मिथिलामा मधुश्रावणी पर्वको विशेषता

नवविवाहिता गुन्जा ठाकुरले गुनगुनाउँदै भनिन् ‘मधुश्रावणी मनोरञ्जनात्मक त छँदै छ साथै यसले मैथिल विधिविधानसमेत सिकाउँछ । मिथिलाञ्चल पर्व त्योहारको मामिलामा धेरै धनी छ । र मलाइ त गर्व लाग्छ आफू मिथिलानी भएकोले । झन् मधुश्रामणीले त मैथिली संस्कारको विधिविधानबारे मलाई अझ जानकार हुने अवसर जुरायो’, उनले अगाडि भनिन्, ‘यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान हुन सक्नुपर्छ भन्ने कुराको ज्ञानसमेत प्रदान गरेको छ । म त एकदम आनन्दित भएर मनाउँदै छु यो पर्व । हरेक दिन केही नयाँ सिक्न पाइन्छ ।

जनकपुरधाम ।

सखी फूल लोढ चलु फुलबरिया

सीताके सँग सहेलिया,

कोई बेली फूल लोढे चमेली फूल लोढे

कोई लोढेला चम्पाके कलिया, सीताके सँग सहेलिया…

मधुश्रावणी पूजाको समयमा नवविवाहिता महिलाहरू साँझको समयमा साथीहरूको समूह बनाएर थरिथरिका लोकगीतहरू गाउँदै, रमाउँदै बगैँचाबाट फूल पात टिपेर ल्याउँछन् । टिपिएका सोही फूल पातले भोलिपल्ट बिहान पूजा गर्ने गर्छन् ।

पर्व त्यौहारको मामिलामा हामी मिथिलाञ्चलबासी धेरै नै धनि र भाग्यशाली छौँ । हुन त हरेक त्यौहार आफ्नो ठाउँमा विशेष छन् । तर, मधुश्रावणी पर्वलाई मिथिलाञ्चलमा मुख्य पर्वको रूपमा मनाइन्छ । यो पर्व सीमित जातजातिका मानिस मनाउँछन् । ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मनाउने यो पर्व धुमधाम र हर्षोल्लासका साथ मनाइन्छ । सबैभन्दा लामो पर्वको रूपमा मधुश्रावणी पर्वलाई बुझिन्छ । त्यही भएर यो पर्व अरू पर्वभन्दा फरक र विशेष मानिन्छ ।

हरेक वर्ष श्रावण कृष्ण पञ्चमी अर्थात मौना पञ्चमीको दिनबाट सुरु भई १५ दिनसम्म चल्ने ‘मधुश्रावणीे‘ पर्व तिथिको गणनामा थपघट भएपछि सोही अनुरूप यो पर्वको अवधिमा पनि हेरफेर हुने गर्दछ । मिथिलाको यो लोकपर्व बेहुलीहरूले विशेष गरी माइतीमा मनाउने गर्दछन् । यस पर्वमा बेहुलीका अतिरिक्त अन्य महिला र युवतीहरू सहभागी हुने गर्छन् । यस पर्वमा खास गरी माता गौरी, महादेव र नागदेवता (विषहरा) को पूजाको अनुष्ठान गरिन्छ ।

विवाहको पहिलो श्रावणमा मधुश्रावणी नवविवाहिताले पुज्छिन् । अहिले त जनकपुरधामसहित मिथिला क्षेत्रका गाउँ, नगर बस्तीमा मधुश्रावणी पर्वको रौनक बढेको देख्न सकिन्छ । पर्वमा रमेका नवविवाहिता महिलाहरूको समूह नै गीतमा लय बाँध्दै घर बाहिर निस्केपछि यस पर्वको रौनकता बढेको छ । यो व्रत श्रीमान्को लामो आयुका लागि गरिन्छ ।

नवविवाहिताले यो पर्व माइती घरमै मनाउने चलन भए पनि पर्वको सारा सामग्री भने श्रीमान्ले पठाएका नै प्रयोग गर्ने परम्परा छन् । यसमा माटोको हात्ती, सर्प, अहिबात पुरहर (माटोको भाँडो) हुन्छ भने पञ्चमीको दिन माटोकै ५ वटा थुम्बा बनाइन्छ । र, गाईको गोबरको सर्प आकृति हरेक ढोकाको दुबैतर्फ बनाइन्छ ।

