राणाकालको निश्चित अवधिसम्म विदेशमा लगेर पैसा राख्न पाइँदैन थियो । अहिले पनि कानुनतः लैजान सहज छैन, तर कानुन गोजीमा राख्न मिल्ने भएपछि पैसा बाहिर गइरहँदो रहेछ । यसैले कमाएको धनको देशभित्र खर्च हुने प्रचलन अति नै न्यून छ र खर्च भए पनि त्यो उत्पादनतिर नभई उपभोगतिर नै खर्च भइरहेछ । उपभोग गरिने ९५ प्रतिशत कुरा विदेशबाट नै आयात हुन्छ । यसैले उपभोग गरे पनि पैसा विदेशतिर नै गइरहेको छ । भएभरका उद्योग ‘तँ रोएजस्तो गर, म पिटेजस्तो गर्दछु’ भनेर तथाकथित परिवर्तनकारी २ दल मिलेर किन बेचे भनेको त अहिले पो रहस्य पोलापोल गर्दै बाहिर आइरहेछ । स्विस पर्खालमा लगेर कागले बदाम लुकाए जसरी लुकाउन पो रहेछ । स्विसमा लागेको घामको छाया हेरेर पछि खान भनी मलसाँप्रोले जसरी लुकाउन लगिएको पो रहेछ ।
‘धर्म अफिम हो । ईश्वर कुनै छन् भने कार्ल माक्र्स मात्र छन्’ त्यसैले मैले पशुपतिनाथको जलहरीमा नाम लेखेको छु । त्यसैले मैले भैँसी दान दिएको छु, राँगा दानमा लिएको छु । म न आस्तिक हुँ न त नास्तिक नै । न म हिन्दू हुँ न त अरू नै । आदि आदि । दिमाग आफ्नो नियन्त्रणमा हुने मानिसको यस्तो चरित्र हुनै सक्दैन ।
मानिस नास्तिक वा आस्तिक हुन स्वतन्त्र छ । परापूर्वकालदेखि आस्तिक र नास्तिक दुवै दर्शनको अस्तित्व पाइन्छ । मानिस आफू पागल हुन पनि स्वतन्त्र छ तर अरूलाई पागल बनाउन स्वतन्त्र छैन । ठेकेदार त पागल भए नै हामी पनि नजानिँदो किसिमले विवेक धितो राख्न अभ्यस्त भइरहेका छौँ, पागल हुनमै मस्तराम भइरहेका छौँ ।
यस्तो नीतिले दल, जनता र देशका कुरा के गर्नु ! पूरै मानव सभ्यतालाई नै संकटमा पार्ने गर्दछ । बैना एउटा धर्मको लिने, दीक्षा अर्को धर्मको लिने अनि आचरण अर्कै धर्मको गर्ने यो विनाशकालीन चरित्र हो । एउटै व्यक्ति बहुधर्मी हुन सक्दैन । धर्म अनेक हुँदैन । धर्म मानिसका लागि मात्र होइन पूरै सृष्टिका लागि बनाएको हो । धर्म भनेको सत्य हो । सत्य विचलित भएपछि संहार निश्चित हुन्छ ।
मानिसले जस्तै बोटविरुवाले, हावाले, पानीले, घामले, चन्द्रमाले वा पृथ्वीले सत्य छाडे के हुन्छ ? बताइरहन पर्ला र ? मानिस आफू असत्यमा हिँड्न अभ्यस्त भएपछि ऊ अन्य सबै परिवेशलाई पनि असत्यमै हिँडाउन प्रयत्नशील छ, यो उसकै सभ्यताका लागि घातक सिद्ध हुनेछ ।
