उपत्यका थुनेर ठूलो ताल बनाउन र कालान्तरमा खोल्न के प्रविधि प्रयोग गरिए भन्ने कुरा रहस्यमय नै रहेको छ । महाभारत आदि सबै ग्रन्थमा लेखिएका विवरण हेर्दा महाभारतकाल त्यस युगको उच्चतम प्रविधिको प्रयोग भएको युग थियो । अर्को शब्दमा भन्नुपर्दा त्यो समय प्रकृतिको उच्चतम शोषणको समय थियो । त्यसैले भीषण नरसंहार भएको थियो । उक्त नरसंहारमा त्यसबेलाको तथाकथित उच्च प्रविधि र त्यसको प्रयोग गर्ने सबै वैज्ञानिक कि त मारिएका थिए कि तिनलाई शक्ति प्रयोग गर्न नसक्ने बनाइएको थियो । उच्चतम बिन्दुमा पुगेपछि सबै कुरा नाश हुन्छ भन्ने आधुनिक सिद्धान्त र युगको अन्त हुँदा विशेष ज्ञान सबै लोप हुन्छ भन्ने शास्त्रको सिद्धान्त समान देखिन्छ ।
स्वस्थानीका कथाका विषयमा धेरैलाई थाहा छ । स्वस्थानी (मूलप्रति प्रामाणिकरूपमा नभेटिँदासम्म) अनेक पुराणबाट सार खिचेर लेखिएको संक्षिप्त ग्रन्थ हो । यहाँ वराहपुराणबाट यो उपत्यकाको इतिहासलाई कोट्याउने प्रयास गरिएको छ । यसबाट धेरै नयाँ कुराहरू थाहापाउन मद्दत मिल्ने नै छ ।
बराहपुराणका अनुसार सबै देवतासहित भई इन्द्रले भगवान् शिव भएका स्थानमा जाने विचार गरे । यसपछि ती सबै देवता अग्लो शिखरबाट उठेर नन्दीसँगै आकाशको बाटोबाट शिव भएका स्थान खोज्न वा भगवान् शिवलाई खोज्न भनी हिँडे ।
भगवान् शिवलाई खोज्दै सबै देवताले स्वर्गलोक, ब्रह्मलोक र नागलोकसमेत सबैतिर चहारे । खोज्दा खोज्दा शिवको चरण–चिह्नसमेत कतै नपाएपछि ती अति नै खिन्न र थकित भए । अनि चारै समुद्रसम्म सात द्वीपले युक्त पृथ्वीमा भगवान् शिवलाई खोज्न थाले ।
पृथ्वीमा गएर वनले ढाकेका पहाड, ठूला पर्वतका गुफा र पर्वतका उच्च टाकुरा, निकुञ्ज आदि सबै स्थानमा भगवान् शिवलाई खोज्दा पनि तिनले भगवान् शिवको दर्शन पाउन सकेनन् । जब कतै भगवान् शिवलाई पाउन सकेनन् तब भयभित हुँदै सल्लाह गरेर ब्रह्मालाई भगवान् शिवका बारेमा सोध्न आए ।
तब ब्रह्माले संसारको कल्याण गर्ने भगवान् शंकरलाई शान्त मनले ध्यान गरे । ध्यान पश्चात ब्रह्माले देवताहरूलाई भने, ‘हामीले तीन लौक नै छापा मारिसक्यौँ, तर पृथ्वीमा रहेको श्लेष्मातक वनमा भने गएनौँ । आउनुहोस्, सबै जना, अब हामी उहाँलाई खोज्न सो वनमा जाउँ ।’ ब्रह्माका कुरा सुनेपछि सहमतिमा सबै देवता तत्काल बेगिलो विमानमा चढेर श्लेष्मातक वनमा पुगे ।
त्यो पुण्यदायक श्लेष्मातक वनमा यत्रतत्र योग, मन्त्र आदिमा सिद्धि प्राप्त गरेका मुनिजन तथा महिमा गान गर्ने भाट वा गन्धर्वहरू बसिरहेका थिए । त्यो वनमा अनेक प्रकारका रमणीय र पवित्र ध्यान गर्ने स्थानहरू थिए । अनेक थरी सुन्दर र गुणशाली आश्रमहरू थिए । वनभित्र कृत्रिम र प्राकृतिक गुफाहरू थिए । उक्त वन साँच्चिकै सुन्दर थियो । नदीहरूमा कञ्चन पानी बहिरहेको थियो । वनमा सिंह, निगाले चितुवा, अर्ना, नीलगाई, भालु, बाँदर, हात्तीका बथान तथा मृगका बथान कराइरहेको आवाज आइरहन्थ्यो ।
