जनकपुरधाम । मधेस प्रदेशसभामा सर्वसहमतिले बालिका संरक्षण ऐन २०८१ पारित भएको छ । मधेस सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले विधेयक पारितका लागि प्रस्तत गरेका थिए ।
बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशको रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गर्दै मन्त्री जयसवालले जानकीजीको भूमिबाट देशमै पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताए ।
मन्त्री जयसवालले प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु गर्न १२ करोड थप रकम बजेटमा व्यवस्था गरेको जानकारी दिए । उनले पितृसत्ता भत्काउनेगरी यो ऐन आएको जिकिर गरे ।
बालिका संरक्षणको कुरा गर्दा बालकप्रति अन्याय हुन नदिन सरकार गम्भिर रहनुपर्ने उल्लेख गर्दै मन्त्री जयसवालले भने, ‘सकारात्मक विभेदको माध्यमबाट छोरीलाई सशक्तीकरण गर्न आवश्यक छ ।’
विधेयक पारित हुनुअगाडि १७ जना सांसदले सुझाव वक्तव्य दिएका थिए । उनीहरूले उठाएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याए । उनले यो विधेयकलाई कानुनको रूप दिन पुरुष सांसदभन्दा महिला सांसदले आमाको रूपमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै महिला सांसदहरूप्रति सम्मान प्रकट गरे ।
प्रतिक्रिया