धर्मको गति गोजीमा रहेको नोटको जस्तो हुँदैन । रामलाई भजाउन सकिने भए अयोध्या वरपर मोदी पराजित हुँदैनथे । देशविदेशका भक्तजन ओइरिने केदारनाथलाई कमाइ खाने माध्यम बनाउनु सही थियो भने त्यहाँ केही वर्ष पहिले अद्भूत प्रलय नै हुँदैन थियो । आजकल जगन्नाथ मन्दिरको गहना रुजु हुँदै छ । कुन धर्म वा कुन मन्दिर धनी भनेर तौलनलाई धर्मको जन्म भएको होइन । नत्र जगन्नाथको मन्दिर डुब्छ भनेर कोकोहोलो गरिरहँदा त्यहाँको गहनाको चर्चाले प्राथमिकता पाइरहेको नै हुँदैनथ्यो । जब जब धर्मको व्यापारले उग्ररूप लिन्छ तबतब नसोचेको विपत्ति आउँदछ । विश्वभरको नियम यही हो । पशुपति क्षेत्र पनि यो नियमबाट अछुतो रहन सक्दैन ।
०००
हलीलाई बधाई
हरेक परिवर्तनमा नयाँ जोश, नया उमंग र नयाँ आश थिए । सब मरेर गए । हरेक नयाँ आउँदा वा हुँदा बधाई र शुभकामना दिने गरेँ । हरेक ‘नयाँ’ कति आशलाग्दा थिए । तर अहिले भन्न बाध्य छु थुक्क मैले गल्ती गरिरहेको रहेछु । यस अवधिमा देश जोत्न खटिएकालाई राजा पृथुले पृथ्वी जोत्न आँटेको सम्झिएँ । यिनको हलोलाई बलरामको हलो सम्झिएँ । भूल गरेछु । गोरुलाई हली सम्झिएछु । गिदी विदेशमा धितो राखिएका नेतालाई हली ठानेर हदैसम्म झुक्किएछु । हली त उतै पो रहेछ यी त गोरु पो रहेछन् । अब बधाई दिँदा हजुरहरू पनि गोरुलाई होइन हलीलाई बधाई वा शुभकामना दिने गर्नुहोला, म झुक्किए जसरी नझुक्किनु होला ।
कुनै चलचित्रको अति निकृष्ट भूमिका निभाउने खलनायक पनि चलचित्र हेरिसकेपछि प्रिय नै हुन्छ । तर, यी आजीवन निकृष्ट नै भइरहे । तस्करको कुनै एजेन्ट मन्त्री भयो भने तस्करहरू खुसी हुन्छन् र पद गुम्दा उधूम मच्चाउँछन् । तिनको बोस जेलबाट बाहिर आउँदा भव्य स्वागत गरिन्छ । हामीले भनेर अरूको ठेक्का लिन सक्दिनँ मैलेचाहिँ हाम्रा नेताको जेल बसाईंको प्रयोजनलाई लामोसमय बुझ्न सकेको रहेनछु । परिवर्तनको उद्देश्यलाई केही प्रतिशत पनि अनुमान गर्न सकेको रहेनछु । हाम्रा राजनीतिक संस्कार र तस्करको संस्कार किन उस्तै उस्तै भइरहेछ भनेर पर्गेल्न साँच्चिकै जानिनछु । बुझाउन सक्ने गुरु खोज्दछु, जतासुकै गोरु मात्र भेट्दछु ।
कति रमाइलो छ पद्धति पनि । राजनीतिक परिपाटीले विदेशमा गिदी धितो राख्ने अनि यहाँका सबै महत्वपूर्ण अंगका महत्वपूर्ण पदमा पुग्नेको गिदी राजनीतिक परिपाटीले धितो राख्ने ।
देवताहरू उहिल्यै स्वर्ग गए तिनका नाममा झगडाको बिउ मात्र पृथ्वीमा छ भन्छन् । त्यही देवभूमिको देश नेपालमा हरेक योग्यता र पदको वास्तविकता उहिल्यै अन्त भइसकेको छ र गोरुहरू मात्र बाँकी छन्जस्तो देखिन्छ । यसैले कुनै माख्लो तहका कर्मचारी, डाक्टर, इञ्जिनियर, ठेकदार, ब्यापारी, उद्योगपति, शिक्षक, राजनीतिज्ञ, वकिल, न्यायाधीश, सुरक्षा निकायका माथिल्ला पदाधिकारी सबै प्रायः गोरु मात्र बाँकी छन् । ती दलको जुवामा नारिन रमाउँदछन् । तिनको कुनै स्वतन्त्र अस्तित्व नै छैन । अनि दल विदेशीको जुवामा नारिन रमाउँदछ तिनको पनि स्वतन्त्र अस्तित्व र हैसियत नै छेन । अपवादमा हलि पनि होलान् । तर अपवादमा राम्रा कुरा परे भने त्यो देश अर्कै कुराको अखाडा बन्दछ ।
