अन्न भण्डारको नियति : न मल छ, न खेती गर्ने जनशक्ति !

महोत्तरी । मधेसका ८ वटै जिल्लामा मन्त्रीदेखि जनप्रतिनिधिसम्म खेतको हिलोमा पसे । कसैले कृषिबाटै समृद्धि सपना बाँडे । तर, उनीहरू किसानका समस्यासँग भने बेखबर छन् । बाढीले भत्काएका सिँचाइ प्रणाली सञ्चालन हुन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा मल छैन । ‘मलखाद नहुँदा यसपालि पनि उत्पादन घट्ने भयो । अघिल्लो वर्ष धेरै दुःख गरेर अलिअलि जुटाइएको थियो । यसपालि त पाइएलाजस्तो छैन,’ महोत्तरीका किसान सुके मगरले भने, ‘जनभावना बुझ्ने जनप्रतिनिधि नभएसम्म दुःख पाइने रहेछ ।’

मधेसलाई अन्नको भण्डार मानिन्छ । मधेस प्रदेशमा मात्र खेतीयोग्य जमिनमध्ये धान खेती हुने जमिनको हिस्सा करिब ३२ प्रतिशत छ । कृषि विज्ञहरूका अनुसार किसानका समस्या निराकरण गरेर खेतीमा प्रोत्साहन गर्ने हो भने मधेसकै उत्पादनले देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । तर, आवश्यक योजना र सुविधा नपाउँदा यही उर्वर भूमि बिस्तारै बाँझिने अवस्थातर्फ जाँदै छ । पछिल्लो तथ्यांक हेर्दा ७ प्रदेशमध्ये मधेसबाट सबैभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । ‘कर्णालीको जस्तै भोकमरीका घटना मधेसमै यदकदा देखिन थालिसकेको छ । यो दृश्यको साक्षी बनेकाहरू असार १५ मा खेतमा झर्छन्, अनि किसानको देखावटी मह्लम बन्न खोज्छन्,’ सर्लाहीका किसान विनय महतो भन्छन्, ‘किसानको भोट पाएर नेता र मन्त्री बनेकाहरू तिनै किसानको पीडाप्रति बेखबर छन् ।

मधेस प्रदेश कृषि कार्यालयका अनुसार अहिले सप्तरी र रौतहटको चुरे क्षेत्रका केही ठाउँमा रोपाइँ भए पनि अन्य ठाउँमा अझै सुरु हुन सकेको छैन । ‘अहिले सबै जिल्लामा बल्ल रोपाइँ सुरु हुँदै छ,’ कृषि ज्ञान केन्द्र महोत्तरीका सहायक देवानन्द राय यादवले भने, ‘सिँचाइका लागि दक्षिणमा ट्युबवेल व्यवस्थापन गरिएको छ भने उत्तरमा मुहान र नदीको पानी नहरमा निरन्तरताका लागि पहल भइरहेको छ ।’ तर, रोपाइँ सुरु गर्ने समयमा मलखाद नपाउनु र प्रदेश र स्थानीय सरकारले योजना बनाउन नसक्नु मधेसका लागि दुःखद् भएको किसानहरू बताउँछन् ।

पछिल्लो समय किसानहरू जलवायु परिवर्तनको मारसँग पनि जुधिरहेका छन । नियमित वर्षा नहुनु, भूमिगत पानीको सतह कम हुनु, नियमित बालीनालीको चक्र नै बदलिनु, रोग, किराको प्रकोपलगायत समस्याले किसान थप प्रताडित बनिरहेका छन् । मौसमअनुकूल योजना बनाउन नसक्दा पछिल्ला वर्षहरूमा उत्पादनमा नै गम्भीर ह्रास आएको छ । जलवायु विज्ञ नागदेव यादव भन्छन्, ‘जलवायु अनुकूल खेती गर्न सकिएन भने केही वर्षभित्रै ठुलो समस्या सिर्जना हुन सक्छ ।’

‘वर्षमा एक पटक धान दिवस मनाउने मात्र होइन । जनप्रतिनिधिहरूले उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ र किसानहरूलाई अतिरिक्त प्रोत्साहन गर्न सक्नुपर्छ,’ कृषि अधिकृत राजेश साहले भने, ‘यो देशलाई कृषि उपजबाट नै आत्मनिर्भर बनाउन सकिन्छ र त्यसका प्रशस्त आधारहरू छन् ।’

प्रतिक्रिया