१९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका कर्जा असुली प्रक्रिया अघि बढाएको छ । कार्यालयले सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न यही असार मसान्तसम्मको समय दिएको छ ।

कार्यालयले सूचना प्रकाशन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति लेखी आएकाले ऋण असुलीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

त्यस्ता सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत आफ्नो दायित्व भुक्तानी गरिएको थिएन । अन्तिमपटक सूचना प्रकाशन गरिएको समितिले जनाएको छ ।

पछिल्लोपटक तोकिएको म्यादभित्र आफ्नो दायित्व राफसाफ नगरे समस्याग्रस्त घोषणादेखि असुलीको दिनसम्मको साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरिनेछ । र, आउँदो साउन १ गतेदेखि त्यो असुली थालिने समितिको कार्यालयले जनाएको छ ।

हालसम्म सरकारले १९ बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारीमा अर्बौं रुपैयाँ बचत रकम अपचलन गरिएको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता दिन समितिले असुली प्रक्रिया अघि बढाएको हो ।

यी हुन् समस्याग्रस्त घोषित १९ सहकारी

– प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड


– प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड


– ओरेन्टल को–अपरेटिभ लिमिटेड


– गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड


– स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड


– पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड


– शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


– नेपाल सहकारी वित्तीय संस्था लिमिटेड


– लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


– हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड


– कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


– सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


– भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड


– तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड


– श्री लालिगुरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड


– कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड


– कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड


– कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड


–गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।

प्रतिक्रिया