गोरुहरूलाई देश र जनताका वास्तविक समस्याप्रति त के समस्या के हो भन्ने कुरै थाहा हुँदैन । मन्त्री भएर पनि समस्या नै देखाउने गर्दछ भने त्यसलाई महागोरु भन्नुपर्दछ र जता भेटे पनि कुँडो खुवाउनु पर्दछ । जसले गर्दा भविष्यमा विदेशी हलीले फेरी उसलाई जुवामा नार्न सकोस् । ‘हामी कहिल्यै कसैको गुलाम भएनाँ, हामी स्वाभिमानी, हामी राष्ट्रवादी, हामी स्वतन्त्र, हामी विदेशीको इमानदार नोकर हुन सक्ने वीर’ भनेर डुक्रिने एउटा बेग्लै समूह ६ जसलाई ‘विज्ञ’ मान्ने गरिएको छ । ती आफूलाई पाल्ने मालिकलाई वा आफू नारिने जुवामा कुनै समस्या देख्नासाथ सिङौरी खेल्न थाल्दछन् ।
एउटै घानमा अब अरिंगाललाई पनि राख्न नहुने भो । अब अरिंगाल पनि कम विषालु, बढी विषालु, सामान्य, विज्ञ आदि विभिन्न वर्गमा विभाजित गरेर तम्तयार अवस्थाा राखिएको प्रष्ट देखिएको छ । एक थरी अरिंगाल कुनै समस्या परी जनता सडकमा ओर्लने अवस्था आए त्यसलाई रोक्न पहिले नै सडकमा ओरालिन्छन् । राज्यका हरेक निकाय अरिंगालमय बनाइएको छ । ती अरिंगालहरू मानसिकरूपमै आफू कार्यरत संस्थाप्रति नभई राजनीतिक गोरुप्रति बफादार हुने गर्दछन् र असल गोरु हुन अभ्यास गर्दछन् ।
देशको आधा जनसंख्या देशबाट लखेटेर पनि गोरूहरू सन्तुष्ट छैनन् । गोरु बन्न लायक जनसंख्या मात्र देशभित्र राख्न चाहन्छन् । त्यसैले हरेक बजेट भाषणमा विदेशी हलीको खोजी गरिन्छ ।
अहिले हली बदलिएको छ । उसलाई अग्रिम बधाई । गोरुलाई बधाई दिन जरुरी छैन । किनकी हामीले यिनलाई हली ठानेर दालभात खुवाउन खोज्यौँ, यी भने कुँडोपुँडो खान नै रमाए । कतिले कतिपटक चुटे, कति बिझ्ने गरी गाली गरे, कतिपटक सम्झाए तर अहिले बल्ल थाहा भो, हिर्काउँदा नदुख्ने गरी मरेको छाला गोरुको मात्र हुन्छ भनेर । कुँडोपुँडो खान रुचाउने हली होइन गोरु हुन्छ भनेर । चरिचरनबाट टन्न चराएर गोठतिर लेराउँदा पनि छँदाछँदैको फराकिलो बाटो नहिँडेर दाँयाबायाँका बार भत्काउँदै अरूले लाएको बाली चर्न जाने प्रायः गोरु नै हुन्छन् भनेर । त्यत्रो गोठालो लाग्दा देखेको कुरा पनि बिर्सिएछु । आफूआफूमा जुधेर सिङ फुकालेका झिल्के र मान्के गोरुलाई अहिले झलझली सम्झिरहेछु ।
०००
दुःखद खबर
ढोकाको ठेलो पनि कालको निहुँ बन्दो रहेछ । इन्जिन फेल भो, आँखा देखिएन, भिजिबिलीटी कम भो, …. आदि इत्यादि तर्क सुन्ने अनि आयोगको प्रतिवेदनले अघाउनेबाहेक हामीले अरू के नै सिक्यौँ र ?
