काभ्रे । १५ असारमा सबैतिर रोपाइँ महोत्सवको रौनक चलिरहँदा काभ्रेका रोशीपीडित किसान भने पुर्पुरोमा हात राखेर बस्न बाध्य भए । गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेको सयौँ रोपनी उर्वर जमिन बगर बनाएपछि यस वर्षको असार १५ किसानका लागि पीडादायी बनेको हो ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार गत वर्षको बाढीले जिल्लाका बेथानचोक, पनौती, रोशी, नमोबुद्ध, तेमाल, मण्डनदेउपुर, पाँचखाललगायत १३ वटै स्थानीय तहका खेतीयोग्य जमिनमा ठुलो क्षति पु¥याएको थियो । उनका अनुसार झन्डै १५ सय हेक्टर धान खेत पूर्ण रूपमा बगर बनेकामा केहीलाई जसोतसो खेत गर्न मिल्ने बनाइएको छ । ‘अझै धेरै जमिन अझै बगर नै छ,’ दवाडी भन्छन्, ‘असार १५ सम्म काभ्रेमा ३९ प्रतिशत रोपाइँ भएको छ ।’
काभ्रे नमोबुद्ध–६ का किसान केशवप्रसाद न्यौपाने भन्छन्, ‘रोशी खोलाले गाउँमा यति ठुलो वितण्डा मच्चायो कि अहिले बाढीको सम्झनाले मात्र पनि डर लाग्छ ।’ उनका अनुसार रोशी–७ कटुन्जे बेँसीस्थित प्रगति किरण स्कुलका ६० भन्दा बढी विद्यार्थी गाउँ छाडेर सहर पलायन भइसकेका छन् । त्यही ठाउँका अर्का किसान विनोद न्यौपानेको ६० मुरी धान फल्ने ५ रोपनी खेत बगरमा परिणत भयो । मकै छरेर केही खेत बचाउने प्रयास गरेका उनी भन्छन्, ‘अहिले फेरि रोपौँ कि नरोपौँ भन्ने द्विविधामा छौँ । फेरि बगाइहाल्ला कि जस्तो लाग्छ ।’ नमोबुद्ध–६ मा मात्रै ३०० रोपनी खेत बगर बनेको छ ।
यता, मण्डन देउपुरको चाखोला, इन्द्रावती र आसी खोलाले स्थानीय किसानलाई कुनै बेलाको मलिलो जमिन सीधै बगर बनाइदेला भन्ने डर छ । बेथानचोक–२ का ६० भन्दा बढी परिवारले यस वर्ष रोपाइँ गर्न खेत छैन । यस्तै, तेमाल र पाँचखालका झिगुखोला, सुनकोसी नदीको बाढीबाट प्रभावित किसानले पनि रोपाइँ गर्न पाएनन् । पोहोरको बाढीबाट खेत बचेकाहरू पनि यसपालि रोपाइँ गर्न डराइरहेका छन् । यस वर्ष झन् धेरै पानी पर्ने भनिएकाले खर्च गरेर धान रोप्दा फेरि बगाइदेला कि ! भन्ने पिरले उनीहरूलाई सताएको छ । बाढीले यति धेरै क्षति गर्नुमा क्रसर तथा खानी उद्योग मुख्य कारण भएको निष्कर्ष निकालिए पनि क्रसरहरू सञ्चालनमा आइसकेका छन् । तर, किसानको खेतबारीको पुनस्र्थापना भने कुनै पनि सरकारको प्राथमिकतामा परेको छैन ।
यता, सिन्धुली पनि गत वर्षको बाढीबाट थिलथिलो भएको जिल्ला हो । रोशी र सुनकोसी नदीमा आएको बाढीले जिल्लाको धेरै खेतीयोग्य जमिन बगर बन्यो । कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार बाढीबाट ४२९.७६ हेक्टर जमिन क्षति भयो भने कटानबाट ५४०.३२ हेक्टर जमिनमा क्षति पुग्यो । तर, किसानले कुनै राहत पाएनन् । बाढीले बगर बनेको जमिनलाई पुनः खेतीयोग्य बनाउन कुनै तहका सरकारले हालसम्म चासो देखाएका छैनन् । किसान स्वयंको प्रयत्नबाट सम्भव पनि भएन । यस वर्ष ती क्षतिग्रस्त क्षेत्रमा रोपाइँ हुन सकेको छैन । यसले धान उत्पादनमा कमी त आउँछ नै, किसानको जीविकोपार्जनमा समेत असर पार्ने निश्चित छ ।
प्रतिक्रिया