मनन गर्नुपर्ने कुरा ः त्यसबेला काठमाडौँ उपत्यकाभित्र कुनै बस्ती थिएन, पुरै जंगल थियो र त्यो पुरै घनाजंगललाई नै श्लेष्मातक वन भनिन्थ्यो । मूलवासी र आदिवासीको अर्थ प्रायोजित गरिएको छ । वास्तवमा काठमाडौँ उपत्यका विभिन्न कालखण्डमा विभिन्नतिरका आप्रवासीहरू आएर बसी बनाइएको इतिहास बोकेको उपत्यका हो । एउटै शरीरमा भएका आँखा, कान, नाक आदिले आफ्नो महत्व वा प्रभाव ठूलो छ भनेर शरीरको वास्ता नगर्नु र म पुरानो तँ नयाँ भनेर हामीले विवाद गर्नु उस्तै होे । सांसारिक विषयमा डुब्ने बस्ती नै नभएकोले यो उपत्यकाको इतिहासको अति प्राचीन प्रमाण नभेटिएको हो । गन्धर्व, सिद्धहरूलाई मन्दिर बनाउन आवश्यकता नै पर्दैनथ्यो । उपत्यका वरिपरि भने पौराणिक कालमा पनि बस्तीहरू थिए ।
श्लेषमातक वनका नगिच पुगेपछि आआफ्ना बाहन त्यहीँ छाडी देवताहरू पैदल नै वनभित्र पसे । त्यसपछि बिस्तारै बिस्तारै हरेक गुफा, वनको भित्री भाग, पर्वतका टाकुरा र रूख चहार्दै देवताहरू त्यो गहन वनमा सम्पूर्ण देवताका स्वरूप भगवान् शिवलाई खोज्न थाले ।
यसरी खोज्दै वनको भित्र भित्र पस्दै जाँदा ती देवताहरू एउटा सुन्दर वनमा पुगे । त्यो वन केराका घारी (कदलीको अर्थ मृगविशेष पनि हुन्छ) ले ढाकेको थियो । त्यहाँ अनेक थरी फुलेका वृक्षहरू शोभायमान देखिन्थे । पर्वत र नदीको किनारमा चन्द्रमाजस्तै सेता हाँसहरू विचरण गरिरहेका थिए । फूलहरूबाट निस्केको मिठो बास्नाले वन नै मौलसिरीको फूलसमान बास्नामय भइरहेको थियो ।
त्यहाँ यत्रतत्र छरिएर रहेका बालुवा मोतिका धूलो छरिएको पो हो कि जस्तो लाग्दथ्यो । यस्तो स्थानमा (सम्भवतः गौरीघाट वा गुह्येश्वरीको बगरमा) देवताहरूले एउटी मनलाई नै मोहित बनाउने सुन्दरी खेलिरहेकी देखे । ब्रह्माले ध्यानदृष्टि गरी हेर्दा हिमालयकी पुत्री एवं शिवकी ईश्वरी उमा (पार्वती) भएको कुरा ब्रह्मालाई थाहा भयो ।
यसपछि (पार्वती यहाँ छिन् भने शिव पनि यतै कतै अवश्य छन् भन्ने सोची) मुख्य देवताहरू डाँडाको टुप्पो (कैलाश डाँडा वा मृगस्थली) उक्लेर तलतिर हेर्न थाले । त्यहाँ तल तिनले देवाधिदेव भगवान् शिवलाई (मृगरूपमा) देखे ।
स्कन्दमहापुराणमा भने देवताहरूले पार्वतीको स्तुति गरेको र उनी प्रसन्न भई भगवान् शिवका बारेमा सबै कुरा देवताहरूलाई बताइदिएको विस्तृत प्रसंग पाइन्छ ।
एउटा मृगको बथानका बीचमा तिनको रक्षक वा नेता जसरी मृगरूपी शिव बसिरहनुभएको थियो । त्यो मृगको (दुईमध्ये) एउटा सिङ र (चारमध्ये) एउटा खुट्टा तताइएको सुन चम्किएजस्तै चम्किरहेको थियो । उक्त मृगका मुख, आँखा र दाँत सुन्दर थिए । ढाडमा सेता–सेता थोप्ला थिए । पेटतिरको भाग चाँदीजस्तै सेतो रङले सुशोभित थियो ।
मृगरूपी शिवलाई देखेपछि देवताहरू कुनै पनि उपायले मृगलाई समाउनुपर्दछ भन्दै हामफाल्दै मृग भएतिर दौडिए । यसपछि इन्द्रले उक्त मृगको सिङको टुप्पो समाते भने ब्रह्माले अत्यन्त श्रद्धापूर्वक सिङको बीच भाग समाते । भगवान् विष्णुले पनि त्यो सिङको फेद समाए । यसरी तीन जनाले समाउँदा मृगको सिङ तीन टुक्रा भएर भाँचिन गयो ।
बलपूर्वक समाउँदा सिङ भाँचिएर तीन टुक्रा भई इन्द्रका हातमा सिङको टुप्पो, ब्रह्माको हातमा सिङको बीच भाग र विष्णुका हातमा सिङको फेदतिरको भाग रहन गयो ।
देवताका हातमा मृगपतिका सिङका टुक्रा मात्र थिए । उता मृगरूपी शिव भगवान् भने सिङबिना नै अलप भए । त्यसपछि भगवान् शंकरले आकाशमा अदृश्य भएर गुनासो गर्दै भने, ‘हे देवता हो मैले शरीर धारण गरेका कारण तिमीहरूले मलाई पाउन खोज्यौ । तर, त्यो शरीर पनि हरायो । तिमीहरूलाई झुक्याएर म यहाँ आएको छु । तिमीहरू मेरो वास्तविकरूपको दर्शन गर्नबाट ठगियौ, अब त्यही सिङले सन्तोष मानी बस ।’