फेरि आयोग बन्ने भो, भत्ता पाए पनि नपाए पनि व्यापारिक चलखेलको लाभ फेरि पाउने भए । हुनुपर्ने ठाउँमा सामूहिक चिहान हुँदो रहेनछ, नहुनुपर्ने ठाउँमा हुँदो रहेछ । खड्ग, गिरिजा, प्रचण्ड, शेरजस्ता शब्द देशलाई फापिरहेको पाइएन । विदेशीको नीति कार्यान्वयन गर्न बन्ने र भत्कने सरकारहरूमा देखिने मानवता पनि रोबोट–मानवताजस्तो कता के नमिलेको के नमिलेको जस्तो हुँदो रहेछ । भाट–पंक्तिबाहेक अरू सर्वसाधारणलाई नपच्ने खालको हुँदो रहेछ ।
मृत्युुलाई के दोष दिनु ? नियति मान्ने समाज भएपछि । पशुपतिनाथ, बौद्धनाथ र गुह्येश्वरी नजिकै, त्यत्रो महायज्ञ चलिरहेकै बेलामा त्यसैका नजिकै अकालमा मानिसहरूले ज्यान गुमाए । धर्मले वा सृष्टिकर्ताले पनि कालको गतिलाई एक छिनका लागि बाहेक बदल्न सक्दैन । धर्म, अर्थ र मोक्ष सबका पछाडि अर्थ (धन) कारण रहने गरेको छ त्यसैले पनि सत् अब हराउँदै गएको छ ।
उल्का वृष्टि, देवताको मूर्तिमा हुने वैपरित्यता आदि जहाँ हुन्छ त्यहाँ आमनागरिकले दुःख भोग्नुपर्दछ । धर्म मान्नेका लागि शास्त्रले यही बताउँदछ ।
विज्ञान मान्नेका लागि पद्धति वा नियम आवश्यक पर्दछ, जुन कुरा यो देशमा निमुखा जनताबाहेक अरूका लागि छैन । उपभोक्तालाई मात्र कानुन लाग्छ अरूलाई लाग्दैन । त्यसैले यही निमुखा वर्ग कहिले त्रिशूलीमा डुब्न बाध्य छ त कहिले पशुपति क्षेत्रभित्र डढेर मर्न बाध्य छ ।
मृतकका आफन्तको पीडाभन्दा पीतपत्रकारिताबाट हुने आय प्रभावशाली हुने क्रमले पुनः निरन्तरता पाउनेछ । भाटहरू आफ्ना यन्त्र–नेताका ज्यानमा पम्पले मायाममता भर्न व्यस्त हुनेछन् । आमनागरिकका आँखा भने अझ रसिला हुनेछन्, तिनको मन अझ कुँडिदै जानेछ ।
पशुपतिक्षेत्रमा जेजस्ता गतिविधिहरू हुँदै आइरहेका छन्, ती संहारको जिम्मा लिएका रुद्रका अनुकूल थिएनन् र छैनन् पनि । जे भइरहेको छ त्यसले उनलाई अझ उत्तेजित बनाइरहनेछ । त्यसैले उनैले सृष्टि गरेको भनिने त्रिशूली नदीमा र उनकै ज्योतिर्लिंगको छेउछाउमा अनेक दुर्घटना बढिरहेछन् । म केदारनाथको केही वर्ष अघिको प्राकृतिक नरसंहार सम्झिरहेछु । भगवानको नाम र धाम कमाइ खाने भाँडो बनाइएको