त्यति मात्र नभई पानको पात, केराको पातमा पनि चावलको पिठो, गाजल, सिन्दुर, मेंहदी र गोबरले सर्पको आकार बनाइन्छ । यसमा थोरै फूलले पुग्दैन धेरै फूल चाहिन्छ । बासी फूल, पात छारने गरिन्छ भने ताजा फूलले पुजा गर्नुको साथै छारिन्छ पनि ।

यो पर्वमा व्रतालु महिला नवविवाहिता दुलहीजस्तै शृंगार गर्छिन् र बिहानबेलुका साथीसहेलीसँग रमाइलो ठट्टा गर्दै गीतगाउँदै छरछिमेक, मठमन्दिर र फूलबारीबाट टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा आराधना गर्ने परम्परा छ ।

हाम्रो पूर्वजहरूको भनाइअनुसार सृष्टि आरम्भदेखि नै मिथिलामा यो पर्व मनाइँदै आइएको छ । र, यो पर्व मिथिलाका नवविवाहिताका लागि धेरै महत्वपूर्ण मानिन्छ । यसमा जतिदिनको पूजा हुन्छ जस्तै प्रायः १४ पूजा १५ टेमी हुन्थ्यो । तर, यसपालि १३ पूजा १४ टेमी रहेको छ । यसमा सधैँ बेग्लै बेग्लै कथा सुनाइन्छ । यसले गृहस्थ आश्रममा आउने बाधा अड्चनबाट कसरी बच्ने र कसरी आफ्नो दाम्पत्य जीवनलाई सुखीपूर्वक निर्वाह गर्ने भन्नेबारे सिकाइन्छ ।

यो पर्वमा पूजा अवधिसम्म नुन मिसाइएको कुनै परिकार खानु हुँदैन । कतिले खान्छ भने पनि सिन्धा नमकको प्रयोग गर्छन् । यसमा सबैथोक ससुरालीबाट आउँछ । जस्तै पूजाको सामान, शृंगारको सामान, नवविवाहिताले खाने अन्न आदि । यसमा रातो, पहेँलो, हरियो साडी नवदुलहीको लागि आउँछ । फूल टिप्नका लागि बेग्लै र पूजाका लागि बेग्लै साडी हुन्छ । त्यस्तै चुरा, चोलो, पोते र आभूषणहरू हुन्छ र त्यही साडी, आभूषण र शृंगारको सामान नवदुलही लगाउँछन् । फूल टिप्न जानेलाई स्थानीय भाषामा फूललोढी भनिन्छ । यो पूजामा गौरीको पूजा महत्वपूर्ण छ । गौरीको प्रतिमा बेसार र दुबोले बनाइन्छ र पानको पातमा राखिन्छ तथा माथिबाट पनि पानकै पातले छोपिन्छ । नवविवाहिताको ससुराली र माइत दुवैतर्फबाट प्रतिमा बनाइन्छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षित र नागलाई नारीको पतिका रूपमा वंशलाई बढाउने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजा आराधना गर्ने गरेको पाइन्छ । यो पर्वमा व्रतालुले विनी अनिवार्य रूपमा सुन्नैपर्ने हुन्छ । र, यसमा मौना पञ्चमी कथा, विहुलाओ मनसाक कथा, पृथ्वीको जन्म, समुद्र मन्थन, सतीको कथा, पतिव्रताको कथा, महादेव परिवारको कथा, गंगाको कथा, गौरीको जन्म, कार्तिक जन्म, गणेश जन्म, बाल वसन्त जस्ता धेरै कथाहरू सुन्न पाइन्छ ।

अहिले त केटाकेटीको बढी उमेरमा विवाह हुन थाल्यो । तर पहिला कलिलो उमेरमा हुन्थ्यो । जहाँ केटाकेटी विवाह भनेको के हो, कसरी कर्तव्य निर्वाह गर्नुपर्छ, के के गर्नुपर्छ भन्ने कुरादेखि अज्ञान हुन्थ्यो । पहिला त कन्यादान गर्दा कन्या दुलहीको उमेर प्रायः किशोर रहने एवं त्यस उमेरकी बालिका पारिवारिक र सामाजिक विधि व्यवस्थाका विषयमा जानकार नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाको माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरूबारे ज्ञान प्रदान गरिनु अत्यन्त महत्वपूर्ण मानिन्थ्यो । महिला वर्गको मात्र सहभागिता रहने भएकाले नवयौवना बालबालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरिन्थ्यो । जसले ऊ मानसिक र शारीरिक रूपले समेत गृहस्थ जीवनयापनका लागि तयार हुन सकोस् ।
पर्वको अन्तिम विधि टेमि विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । तर, त्यही बेहुली गर्भवती छन् भने सितल टेमी दिइने चलन छ ।

