मानिस हप्तामा ६ दिन पाप गर्दछ र पापी मन नै लिएर एकदिन धर्मका नाउँमा पसल थापेका ठाउँमा गएर भिडियो बनाउँदछ । ६ दिनसम्म गरेको कुकर्मको डाह धर्मका नाममा नाचगान गरेर भुल्न खोज्दछ । शान्ति भो मलाई पनि भन्दछ । अनि भोलिपल्टदेखि फेरि त्यही कुकर्म गरिरहन्छ । फेरि अर्को हप्ताको शनिबार मन्दिर आदि धाउँदछ । निरन्तर यही क्रम चलिरहेछ । यस्ता नआए पसल कसरी चल्दछ ? सबैको हिसाबकिताब राख्ने अर्कै शक्ति छ, जसलाई कर्मचारी वा नेतालाई जसरी घुस खुवाएर आफू अनुकूल बनाउन सकिँदैन । कालको गतिको लक्षण सकारात्मक छैन । जसरी घटेरोले घुनको माया गर्न थाले अन्न पिस्न सक्दैन त्यसरी नै कालले असलको माया गर्न थाले सन्तुलन कायम गर्न सक्दैन ।
शुद्ध भाव लिएर गए पनि अशुद्ध नियत र पाप कम गर्न आयोजना गरिएका धार्मिक अनुष्ठान वा बनाइएका मठमन्दिरमा जानाले धर्म हुँदैन । आयोजकको वा बनाउनेको पाप कम कम हुँदै जान्छ । जानेले उसको पाप सेयरिङ गर्दै गर्दै जान्छ ।
पहिला त आफ्नो भावना शुद्ध हुनुपर्दछ नै तर जहाँ जान्छौँ त्यहाँ प्रयोग भएको द्रव्य अनिवार्यरूपमा शुद्ध हुनैपर्दछ । नत्र तपाईंलाई लाभ हुँदैन, भ्रम मात्र हुन्छ ।
हाँस्नु, नाचगान गर्नुजस्ता इन्द्रियसुखलाई हामी शान्ति पाएको भनी ठान्दछौँ, यो भ्रम हो । इन्द्रियको वशमा रहँदासम्म मानिसलाई मानसिक शान्ति कहिल्यै हुँदैन ।
राणा प्रधानमन्त्री जंगबहादुरले बनाएको कालमोचनको मन्दिरमा किन मान्छेको भिड नलागेको होला ?
मूलमन्दिर वा अति प्राचीन मन्दिर वरपर बनाइएका अन्य मन्दिरको दर्शन पूण्यदायक नै हुन्छ भन्ने हुँदैन । कसैले पापकट्टा गर्न कुनै प्रतिमा बनाएको वा मूर्ति राखेको रहेछ भने त्यसको दर्शन वा परिक्रमा गर्नेलाई धर्म हुँदैन ।
शास्त्रसम्मत तरिकाले प्राणप्रतिष्ठा नगरिएका कुनै पनि मूर्तिमा देवताको वास हुँदैन । सुखसुविधा खोज्दै नजिकैका सिमेन्टको थुप्रो र फलामले बनाइएका मठमन्दिरमा जाने हाम्रो सौखिन आदत गलत आदत हो ।
कि स्वयम्भू (आफैँ उत्पन्न, स्वयम्भूनाथ, पशुपति, गुह्येश्वरी आदि) मन्दिरमा कि त ऋषिमुनिले स्थापना गरेका (पाटनको कुम्भेश्वर आदि) मन्दिर अथवा प्राकृतिक कुण्ड वा पोखरी आदिमा जानू । नसके घरमै शुद्ध भावले भगवानको ध्यान गर्नू ।
रमाइलो गर्न त जहाँ गए पनि हुन्छ । धर्म गर्न जाने तर पाप बोकेर घरमा फर्कनेचाहिँ नगरौँ । यत्रा मानिस धर्म गरिरहेका देखिन्छन् तर पारिवारिक, सामाजिक र देशिक शान्ति हरपल घटिरहेछ किन ?
