हुकुमी शासनको विरुद्धमा गणेशमान सिंहहरूलाई साथ दिएर व्यवस्था परिवर्तनको अभियानमा निःस्वार्थ लामबद्ध भएर लाग्दाको क्रुर यातना पाएर गुमनाम मारिन्छ । तर, परिवर्तनपछि पनि ती नेताहरूले उसलाई सम्झँदैनन् । जसको नामको पोल गोपीचाले यातनाको पराकाष्ठा पाउँदा पनि नखोली बचाउँछ । पद र प्रतिष्ठामा पुग्दा तिनले स्मरणसम्म पनि गर्दैनन् ।
ठूलाले जे बोल्यो महानवाणी भनिने हाम्रो देश । ठूलाले जसरी प्रयोगशाला बनायो त्यो राजनीति भनिने हाम्रो देश । अनि इतिहासमा योगदान धेरै गर्ने पात्र नै गुमनाममा पर्नुपर्ने हाम्रो देशको नियति । यस्तै राणाकालीन ऐतिहासिक, राजनीतिक विषयबस्तु र त्यसैसँग सम्बन्धित भुइँमान्छे पात्र गोपी शर्मामाथि बुनिएको सुन्दर औपन्यासिक कृति हो, गोपीचा ।
उपन्यासको मुख्य पात्र गोपी ब्राम्हण परिवारमा जन्मे हुर्के पनि त्यो परिवारले गर्नुपर्ने कुनै पनि परम्परा गर्न नमान्ने विद्रोही पात्र, घरमा विवाह गर्ने दबाब आउँदा पनि विवाह गर्न नमानी नजिककी च्यामिनी सुनकेशरीसँगको बसउठले प्रेममा परिणत भई उसैसँग विवाह गरेको परिणाम उतिबेलाका शासकले गरेको उसको अंशहरणसहित ६ वर्षे जेलबासको सजायले जेल पर्छ । जेलमा पनि चर्पी नाला सफाइ गर्ने गरी जिम्मेवारी निर्धारण गरिएको हुन्छ । यसरी कथा अगाडि बढ्छ ।
यसै क्रममा जेलमा बसिरहँदा उतिबेलाको राणाशासकले व्यवस्था विरोधी आन्दोलनमा जेलमा परेका शुक्रराज शास्त्री र धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दलाई मारिएको कुरा जेलमा कैदीहरूबीच हल्लाखल्ला हुन्छ । यहि कुरा गोपीको कानमा पनि पर्छ । तर, ऊ राम्ररी सोच्न सक्दैन । के हुँदै छ ? कसो हुँदै छ ? सत्य के हो ? मान्छेले मर्न र मार्न किन नडराको होला ? बाहुन कोखमा जन्मेको म अहिले निच जातमा परेँ र यो सजाय भोग्दै छु । यसको समाधान के होला ? भन्ने जस्ता कुराहरू मनमा खेल्छ । जेलमै उसको गणेशमान सिंह र टंकप्रसाद आचार्यसँग भेट हुन्छ । उनीहरू जेलब्रेक गरेर भाग्ने भन्ने कुराले ऊ पनि उत्साहित भएर भाग्न बाटोसमेत बनाउँछ । तर, भाग्नैलाग्दा जेलकै अर्काे कैदी चन्द्रबहादुरले सुराकी लगाइदिन्छ ।
यसको परिणामस्वरूप गोपीले क्रूर शारीरिक यातना पाउँछ । अनि उसले गणेशमानले भनेको सम्झन्छ देशको लागि लड्नुपर्छ यसमा कि रगत आउला कि गुहू आउँला । यहि कुरा जेलरले सुन्छ र झन् बढी यातनाको सिकार हुन्छ गोपी । जति यातना पाए पनि उसले गणेशमानहरूको नाम झोस्दैन । चरम यातनाले रगतपिच्छे हुँदै बेहोसैमा उसले आफ्नो लीला त्याग गर्छ । पछि उसैले खनेको गोप्य बाटोबाट गणेशमानहरूले जेलब्रेक गर्छन् । समय क्रमसँगै राजनीतिक परिवर्तन हुन्छ र गणेशमान लौहपुरुष मानिन्छन् । तर गोपी शर्मा उर्फ गोपीचा इतिहासको गर्भमा विलीन हुन्छ । यस्तै कथामा बुनिएको छ उपन्यास ।
