विश्व बैंककाे दक्षिण एसिया उपाध्यक्षमा जुट नियुक्त

वाशिंगटन । विश्व बैंकले मार्टिन रायसरको उत्तराधिकारी जोहानेस जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ । उनको नियुक्ति १ जुलाई २०२५ देखि लागू हुनेछ ।

दक्षिण एसियाका लागि क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नेछन् । साथै ३९ अर्ब डलर बराबरका परियोजनाहरू, प्राविधिक सहयोग र वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।

जुटको नेतृत्वमा रोजगारी सिर्जना, जलवायु र विपद् उत्थानशीलता, मानव पूँजी विकास र निजी पूँजी परिचालनलाई सम्बोधन गर्न दक्षिण एसिया क्षेत्रलाई सहयोग गर्न जारी राख्ने विश्व बैंकले जनाएकाे छ ।

डच नागरिक जुट १९९९ मा विश्व बैंकमा सामेल हुँदै उच्च जिम्मेवारीको पद सम्हालेका छन् । उनले हालै ब्राजिलका लागि विश्व बैंकको देश निर्देशकको रूपमा काम गरेका थिए । यसअघि उनी अपरेशनल पोलिसी एण्ड कन्ट्री सर्भिसेज (OPCS) उपाध्यक्षमा रणनीति, नतिजा, जोखिम र सिकाइ निर्देशक थिए । उनले बंगलादेश, भुटान र नेपालका साथै टर्किए, कोमोरोस, इरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि कन्ट्री डाइरेक्टरको रूपमा पनि काम गरिसकेका छन् ।

जुटले १० वर्षमा दक्षिण एसियाले हासिल गरेको बलियो विकास प्रगति देखेर खुसी भएकाे बताए । उनले भने, ‘म योगदान गर्ने र यस क्षेत्रका जनताको न्यानोपन र यसको संस्कृतिको समृद्धि फेरि एक पटक अनुभव गर्ने यो नयाँ अवसरको लागि तत्पर छु ।’

जुटले टोरन्टो विश्वविद्यालयबाट दर्शनमा बीए र एमए, हार्वर्ड विश्वविद्यालयबाट कानूनको डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनमा विद्यावारिधि गरेका छन् ।
विश्व बैंकको विकेन्द्रीकरण अनुरूप जुट भारतको नयाँ दिल्लीमा बस्नेछन् । जुन दक्षिण एसिया क्षेत्रको लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा काम गर्नेछ ।

प्रतिक्रिया