छ । विकासलाई स्विस बैंक भर्ने माध्यम बनाइएको छ । सरकारी मन्त्री अनेक काण्डमा फस्दछन् न दलले त्यसको जिम्मेवारी लिन्छ न सरकार प्रमुखले न त दलको प्रमुखले नै । तैपनि यी चोखा भनेर नाचिरहेका नरकंकालहरूको जमात जस्ताको तस्तै छ । ती मसानमा नाचिरहेका पिशाचजस्ता लागिरहेछन् ।
मानिस पशु होइन तर पशुभन्दा पनि छाडा भइरहेको छ । मानवीय मूल्य र मान्यताबाट गिरेर स्वन्त्रताको उपभोग गर्दा प्रतिकूल परिस्थिति बन्छ नै । मंगल राजा र शनि मन्त्री भएको यो वर्ष आश्चर्यजनक र दुःखद् दृश्यहरू बढी हुनेछन् । मानवीय मूल्यबाट खस्ने गरी कुनै पनि गतिविधि नगर्नु नगराउनु होला । गल्ती एउटाले गर्दछ तर निर्दोष समूह दण्डित हुने गर्दछ । खण्डप्रलयको विशेषता नै यही हो ।
जे हुन नहुने थियो त्यो भइ नै सक्यो । चलचित्रमा जस्तो समयलाई रोकेर विगतमा फर्काउन सकिँदैन । दुःखमाथि दुःख थपिइरहेको छ । मानवलाई दुःख हुँदा मानवलाई पीडा नभए कसलाई हुन्छ रु एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीको मन एकतमासको हुँदो रहेछ । मृतकहरू सबै मोक्ष होउन् । घाइतेको शीघ्रस्वास्थलाभको कामना । परिवारजनप्रति गहिरो समवेदना ।
०००
भूकम्प कहिलेकाहिँ जान्छ, महामारी कहिलेकाहिँ चल्छ । यस्ता विपदाले पनि तस्करप्रिय हाम्रो जस्तो देशको एउटा जमात खुसी हुन्छ, देख्यौँ, भोग्यौँ । मैले जानेदेखि त्रिशूलीहरूले बर्सेनि मान्छे निलिरहेछन् । विश्वमा कस्ता कस्ता प्रविधि निस्के तर त्रिशूलीहरूलाई मान्छे निल्नबाट रोक्ने प्रविधि नेपालीले पाउन सकेनन् । नेपालीले अझै पनि ‘यसमा पनि यिनले कमिसन खान्छन्’ भन्न सक्दैनन् । सडक यात्राको र त्यसको विकल्प निःस्वार्थ हुँदैन भन्न सक्दैनन् ।
मदनभण्डारी आदिलाई निल्दा त लाजै नमानी ‘दैवको लीला’ मान्न नहिचकाउने हामी नेपालीलाई यसरी मारिने मृतकको आत्माले नै पिशाचजस्तो बनाइरहेछ । पिशाच शैलीमा राजनीति चलाइरहेकाहरू हो तिमीहरुले गिद्धले जसरी सत्तारूपी लाशलाई लुछाचुँडी गरिरहँदा त्रिशूलीमा ज्यान गुमाउनेहरू कुन आस्थामा लागेका कारण मारिए होलान् ? कोसँग छ यसको जवाफ । दैवको लीला नै मानिदिनु पर्ने हो ?