श्रावण मास सुहावन बहिना पुजब हम मधुश्रावनी गे…

जनकपुरधाम उपमहानगरपालिका–४ की नवविवाहिता गुन्जा ठाकुरले गुनगुनाउँदै भनिन् ‘मधुश्रावणी मनोरञ्जनात्मक त छँदै छ साथै यसले मैथिल विधिविधानसमेत सिकाउँछ । मिथिलाञ्चल पर्व त्योहारको मामिलामा धेरै धनी छ । र मलाइ त गर्व लाग्छ आफू मिथिलानी भएकोले । झन् मधुश्रामणीले त मैथिली संस्कारको विधिविधानबारे मलाई अझ जानकार हुने अवसर जुरायो’, उनले अगाडि भनिन्, ‘यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान हुन सक्नुपर्छ भन्ने कुराको ज्ञानसमेत प्रदान गरेको छ । म त एकदम आनन्दित भएर मनाउँदै छु यो पर्व । हरेक दिन केही नयाँ सिक्न पाइन्छ । यसमा कथा, टिमी, गौर पुज्नु, फूल टिप्न जानु, शृंगार गर्नु । म त एकदमै खुसी छु । आजभन्दा पहिला अरूलाई हेर्थे तर किन गर्छ यसको गहिराइ थाहा थिएन । आफूले गर्दा र यो पर्वको कहानी बुझ्दा मलाइ हरेक दिन गर्व हुन्छ । मेरो संस्कृतिप्रति सम्मान जाग्छ । कतिले त यहाँसम्म भन्दिन्छन् यो टेमी प्रथाको अन्त्य होस् । यो महिला हिँसा हो रे । अधिकारकर्मीहरूले पनि बेलाबेलामा आवाज उठाएकै छन् । तर यो हाम्रो संस्कृति, हाम्रो अभिमान, गौरव हो । हाम्रो पुर्खाले दिएको विरासत हो । र, यसलाई जोगाउने काम हामी नव पिँढीको हो ।‘

पीडा के मा छैन् ? खाना पकाउँदा पनि पोलिन्छ । त्यसो भए खाना पकाउन छोडदिँदा हुन्छ ? वा बच्चालाई जन्म दिँदा त झन असह्य पीडा हुन्छ । त्यसो भए बच्चा जन्माउनु पनि शोषण हो कि ?

यो पर्व सोहाग भाग्यको लागि हो । झन् यो समयमा त हामी आफूलाई महारानीभन्दा कम ठान्दैनौँ । न त घरको काम गर्न दिइन्छ । न कुचो छुन दिइन्छ । न त जुठो उठाउन । मात्र शृंगार गर्ने नयाँ नयाँ वस्त्र धारण, फूल टिप्न जाने, कथा सुन्ने र धेरै कुरा सिक्न पाउने । झन फूल टिप्न साथीहरूसँग जाँदा विभिन्न लोक मैथिली गीतहरू गाउँदै बाटो बाटो डुल्दै फूल टिप्नुले बालपनको आभाष गराउने गरेको गुन्जाले बताइन् ।

पर्वमा शामिल नवविवाहिताहरू यो पर्वबाट हामीलाई खुलापनको आभाष त गराउँछ तर यसका साथै पारिवारिक लोकलाजको विषयमा समेत शिक्षा प्रदान गर्ने गरेको बताउँछिन् । मधुश्रावणी पर्व व्रतालुहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व हो । वास्तवमा यो मधुश्रावणी शब्दकै एक रूप हो । यसमा दुई खण्ड हुन्छन् । एउटा मधु र अर्को श्रवण । ‘मधु’ फल–फूलबाट मधुमख्खी र ‘भ्रमर’ बाट सञ्चित गरिएको मधुको अर्थ दिन्छ भने श्रवणले बग्नुको अर्थ दिन्छ । मधुको सञ्चरण नै मधुश्रावणी हो ।

प्रतिक्रिया