कुनै पनि किसिमले खण्डित छ भने त्यो मूर्तिको दर्शनबाट लाभ हुँदैन ।
गर्भगृहमा रहेको मूल मूर्तिमा नियमानुसार दैनिक पूजा हुँदैन भने त्यस्तो मूर्तिको दर्शनबाट पनि लाभ हुँदैन ।
हिरैहिराको मन्दिर भए पनि अथवा मन्दिरको भण्डारमा अथाह सम्पत्ति भए पनि भक्तजनले केही पाउने भनेको गर्भगृहमा रहेको मन्त्रले प्राणप्रतिष्ठा गरेको मूर्तिबाट नै हो ।
स्थानको पवित्रता, द्रव्यको पवित्रता र भावको पवित्रता यी तीर्थका लागि अनिवार्य सर्त हुन् ।
शारीरिक पवित्रता, मानसिक पवित्रता र द्रव्यको पवित्रता यी भक्तजनका लागि अनिवार्य सर्त हुन् ।
विभिन्न प्रयोजनका लागि विभिन्न किसिमका देवताको सृष्टि गरिएको हुन्छ । सिडिओ, मन्त्री भनेजस्तै । तिनको कामको जिम्मेवारीअनुसार मन पर्ने र नपर्ने कुरा हुन्छन् ।
हरेकका सृष्टिकालीन, पालनकालीन र संहारकालीन रूप हुन्छन् । यसैअनुसार तिनलाई चढाइने कुरामा पनि विभिन्नता हुन्छ । देवतामा हुने यिनै तीन गुणका आधारमा तिनमा सत्व, रज र तम गुणी स्वभाव हुन्छ । तमोगुणी अवस्थाका देवताको पूजा गरेर सत्वगुणको लाभ प्राप्त हुँदैन । सामान्यतः देवीदेवताको तमोगुणी रूपलाई युद्धकालमा वा विपद्कालमा पूजा गर्ने गरिएको पाइन्छ । अर्थात् दृश्य वा अदृश्य शत्रुलाई परास्त गर्नका लागि देवीदेवताको तमोगुणी रूपलाई विशेष किसिमले पूजाअर्चना गर्ने गरिएको पाइन्छ ।
देवीदेवताको तमोगुणी रूप (जस्तै भगवान् शिवको भैरव रूप, देवीको काली रूप आदि) लाई पनि सामान्य अवस्थामा सात्विक भावले नै पूजा गर्न सकिने कुरा पनि पाइन्छ । राज्यको समृद्धि, स्थिरता र शान्तिका लागि लेनदेनको माध्यमबाट भाकल गरी तान्त्रिक विधिले स्थापना गरिएका कुनै पनि देवीदेवताको मन्दिरमा तीन वटै भावले सधैँ पूजा हुने गर्दछ । यस्ता मन्दिरमा आफ्नो उन्नति चाहने पनि जान्छन् अरूको अवन्नति चाहने पनि जान्छन् ।
यज्ञ वा जुनसुकै धार्मिक अनुष्ठानका लागि विशेष शास्त्रीय नियम छन् । लोकानुशरण (भेडोप्रवृत्ति) धर्म होइन । अर्बौं मानिस संलग्न भए पनि विधि पुगेको छैन भने त्यो धर्म हुँदैन ।
धर्म बेचेर आजीविका चलाइरहेका वा जीवनस्तर उकासिरहेका व्यक्तिले आफ्नो पेसामा हानि हुने कुरा व्यासासनमा बसे पनि भन्दैनन् । दान दिनुहोस् त भन्दछन् तर दान दिने धनको शुद्धताका कुरा तिनको मुखबाट निस्कँदैन । बैंक लुटेर वा कसैलाई मारेर वा अन्य गैरकानुनी तरिकाले जम्मा गरेको धन लगी त्यहाँ उल्लेखनीय रकम दान दिने व्यक्ति भए पनि उसलाई धर्मलाई पेसा बनाउनेहरू अभिनन्दन नै गर्दछन् ।
यसमा शास्त्र के भन्छ त ?