केही समय अघि त्यतैतिर पहिरोमा ट्राफिक बनेर हात हल्लाइरहेका नयाँ नेतासँग पनि त्रिशूलीलाई शाकाहारी बनाउनेतिरको विकल्प देखिएन । यसरी करिब ४० वर्ष पुग्न लाग्दासमेत त्रिशूलीहरूमा हुने दुर्घटना रोक्न वा न्यूनीकरण गर्न नसक्नेहरू परिवर्तन र विकासका गफ चुटिरहेछन् । कोसीको बाढीमा राजनीति गर्ने भारतीय राजनीति यिनीहरूको गुरु हो, यसैले नेपालीले थप आश नगर्दा हुन्छ । हामी मुखको स्वतन्त्रताले मात्तिएका एवं पात्तिएका भेडाहरू यिनैले रोपेको घाँसेचौरमा चरिरहेछौँ, चरिरहनेछौँ । जसलाई घाँस खान मन पर्दैन ती विदेशतिर पलायन हुन्छन्, भइरहनेछन्, पलायन गराइ रहिनेछ ।
०००
स्विस बैंकको पैसा
विश्वभर अनैतिक धनलाई प्राथमिकता दिइँदो रहेछ । कुनै अति शक्तिशाली हातले ढाढस नदिइकन स्विस सरकारले पटकपटक विवादमा आइरहने यस्तो कार्य गर्न सक्दै सक्दैन । एकदिन यी कुरा पनि बाहिर आउनेछ । त्यसैले त मुखले गलत भन्दै कामले सक्नेजति सबैले त्यहाँ लगेर उल्टो ब्याज तिर्नुपर्ने गरी (हल्ला अनुसार) पैसा जम्मा गर्दछन् । एकताका भारतलाई नै यो बैंकले हल्लाइदिएको थियो ।
सबै बाटो बन्द गर्दा पनि साङ्ला, लामखुट्टे, कमिला घरभित्र आइरहन्छन् । म यो बैंकमा लगेर धन लुकाउने प्रवृत्तिलाई दुई पशुपंक्षीको रमाइलो स्वभावसँग तुलना गर्न अनुमति माग्दछु ।
यदाकदा गाउँघरतिर रहेका ढुंगाका पर्खाल आदि अन्तरकुन्तरतिर बदामका कोसा लुकाएर राखिएका हुन्थे । घामले र ढुंगाको रापले सेकिएर त्यो अति मिठो बनेको हुन्थ्यो, आकलझुकल पाइन्थ्यो र खाइन्थ्यो । कसरी त्यो बदाम त्यहाँ पुग्यो भनेर जिज्ञासा राख्दा हाम्रा अभिभावकले ‘कागले लुकाएर बिर्सेको’ भनेर जवाफ दिन्थे । मुसाले लुकाएको पनि हुन सक्दथ्यो । तर यसको सम्भावना अलि कम थियो । किनकी उसले थुपारे पनि आफ्नै दुलातिर लगी थुपार्दथ्यो होला ।
मलसाँप्रोका बारेमा सुनिएको कुरामा कति सत्यता छ थाहा छैन । भनिन्छ कि, मलसाँप्रोले आलो खाँदैन बासी पाउँदैन । मलसाँप्रोले कुनै चिजको सिकार गरेमा त्यसलाई त्यतिखेर नखाएर सूर्यको छाया हेरेर वा घामको छायालाई स्थानको चिनो मानी त्यसैका आधारमा माटोमुनि लुकाएर छोड्दछ । जब बासी भएको बेला खानको लागि खोज्दछ तब सूर्य अर्को ठाउँमा गएकोले छाया सरिसकेको हुन्छ र ऊ त्यो चिज राखेको स्थान नै भेट्टाउन सक्दैन ।
