रौतहट । जिल्लाकोे देवाही गोनाही नगरपालिकामा व्यापक भ्रष्टाचार भएको सूचना बाहिरिएको छ । नगरप्रमुख प्रेमलाल साह र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले कामै नगरी योजनाहरूको भुक्तानी गरेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष रुपेश पटेलले आरोप लगाएका छन् ।
नगरप्रमुख साह र हाकिम यादवले विभिन्न शीर्षकमा कामै नगरी रकम निकासा गरेर भ्रष्टाचार गरेको उनले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पटेलले नगरप्रमुख साह र हाकिम यादवले गत वर्षको नगरसभाबाट पारित भएको योजनाबारे सार्वजनिक सुनवाइ हुनुपर्ने माग गरेका छन् । पटेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत कति जनालाई रोजगारी दिनुभयो भन्दै पत्रकारमार्फत प्रश्न गरेका छन् ।
नगरप्रमुख साहले अति विपन्न परिवारको नाममा आएको आर्थिक सहयोग पीडितलाई नदिएर आफ्ना आसेपासेलाई मात्र वितरण गरिएको उनले आरोप लगाएका छन् । त्यस्तै मेयर साह र हाकिम यादवले विकास निर्माणको कार्यमा विभिन्न वडाका वडाध्यक्ष र उपभोक्ता समितिसँग कमिसन माग्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा १ जना वडा अध्यक्षले बताएका छन् ।
त्यस्तै मेयर साहले सस्तो लोकप्रियता कमाउन निकै तामझामका साथ लाखौँलाख खर्च गरी उद्घाटन गरिएको नगर अस्पताल अहिले खारेज गरी बर्थिङ सेन्टरको रूपमा सञ्चालन गरी कमाउने थलो बनाएको नगरबासीको आरोप रहेको छ ।
शिक्षा, स्वास्थ्य र कृषिमा विशेष काम गर्ने प्रतिवद्धता जनाएका मेयर साह अहिले ठिक उल्टो बाटो हिँड्न थालेको स्थानीयको आरोप छ ।
प्रतिक्रिया