श्रीविष्णुस्मृतिमा यज्ञका लागि मागिएको सबैथोक यज्ञमा नै खर्च गर्नु भनिएको छ । त्यसै गरी देवीभागवतमा अन्यायपूर्वक कमाइएको धनले यदि पूण्यकर्म गरिन्छ भने त्यसबाट न यो लोकमा कीर्ति पाइन्छ न त परलोकमा कुनै फल नै । यसैले न्यायपूर्वक कमाइएको धनले नै सधैँ पूण्यकर्म गर्नुपर्दछ । यसबाट मात्र यस लोकमा कीर्ति र परलोकमा आनन्द प्राप्त हुन्छ भनी पाण्डवको उदाहरण पेस गरिएको छ । जसमा पाण्डवहरूले यज्ञमध्येको उत्तम यज्ञ राजसूय यज्ञ गरे, यज्ञ सकिएपछि उत्तम किसिमले दक्षिणा पनि दिए, यज्ञमा महामनस्वी यादव शिरोमणि साक्षात् भगवान् श्रीकृष्ण नै थिए । भारद्वाज आदि पूर्ण विद्यानिष्ट ब्राह्मणहरूबाट उक्त यज्ञ सम्पन्न गराइएको थियो । तैपनि यज्ञ विधिपूर्वक सम्पन्न भएको एक महिनाभित्र नै पाण्डवहरूलाई ठूलो आपद् आइलाग्यो । अनि कठोर वनवास भोग्नु परो ।
पाण्डवहरूले गरेको यज्ञमा दोषका कारण तिनलाई उल्टो फल मिलेको थियो । ती जुवामा हारे । युधिष्ठिर सत्यवादी थिए, धर्मपुत्र थिए । द्रौपदी पनि पतिव्रता थिइन् । अन्य भाइ पनि पूण्यात्मा थिए । तर, अन्यायपूर्वक कमाइएको धनले अभिमानपूर्ण तरिकाले गरिएको यज्ञ भएकोले त्यो यज्ञले सुफल दिनुको साटो उल्टो फल दिएको थियो ।
म अल्पज्ञानीले बुझेसम्म चन्दा बटुल्न धार्मिक अनुष्ठान गर्ने विधान शास्त्रमा छैन । कालोधनलाई सेतो बनाउन धर्मको प्रयोग गर्नु सबैका लागि निन्दनीय विषय हो । यसले कसैको पनि हित गर्दैन । व्यापारमा त जे पनि चल्दछ । तर शास्त्रले ग्रामयज्ञ (चन्दा उठाएर गरिएको यज्ञमा) नजानु पनि भन्दछ । किनकी त्यस्ता यज्ञमा द्रव्यशुद्धि हुन असम्भव हुन्छ । यति मात्र होइन यस्ता यज्ञमा होता हुने ब्राह्मणलाई श्राद्धमा निम्तासमेत गर्न हुँदैन भन्दछ शास्त्रले । व्यापार वा अर्थ संकलनका लागि अन्य विधि अपनाउनुपर्दछ, धर्मलाई मुछ्नु हुँदैन । तर, कलिमा सबैतिर यस्तै चलिरहेछ ।
०००
अब कुरा गरौँ दोलखा भीमसेनलाई पसिना आउने कुरा । बेलाबेलामा दोलखा भीमसेनलाई पसिना आएको विषय चर्चामा आउने गर्दछ । देवीदेवताको मूर्तिबाट पसिना आउनु आदिजस्ता कुरालाई शास्त्रले के भन्दछ त ? यससम्बन्धी केही शास्त्रीय वचन हेरौँ ।
(क) स्वयम्भू (आफैँ उत्पन्न) वा विधिपूर्वक अधिकार प्राप्त व्यक्ति वा समूहले सेतो धन खर्च गरेर प्राणप्रतिष्ठा गरिएका देवता (मूर्ति) जहाँ नाच्दछन्, खस्दछन्, डढिरहेका देखिन्छन्, पटकपटक रुन्छन्, गाउँछन्, पसिना निकाल्दछन्, हाँस्दछन्, मुखबाट आगो–धुवाँ–तेल–रगत–दूध वा पानी खस्दछ, अधोमुखी (घोसेमुन्टो) देखिन्छन् तथा एक ठाउँबाट अर्को ठाउँमा जान्छन् भने त्यहाँ त्यो आपत्तिसूचक हुन्छ (शान्ति गर्नू) ।