नीतशास्त्रमा धनका ३ गति हुन्छन् भनिएको छ । कमाएको धन उपभोग, दान र नहुँदाका लागि सञ्चिति गरी ३ किसिमले खर्च हुन्छ । यसरी खर्च गरिने धनको मात्रा शीर्षकअनुसार क्रमशः कम हुन्छ । तर उल्टो प्रवृत्ति देखिएको छ । सञ्चिति गर्ने निहुँमा लुकाउने मात्रा अत्यधिक छ । कानुन मिचेर कमाएको धन निमुखा जनताको रगत चुसेर कमाएको धन हो । ती मनको डाह अर्थात् रगतको डाह कम गर्न अन्धाधुन्द दान पनि दिइरहेका हुन्छन् । राणाकालको निश्चित अवधिसम्म विदेशमा लगेर पैसा राख्न पाइँदैन थियो । अहिले पनि कानुनतः लैजान सहज छैन, तर कानुन गोजीमा राख्न मिल्ने भएपछि पैसा बाहिर गइरहँदो रहेछ । यसैले कमाएको धनको देशभित्र खर्च हुने प्रचलन अति नै न्यून छ र खर्च भए पनि त्यो उत्पादनतिर नभई उपभोगतिर नै खर्च भइरहेछ । उपभोग गरिने ९५ प्रतिशत कुरा विदेशबाट नै आयात हुन्छ । यसैले उपभोग गरे पनि पैसा विदेशतिर नै गइरहेको छ ।
भएभरका उद्योग ‘तँ रोएजस्तो गर, म पिटेजस्तो गर्दछु’ भनेर तथाकथित परिवर्तनकारी २ दल मिलेर किन बेचे भनेको त अहिले पो रहस्य पोलापोल गर्दै बाहिर आइरहेछ । स्विस पर्खालमा लगेर कागले बदाम लुकाए जसरी लुकाउन पो रहेछ । स्विसमा लागेको घामको छाया हेरेर पछि खान भनी मलसाँप्रोले जसरी लुकाउन लगिएको पो रहेछ ।
अन्तमा,
जतिसुकै अत्तर दले पनि रछ्यानमा फसेपछि गनाउँदा रहेछन् । रछ्यान सफा गर्न नालीमै छिर्नुपर्दछ भन्ने सोच पुरातन र परम्परागत सोच हो । यस्तो सोच राख्ने जोसुकै पनि रछ्यानमै रमाउने कीरा बन्न पुग्दछ ।
सैयौँ वर्षदेखि आजका मितिसम्म यही कुरा प्रमाणित भइरहेछ । राजतन्त्र, हिन्दूराष्ट्र, राणातन्त्र, पञ्चायत तन्त्र, सुधारिएको बहुदल, बहुदल र अहिलेको गणतन्त्र सबै खालका नालीमा जल्दाबल्दा एवं आशलाग्दा मानिस पसेर कीरा खाइरहेका वा कीरा बनिरहेका देखिएका छन् । यसैले नाली सफा गर्न नालीमा पस्नुपर्दछ भन्ने तोरिलाहुरे तर्क अब सुन्न नपरोस् । नाली के गरी सफा गर्दछन् भन्ने कुरा हामीले विदेशतिर देखेका छौँ ।
हामीले अनुकरण गरिरहेको विकासको मोडालिटी के यो देशको भौगोलिक, सामाजिक, आर्थिक र ऐतिहासिक दृष्टिले सही छ त ? छातीमा हात राखेर सोच्ने बेला भएन र ? ठेस लागेर लडेपछि पनि भुइँतिर हेरेर हिँड्नुपर्दछ भन्ने कुरा सिकिएन भने भेडा र मानिसमा के अन्तर रहन्छ र ?
यो दशक प्रकृति र मानिसका बीचमा अत्यन्त दयनीय र क्रूर सम्बन्ध रहने दशक हो । सजग र सचेत रहन अनुरोध गर्दछु । देशभर जेजस्ता क्षति भए ती सबैको दुःख लागिरहेछ । जोजसले अकालमा ज्यान गुमाए तिनले मोक्ष हुन पाउन्, पिशाच हुन नपरोस् । दुःखमा परेका आफन्तजन सबैमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दै समवेदना व्यक्त गर्दछु ।
प्रतिक्रिया