भारतले धान र चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।

आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व संकलन गरेको थियो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए ।

‘वीरगञ्ज भन्सार कार्यालय हुँदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ’, उनले भने, ‘धान, चामलको आयात मात्रै होइन, राजस्व संकलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।’ वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९–८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ ।

सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार संकलन गरेको थियो । आव २०८०र८१ म वीरगञ्ज भन्सार कार्यालय हुँदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलोग्राम चामल आयात भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ । कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व संकलन गरेको छ ।

आव २०७९–८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो । सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व संकलन गरेको थियो ।

गत आवमा धान र चामलको आयात घटे पनि खाद्यान्न मकैको आयात भने केही बढेको छ । आव २०८०–८१ म खाद्यान्न मकै भने पाँच अर्ब ५९ करोड १९ लाख एक हजार मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको छ ।

सो मकै आयात हुँदा राज्यले २७ करोड ७४ लाख १० हजार राजस्व संकलन गरेको छ । आव २०७९–८० को तुलनामा आव २०८०–८१ खाद्यान्न मकैको आयात भने परिमाणमा तीन दशमलव ७२ प्रतिशतले बढेको छ । राजस्व रकम पनि अघिल्लो आवको तुलनामा १८ दशमलव ३६ प्रतिशतले बढेको छ ।– रासस

प्रतिक्रिया