२०८१ साल जेठ १० गते बुद्ध जयन्तीका दिन स्रष्टा सरस्वती प्रतीक्षाले फेसबुक पेजमा आफ्नो जन्म दिनकै दिन ‘स्व’ उपन्यासको दिल्लीमा छपाइ सकिएको र कभर फोटो पनि भर्खरै प्राप्त भएको खुसी पोष्ट गर्नुभयो । र, असार १ गते काठमाडौँमा लोकार्पण हुने जानकारी पनि सोही पोष्टमार्फत दिनुभयो ।
पोखरालाई काठमाडौँमा आमनेसामने सुन्न पाउने अवसर पनि थियो त्यो । त्यसो त सरस्वती प्रतीक्षा पोखरेली युवा सांस्कृतिक परिवारका गतिविधिहरूमा मात्रै होइन उनका ‘यद्यपि प्रश्नहरू,’ ‘विम्बहरूको कठघरा,’ र ‘बागी सारङ्गी’ कृतिले कवि, साहित्यकारका रूपमा स्थापित स्रष्टा हुनुहुन्थ्यो । सात वर्षअघि उहाँको नथिया उपन्यासबाट सफल आख्यानकार स्रष्टाको शिखरमै हुनुहुन्थ्यो ।
यही बिचमा उहाँका केही वैचारिक र केही दार्शनिक आलेखहरू पत्रिकामा प्रकाशित भएका थिए । यी आलेखहरूले उहाँ वैचारिक र दार्शनिक रूपमा समेत गहन अध्येता भएको बुझ्न सकिन्थ्यो । वैचारिक र दार्शनिक पक्षले साहित्य सिर्जनाको उचाइ वा गहिराइ कति र कसरी नाप्ला भन्ने लागिरहेकै बेला ‘स्व’ उपन्यासले यही पक्ष उन्नतस्तरले चिरफार गरिदिएको छ ।
अर्थात् ‘स्व’ उपन्यास दार्शनिक र वैचारिक आख्यान हो । दर्शन र विचारलाई औपन्यासिक ढाँचामा ढाल्न प्रतीक्षाको लेखनशिल्प लोभलाग्दो छ । कला र भावभूमिको प्रस्तुति सलल बगेको छ । उपन्यासको उठान र बैठानको यथार्थतालाई स्वेरकल्पनाको उडान उत्तिकै चाख लाग्दो छ । कथावस्तुको सिलसिलाबद्ध विन्यासको नयाँ प्रयोग छ । पूर्वीय दर्शन र यसमा पनि बुद्ध दर्शनलाई काव्यात्मक भाषाशैलीले औपन्यासिक ढाँचामा ढाल्न सफल हुनुहुन्छ प्रतीक्षा ।
विमोचनको दिन ‘स्व’का बारेमा सगुना शाह र घनश्याम खड्काले गरेको टिप्पणीले म दुविधामा परेको थिएँ । ‘स्व’ पढिसकेपछि थाहा भो कि सगुना र घनश्यामले कथावस्तुलाई छिचोलेर भन्न बाँकी नै राखेछन् । अर्थात् मैले बुझ्न सकिनँ छु । घनश्यामले भनेको एउटा कुरोचाहिँ प्रस्टै याद गरेँ कि ‘स्व’को पात्र काव्या लेखक प्रतीक्षा स्वयम् नै भएुको बुझ्न गार्हो हुन्न । यो कुरोचाहिँ मलाई पनि सही लाग्यो ।
एउटा पुरुष अर्थात् पति वा पिताको निष्ठुरता, निकृष्टता, राक्षसीपन र दुष्ट चरित्रका बारेमा प्रशस्तै लेखिएका छन् । तर सरस्वती प्रतीक्षाले ‘स्व’ मा आमा अर्थात् नारीप्रति पनि त्यही स्तरमा त्यही नै तहमा निकृष्टताका कथा बुन्नु भएको छ । सप्तम पात्र आफ्ना मातापिता दुवैको पेलानमा बालापनमै बराबरी तरहले पेल्नसम्म पेलिएको चित्रण छ । यहीँनेर म निकै रोकिएँ । स्वयम् लेखक महिलाले महिला पात्रका बारेका यतिसम्म लेख्न कसरी सक्नु भो ? पछि मलाई नै लाग्यो कि आखिर महिला वा पुरुषभन्दा पहिला जो कोही पनि मान्छे हो । उसको स्वभाव र चरित्रका दुवै पाटा प्रकट हुनु कुन अनौठो भो र, भन्ने लाग्यो । मान्छेका मनोविज्ञानलाई खुलस्तै उतार्न सक्नु उहाँको सुन्दर वैचारिक पक्ष हो ।
