धनुषा । सरकारले जनकपुरधामको गुठी तथा सार्वजनिक जग्गा अतिक्रमणबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अन्तर्गतको जग्गा र सम्पत्ति संरक्षण गरी पुरानै अवस्थामा फिर्ता ल्याउनेबारे अध्ययन गर्नेछ ।
जनकपुरधाम क्षेत्रको करिब ९ हजार बिघा जग्गा अतिक्रमण भएको भनी गृहमन्त्री रवि लामिछानेले त्यसबारे छानबिन गर्ने बताएका थिए । गृह मन्त्रालयको प्रस्तावमा सरकारले समिति गठन गरेको हो ।
सरकारले शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गाबारे अध्ययन गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरेको छ । उक्त समितिले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा र सम्पत्तिको छानबिन, लगत संकलन गरी उपयोग, व्यवस्थापन लगायतका विषयमा प्रतिवेदन पेश गर्नेछ ।
प्रतिक्रिया