(ख) देवीदेवताका मूर्ति तल खसेमा, जलेमा, पटकपटक रोएमा, गाएमा, तिनका शरीरबाट पसिना आएमा, हाँसेमा, आगो–धुवाँ–तेल–रगत–दूध–जल बान्ता गरेमा, घोसेमुन्टो लगाएमा, एक ठाउँबाट अर्को ठाउँमा सरेमा तथा यस्तै अन्य अचम्म लाग्दा कुरा देखिए यसलाई प्रतिमा–विकार भनिन्छ । यस्तो विकार अशुभ फलको सूचक हुन्छ । विधिपूर्वक शान्तिस्वस्ति गर्नू ।
(ग) मानिस वा जीवलाई नोक्सान हुने गरी कुनै अप्रत्याशित घटना, परिघटना घट्नु वा नसोचेको महामारी चल्नु वा नागरिक, जीव र वनस्पतिलाई अझ बढी पीडा दिने खालका क्रूर शाषक जन्मनु आदिजस्ता कुरा अशुभ कुराभित्र पर्दछन् । यस्ता कुराको पूर्व सूचना यस्ता घटनाले दिने गर्दछ ।
(घ) यसबाहेक उल्कावृष्टि, आकाश डढ्नु, भूकम्प, अचानक स्याल कराउनु, गिद्धहरू समूह बनाएर आकाशमा मण्डराउनु, कुकुर रुनु, मानिस वा जीवले अस्वभाविक आकृतिका सन्तान जन्माउनु आदि पनि अशुभ कुराको संकेत हुन् ।
(ङ) यस्ता कुरा जहाँ हुन्छन् त्यो क्षेत्रमा वा देशमा वा भेगमा अनिष्ट हुन्छ । शान्ति गरेर पनि हुनेवाला अनिष्ट रोकिँदैन तर त्यसले गर्ने असर मत्थर हुन्छ ।
(च) पुराणहरूले बताए अनुसार कंस जन्मिदा, हिरण्यकशिपु र हिरण्याक्ष जन्मिदा, महाभारतको युद्ध हुनुपूर्व आदि अनेक समयमा यस्ता अपसगुन देखिएको वर्णन गरिएको छ ।
०००
कलियुगीन पुण्डरीक हरिहरू कतै भोट मागिरहेका भेटिन्छन् (अयोध्या), कतै चन्दा मागिरहेका भेटिन्छन् (वनकाली), कतै मसाननृत्य (सप्ताह आदिमा) गरिरहेका छन् । मानिस भन्दछन् समयअनुसार धर्म परिवर्तन हुन्छ । यो धर्मलाई पेसा बनाउनेहरुको कथन हो ।
धर्म भनेको सत्य हो । यो कहिल्यै परिवर्तन हुँदैन । सत्यबाट विचलित हुँदा सूर्य दण्डित भए, चन्द्रमा दण्डित भए, बृहस्पति दण्डित भए, पृथ्वी दण्डित भइन्, इन्द्र दण्डित भए, विष्णु दण्डित भए, शिव दण्डित भए, ब्रह्मा दण्डित भए, सबैका सबै दण्डित भए, मानिस दण्डित नहुने कुरै छैन । समय आउनुपर्दछ । झिंगोलाई भोक लाग्नासाथ डिंगो (साँढे) मर्दैन, कुर्नु पर्दछ ।
पेसामा अवरोध आउन थालेपछि धार्मिक तस्करहरु अनेक आरोप लगाउन थाल्दछन् । भारतमा शंकराचार्यलाई ‘तँ कांग्रेसको एजेन्ट’ समेत भन्न भ्याए ।
अरूका के कुरा गर्नु ?