मूलपात्र सप्तममै केन्द्रीत छ ‘स्व’ । सप्तमसँगै काव्या पनि उत्तिकै सशक्त रूपमा देखिन्छिन् । सप्तमलाई मनोविमर्श खट्किँदा मायाप्रेमले उपचार गर्न, मार्गचित्रमा डो¥याउन काव्या सफल हुँदा मूलपात्र काव्या नै हो भन्न निर्धक्क सकिन्छ । कथावस्तुको अन्तिममा काव्याकोे प्रश्नचाहिँ झन् गहन लाग्यो मलाई । पुरातन प्रश्न हो कि उत्तरआधुनिक प्रश्न हो ? महिलाको स्व कि मान्छेको स्व ? मेरो प्रश्न लेखकलाई नै !
अध्यात्म र विज्ञान फरक फरक पाटा हुन् वा विपरीत धु्रवका सोचाइ हुन् भन्ने रटानलाई स्व उपन्यसले भत्काइदिएको छ । यसको कथानक सुन्दर प्रस्तुति छ । अध्यात्म अनुभूतजन्य पक्ष हो । यो आत्मिक वैज्ञानिकीकरणको निचोड हो । ध्यान विज्ञान नै हो । चाहे बुद्धको भनौँ या शिवको । आधुनिक विज्ञानको क्वान्टम थ्योरी वा क्वार्कसम्मको अनुसन्धानले यही निष्कर्ष दिएको कुरो आख्यानमा उतारिएको छ ।
बरु बोलीचालीको भाषामा हामी अङ्ग्रेजी शब्द जे जति प्रयोग गर्छौँ, ‘स्व’ मा पनि त्यति नै प्रयोग गरिएको छ । नेपाली शब्द भएसम्म नेपाली नै खोज्यो मेरो जिब्रोले ।
नथिया उपन्यासमा वादी समुदायको गहन पाटो उजागर गर्नुभएकी प्रतीक्षाले ‘स्व’मा बुद्ध दर्शन र विचारलाई कलात्मक रूपमा पस्किनुभएको छ । बुद्ध दर्शनमा आधारित आख्यान कमै लेखिएको बेला ‘स्व’ उपन्यासले त्यो अभाव पूरा गरेको छ । दर्शनलाई औपन्यासिक रूप दिएर लेख्नु अत्यन्तै कठिन कार्य हो तापनि यसमा सफल हुनु भएको छ । कथा र उपकथाका वाचन शैलीले पाठकलाई दरो गरी बाँध्न सफल छ ‘स्व’ । आँसु र आक्राेस मात्रै दिँदैन ‘स्व’ले मन हलुका पार्ने स्थान पनि प्रशस्तै दिन्छ ।
अप्प दीपो भवः अर्थात् आफूभित्रको प्रकाशलाई आफैले प्रज्वलित गर्न प्रेरित गर्छ । म स्वयम्मा को हुँ भनेर चिन्न, थाहा पाउन कठिन पनि छ । सप्तमलाई आफ्नो विगत बुझ्न र आगत देख्न भएका कठिनाइका कथाहरू हामी आफैका जस्तै दुरुस्तै छन् । उपकथाहरूले महसुसीकरण गर्न सिद्ध गरेका छन् । दुःख छ भन्ने अनुभूत गर्न, दुःखको कारण खोज्न र दुःख निवारण गर्ने मार्ग पहिल्याउनु नै ‘स्व’ को जबरजस्त औपन्यासिक आग्रह हो । त्यसैले पढ्नै पर्ने उपन्यास छ ‘स्व’ । बधाई र शुभकामना ‘स्व’लाई र लेखकलाई ।
प्रतिक्रिया