गर्न नसकी भारतमै अकालमा मृत्यु भयो । ‘श्रीमान्को मृत्य भएपछि छोराको लालनपालन र घरको जिम्मेवारीे मेरो काँधमा आयो, (मु क्या अरू) अर्थात म के गरौँ हजुर । भागेर कतै जाउँ घरमा कलिला छोराहरू छन्, छोराहरूको मायाले घर बसौँ, न मेरा बस्नका लागि घर छ, न त कमाई गरी खानका लागि जग्गा जमिन छ्यो’, उनले भनिन्, ‘मेरा हातमा कही कमाई गरी खाउ भने सीप नै छ्यो छोराका मायाले ४–५ वर्षसम्म नहुँदा दुःख पाइयो, हुँदा त अहिले पनि दुःख नै छैन, मुईले त अरूकै घरमा मागी खाँया जाँ काम ग¥यो त्यही छोरालाई लिएर गए । जसको घरमा काम गरे उसैका घरका गाईभैँसी बाख्री गोठमा सुते जसको घरमा काम गरे उसैको घरमा खाना र पुराना लुगा कपडा मागेरै काम चलाए ।’
उनले आफ्ना पीडा सुनाइन्, ‘गाँउघरमा सहर बजारका जस्तो काम पनि पाइँदैन, काम पाइहाले पनि महिलालाई दिनको ज्याला ४–५०० भन्दा बढी दिँदैनन् । पहिले अरूकै घरका गोठहरूमा बसेर अरूकै घरमा काम गरेर ४–५ वर्ष जीवन गुजरा गरे हजुर, अहिले ती पुराना दिन सम्झे अहिले पनी रुने मन लाग्छ, अहिले जसरी भए पनि आफ्नो गुजरा चलेकै छ’, कैशिल्लाले सम्झँदै भनिन्, ‘३–४ वर्ष पहिला गाउँमा एकदिन चैनपुरबाट युएमएन र दलित सहयोग समाजका सरहरू गाँउमा आउनुभयो । सरले गाउँमा भए जतिका सबै महिलालाई भेला हुन बोलाउनुभएको थियो । बैठकमा म पनि गए सरले तपाईंको पालिकामा समान व्यवहार परियोजना लागू भएको छ समुह गठन गरी गरिब, असहाय, दलित, समुदायका मान्छेलाई सहयोग गर्ने भनेपछि मलाई समुहमा बस्न मन लाग्यो ।’
उनका अनुसार सरकै आग्रहमा ग्रामीण महिला समुह गठन गरियो र उनी सदस्य बनिन् । मासिक बैठक बस्न थाल्यौँ । बैठकमा संस्थाका सर–म्यामले गाउँमा कसरी जीविकोपार्जन गर्ने लैंगीक हिंसा भनेको के हो ? जीविकोपार्जनका आधारहरू के के हुन भन्ने सिकाए । बैठकबाट धेरै कुरा सिक्ने अवसर मिलेको उनले सुनाइन् ।
नियमित बैठकमा जान थालेपछि उनको बोल्ने विकास भयो । गाउँघरमै केही आयआर्जन गर्न सकिन्छ भन्ने आशा पलायो । ‘म दलित महिला एकल महिला भएका कारण जीविकोपार्जनका लागि समुहबाट छनोट गरी बाख्रापालनका लागि निवेदन दिएँ, बाख्रापालन कसरी गर्ने भन्ने बारेमा तालिममा केही कुरा सिक्यौँ । तालिम सिकिसकेपछि संस्थाबाट करिब ४० हजार बराबरका ४ ओटा बाख्रा पाएँ । बाख्रा पाएपछि खुसी लाग्यो र बाख्रालाई निरन्तर रूपमा पाल्दै गएँ’, उनले सुनाइन्, ‘बाख्रा ४ बाट १० जति भए । संस्थाले बाख्रा दिएपछि ४ वर्षभित्र २ लाखभन्दा बढीका खसीबोका, पाठापाठी बेचेँ । त्यहीँबाट जम्मा भएको रकमले गाउँमा साहुकै जग्गा मागेर बस्ने घर बनाएँ । अहिले आफ्नै घरमा बस्न पाएको छु । छोराहरू अहिले स्कुल जाने भएका छन्, घरको नुन, तेल कापीकलम यसैबाट चलाएको छु ।’
समुहका दिदीबहिनी र संस्थाले इमानदार र मिहिनेती सम्झेर घरमा सौर्य ऊर्जा सोलार सेट दिएको जोडी दिएको उनले बताइन् । ‘दुई छोरा छन् । गाँउकै स्कुल पढ्छन् । समूहका दिदीबहिनी र संघसंस्था वा कुनै व्यक्तिले छोराको थप पढाइका सहयोग गरे ठूलो मान्छे बनाउने धोको छ’, उनले भनिन् । कसैले आर्थिक सहयोग गरे बाख्रापालनलाई निरन्तरता दिई बाख्रापालन गरेर नै छोराहरूलाई राम्रो शिक्षा दिलाउन सक्छु भन्ने आशा जगाएको उनले बताइन् ।
बझाङ
प्रतिक्रिया