यसरी हेर्दा परम्परागत विषयबस्तु तर अलिक फरक खाले कथानकता पाउन सकिन्छ । आफ्ना रहरहरू मारेर (सकेर वा नसकेर)इच्छाहरूलाई मनभित्रै थिचेर बसेको पात्रको कथा हो गोपीचा । उचनीचको विभेद आज त ज्यूँका त्यूँ लाग्छ, हिजो नहुने कुरै थिएन । त्यस्तो परिस्थितिमा उसकै वरपरका परिवेशहरूको मनोरम वर्णन पनि छ कृतिमा । उतिवेलाको जातीय विभेदको चर्काे कुप्रचलनको यथार्थपरक चित्रण गर्न खप्पिस देखिएका छन्, कुइँकेल । उतिबेलाको राजनीतिक शोषणको चरम पराकाष्ठाको जानकारी नयाँ पुस्तासमक्ष ल्याउन सफल छन् । इतिहासको गर्भमा बिलाएका सैयौँ गुमनाम पात्रहरूको प्रतिनिधित्व गर्ने पात्र हो, गोपीचा । फेन्टासीभन्दा धेरै पर त्यतिबेलाको अवस्थाको परिघट्नाहरूको बेलिबिस्तार पनि हो यो ।
कथाले मज्जैले बाँध्छ पाठकलाई । उतिबेलाको नेपाली परिवेशको चित्रांकन मज्जैले गरिएको छ । बास्तविक कथालाई अत्यन्तै मिहिनेत गरेर कुँदिएको छ । निरंकुशताको विरुद्ध राजनीतिक परिवर्तनका लागि सामान्य मान्छेले निर्वाह गरेको भूमिकालाई महत्व प्रदान गरिएको छ । उपन्यासको कथ्य भनेकै उतिबेलाको हुकुमी शासन र नेपाली समाज हो । व्यवस्था परिवर्तनका लागि जेल परेकाहरूको संगतले एउटा सोझो भुइँमान्छेमा आएको चेतले महत्वपूर्ण योगदान गरेको गोपीचा आखिर इतिहासको गर्भमै बिलाएको अनुभूतिले पाठकलाई यस्ता अन्य कैयन् पात्रहरू पनि गुमनाम भएको बुझ्न कठीन पर्दैन । यो एउटा दुःखान्त आख्यान हो ।
गोपीचाकै वरपर घुमेको छ उपन्यास । उसको पीडाजन्य बाल्यकालको मनोविज्ञानको जीवन्त अभिव्यक्ति पढ्न सकिन्छ । उसको हठी तथा विद्रोहीचेत छ । भन्न सकिन्छ गोपीचाको समग्र जीवन छ उपन्यासमा । गोपीचाको वरिपरि घुमेका घट्ना, उनको संगत, पात्रहरू, तत्कालीन परिवेशका विविध सन्दर्भहरूले भरिएको छ । अन्ततोगत्वा हुकुमी शासनको विरुद्धमा गणेशमान सिंहहरूलाई साथ दिएर व्यवस्था परिवर्तनको अभियानमा निःस्वार्थ लामबद्ध भएर लाग्दाको क्रुर यातना पाएर गुमनाम मारिन्छ । तर, परिवर्तनपछि पनि ती नेताहरूले उसलाई सम्झँदैनन् । जसको नामको पोल गोपीचाले यातनाको पराकाष्ठा पाउँदा पनि नखोली बचाउँछ । पद र प्रतिष्ठामा पुग्दा तिनले स्मरणसम्म पनि गर्दैनन् । यो आमनेपाली राजनीतिक चरित्रको विद्रुप कथा हो । यथार्थ हो । यहि यथार्थको सत्यापन उपन्यासकारले यहाँ गरेका छन् । सुन्दर शिल्पमा बुनिएको छ उपन्यास ।