अहिले जता हेरे पनि धर्मको पसल मात्र भेटिन्छ । यी सबै पसलहरू वरमझियाका पेडा पसलजस्ता छन् । सबै आफूलाई सक्कली र अरूलाई नक्कली बनाएर धन कमाउन व्यस्त छन् । जो सत्यमा छन् तिनको अवस्था राजा बेनको शासनकालका ऋषिमुनिहरुको जस्तो छ । न तिनको कुरा कसैले सुन्छ, न ती केही भन्न नै रुचाउँदछन् ।
अहिले त कति धर्मात्मा भए भए । चप्पलछापहरू धर्म गरीगरी पजेरो चढ्ने भए । आलिसान महलमा कुनै पाप नगर्दा पनि डरले अंगरक्षक राखेर बस्ने भए । जनताको सेवा गर्दागर्दा यति पूण्य कमाए कि देशभित्र दान दिने ठाउँ नभएर स्विट्जरल्यान्डलाई दान दिन थाले ।
त्रिशूलीमा बस खस्दछ, मानिस त सानो जीव अथाह भेलमा हराउनु स्वाभाविक हो, बससमेत हराइरहेछ । विमानस्थलमै हवाइ दुर्घटना हुँदा भिडियो बनाएर बस्नबाहेक अरू केही गर्न सकिएन । भाग्यले बाँचेका एकाध व्यक्तिलाई लाजै नमानी हामीले बचायौँ भन्न मन लाग्छ ।
भूकम्प, नाकाबन्दी र रोगको महामारीले चेत नखुलेको मानिसको यस्ता एकाध घटनाले चेत खुल्ने वाला छैन । अरू तमासे जमातका के कुरा गर्नू ? जुन परिवारलाई मार परेको छ ती पनि सत्यलाई धनको तराजूमा जोख्न थाल्दछन् ।
मानिस हप्तामा ६ दिन पाप गर्दछ र पापी मन नै लिएर एकदिन धर्मका नाउँमा पसल थापेका ठाउँमा गएर भिडियो बनाउँदछ । ६ दिनसम्म गरेको कुकर्मको डाह धर्मका नाममा नाचगान गरेर भुल्न खोज्दछ । शान्ति भो मलाई पनि भन्दछ । अनि भोलिपल्टदेखि फेरि त्यही कुकर्म गरिरहन्छ । फेरि अर्को हप्ताको शनिबार मन्दिर आदि धाउँदछ । निरन्तर यही क्रम चलिरहेछ । यस्ता नआए पसल कसरी चल्दछ ? सबैको हिसाबकिताब राख्ने अर्कै शक्ति छ, जसलाई कर्मचारी वा नेतालाई जसरी घुस खुवाएर आफू अनुकूल बनाउन सकिँदैन । कालको गतिको लक्षण सकारात्मक छैन । जसरी घटेरोले घुनको माया गर्न थाले अन्न पिस्न सक्दैन त्यसरी नै कालले असलको माया गर्न थाले सन्तुलन कायम गर्न सक्दैन ।
अन्त्यमा
प्रकृति आफ्नो गतिमा चलि नै रहन्छ । भूकम्प, बाढी, पहिरो, दावानल, चट्याङ, रोगको महामारी आदि उनका नियमित प्रक्रिया हुन् । जीव उनको नियमित पक्रियामा बत्तीमा पुतली नासिए जसरी नासिने गरेको मात्र हो । शास्त्रमा भूकम्प, उल्का वृष्टि, अनपेक्षित वर्षा वा खँडेरी हुँदा त्यसले महामारी पनि लेराउँदछ भनिएको छ । धार्मिक दृष्टिले शिव, दुर्गा, गणेश यी तीन चराचर जगतको नियामक शक्ति हुन् । यिनलाई उत्तेजित बनाएपछि नहुनुपर्ने जस्तो लाग्ने कुरा भइरहन्छ । तिनलाई मूर्तिमा सीमित बनाउँदै चौबिसै घण्टा ढोगेर मात्र हुँदैन, ती जे कुराका प्रतीक हुन् त्यो कुरालाई सहनै नसकिने गरी हस्तक्षेप गर्न बन्द गर्नुपर्दछ । अदृश्य शक्ति (पावर) लाई मानिस आफ्नो अनुहार ऐनामा हेर्दै ‘जगल्टा पालेर त्रिशूल बोके म पनि त शिव नै हुँ नि’ भनेर बस्दछ, अनि उसले दुःख नपाए कसले पाउँदछ ? ज्योतिषका दृष्टिले यो दशक, यो वर्ष र आगामी ३ महिना पृथ्वीकै लागि क्रमशः बढी शुभदायक छैन । आकाशीय नदीले भनून् वा पृथ्वी तातेर वाफ बढी शक्तिशाली भएकोले भनुन् वा अरू नयाँ नयाँ कुरा भन्दै जाउन् । प्रकृतिले आफूलाई कसरी र कहाँ के गरेर सामञ्जस्य गर्दछ कसैले भन्न सक्दैन । गफ चुटेर होइन, अरूलाई सरापेर पनि होइन, जोखिमबाट आफू जोगिएर बस्नु नै कल्याण हुनेछ । प्रकृतिले आफैँ गर्ने सन्तुलन हामीले बुझेको धर्म वा हामीले जानेको विज्ञानभन्दा परको विषय हो । जता गए पनि पापी पेट नै अगि लाग्दछ तैपनि पेटभन्दा पहिला पेट झुण्ड्याउने शरीरलाई जोगाउनु नै पहिलो प्राथमिकता हुनुपर्दछ ।
प्रतिक्रिया