यस उपन्यासले इतिहासमा गुमनाम रहेका सुपात्रहरूको खोजी गर्न पनि सन्देश प्रवाह गरेको छ । बास्तवमा इतिहासमा ओझेल परेका वा पारिएका पात्रको अनेकौँ पाटाहरू केलाएर सार्वजनिक गर्न सक्नु उपन्यासकारको विशिष्ट क्षमता हो । यसमा गोपीचाका जीवनका समग्र आरोह अवरोहहरू, भोगेका दुःख झन्झटहरू, जीन्दगीका हरपलहरू आएका छन् । उतिबेलाको समाज, शासकवर्गले जहिले पनि लखेटिरहेको थियो गोपीचालाई । तर, पछि त परिवर्तनका संवाहक भनिनेहरूले पनि इतिहासमै विलीन बनाइदिने गोपीचा र उसको भूमिकालाई । जति चर्चा परिचर्चा हुनुपथ्र्याे त्यो पात्रको उति न इतिहासकारले गर्नसके न राजनीतिज्ञले । बास्तवमा, गोपीको उतिबेलाको मध्ययुगीन सामाजिक बर्बरताका जातीयताको गहिरो खाडलको विरुद्ध चालेको क्रान्तिकारी कदमको जति नै प्रशंसा गरे पनि कम हुन्छ । न नेपाली समाजले उसको चेतना र योगदान बुझ्यो । न राज्यले सम्झियो । जति बाँच्यो गोपीचा गुमनाम बाँच्यो । मरेपछि पनि गुमनाम नै भयो ।
काँठ क्षेत्र, काठमाडौँको नरदेवी, कुलेश्वर, यट्खा, पशुपति लगायतको उतिबेलाको स्थानीयता लछप्पै भिजेको छ उपन्यास । भाषा ठेट बोलिचालीमा प्रयुक्त हुनेछ । नेवारको संगतले गोपीको खानपान परिवर्तन भएको देखिएको छ । उतिबेलाको जातीयताको गहिरो र बर्बर खाडल र त्यसमा शासकहरूले गरेको मलजलसमेत यहाँ छर्लंग पारिएको छ । त्यसैले तत्कालीन समाज र परिवेशको जीवन्त थाहा पाउने एक सन्दर्भ सामग्री हुनसक्छ, गोपीचा ।
उपन्यासको मूख्य नायककै वरिपरि बढी घुमेको कारण अन्य पात्रहरूको भूमिका गौण देखिएको छ । स्वयं सुनकेशरीको ऊ जेल परेपछि के कसरी रही ? कि अरूसँग विवाह गरी ? कतै भागी ? उसको अवस्थाको बारेमा उपन्यासले मौनता साँधेको छ । यसैगरी गायत्री मन्त्रको अशुद्धता, शब्दहरूको दोहोर्याइपन, कुनैकुनै पात्र एकाएक हराउनु जस्तै अर्जुन लगायतका केही सामान्य कमजोरी पुस्तकमा नभएका होइनन् । तथापि इतिहासको तथ्यमा आधारित कथामा विभिन्न मीठा स्वैरकल्पना जोडिएर आख्यानीकरण गर्न भने आख्यानकार सफल देखिएका छन् ।
जे भए पनि इतिहासको एक बास्तविक पात्र जसको बारेमा उतिवेलाका राजनीतिज्ञ, इतिहासकार लगायतले केही न केही लेखिरहँदा उपन्यास आउनु महत्वपूर्ण कुरा हो । लाग्छ जित्नेको मात्र इतिहास लेख्ने इतिहासकारहरूको निम्ति पनि चुनौती हो, गोपीचा । यस्ता गुमनाम पात्रहरूका भूमिका र योगदानहरू अझै खोजिनुपर्छ । उनीहरूको बारेमा लेखिनुपर्छ । थालनी हो यो अन्त्य नहोस् । गुमनाम ऐतिहासिक तथ्यको सफल आख्यानीकरण गर्न सक्षम विश्व कुइँकेललाई हार्दिक बधाई ।
प्रतिक्रिया