यदि म शरीरसहित भएँ र त्यसलाई ग्रहण गरी स्थापित भएँ भने चार पाउ सहितको पूर्ण धर्मको स्थापना हुनेछ ।
‘हे देवता हो मेरो सिङ तिमीहरूका हातमा छ, लोककल्याणका लागि यो श्लेषमातक वनमा मेरो सिङलाई विधिपूर्वक स्थापना गर । यसपछि मेरा प्रभावले यो स्थान अत्यन्त फलदायक पूण्यक्षेत्र हुनेछ, यसमा शंका नगर । पृथ्वीमा जति पनि तीर्थ, समुद्र र नदी छन् ती सबै मेरा लागि भनी यस क्षेत्रमा आउनेछन् ।’
(स्कन्द महापुराणमा भने व्युष्टिको स्थानमा वृष्टि शब्द सहितको फरक श्लोक छ । सो श्लोकले सिङ स्थापना गरेपछि घनघोर पानी पर्दछ भन्ने अर्थ लाग्दछ । उपत्यका जलमग्न हुनका लागि त्यही अर्थसहितको श्लोक नै उपयुक्त हुने देखिन्छ) ।
विश्लेषण ः सबै कुरा आध्यात्मिक तरिकाले मात्र हेर्दा पनि इतिहासको पाटो अनुत्तरित भइरहने रहेछ । काठमाडौँ उपत्यकाभित्र पूरै जंगल थियो भन्ने कुरामा पुराणहरू सहमत छन् । तर बागमती कसरी थुनियो र दह बन्यो भन्ने विषयमा भने मिथक मात्र पाइन्छ ।
घनघोरको वर्षा भएपछि सबैतिरबाट पानी ओइरेर आउनेछ र अकस्मात् वाग्मती नदी थुनिएर उपत्यका एक तलाउमा परिणत हुनेछ पो भन्न खोजिएको हो कि ?
स्कन्द महापुराणमा बाण दानवको पुत्र बलिले भाइहरूसहित आई वाग्मती नदीमा थुकेका कारण वाग्मतीको जल रोकिएको थियो भन्ने कथा पाइन्छ । बलिको राज्य पाताल हो । उनी पातालबाट पृथ्वीको सतहमा आउँदा अवश्य हलचल भयो होला । अर्थात् त्यसबेला सम्भवतः ठूलो भूकम्प गएर वा भीषण भूस्खलन भएर अहिले चोभारको गल्छी भएका ठाउँमा अग्लो ढिको बनेको हुन सक्दछ । बलि पनि अत्यन्त शक्तिशालि राजा थिए । उनीसँग पनि आजकलको बमजस्तै कुनै दिव्य हतियार पनि हुन सक्दछ । त्यसको कुनै कारणवश प्रयोग भएर वागमती नदी थुनिएको पनि हुन सक्दछ ।
यदि ज्वालामुखीको लाभालाई थुक भन्न खोजिएको हो भने त्यसबेला ज्वालामुखी विस्फोट भएको पनि हुन सक्दछ । तर यसका लक्षण हालसम्म त्यहाँ पाइएका छैनन् ।
नजिकैको कुनै डाँडो नै पहिरो गएर बाग्मती थुनिएको, माटो जति नदीले वा पानीले बगाउँदै लगी कडा चट्टान मात्र अन्तमा बाँकिरहेको पनि हुन सक्दछ । ३० हजार वर्षसम्ममा माटो जति बगाएर ढुंगा मात्र बाँकी रहन सक्ने सम्भावना हुन्छ नै ।
कुनै पुराणमा दानवकी पुत्रीलाई डुंगामा जलविहार गराउन पानी थुनिएका कुरा पनि छन् । स्वयम्भूको डाँडोसम्म पानीले पुरिनलाई अहिलेको चोभारको गल्छीजस्तो भाग मात्र थुनिएर सम्भव छैन । किनकी त्यहाँ कमल उम्रेर बाहिर निस्की फुलेको प्रसंग पनि पाइन्छ ।
कतै कतै स्वयम्भूको डाँडामाथि ठूलो पोखरी थियो पछि त्यसलाई पुरेर चैत्य बनाइयो भन्ने प्रसंग पनि पाइन्छ । पानीले किनारको माटो बगाउँदै खोल्दै तलाउको पानी कम कम हुँदै गएपछि खाल्टो परेको थुम्कोमा पोखरी बनेको पनि हुन सक्दछ । पुनः शिव भन्दछन्, ‘पर्वतराज हिमालयको राज्यको चरणस्थलमा रहेको एक प्रदेशको नाम नेपाल हो । म त्यहाँ पुनः जमिनबाट आफैँ प्रकट हुनेछु । त्यसबेला मेरो अति तेजिलो शिर तथा चारमुख सहितको शरीर हुनेछ । म शरीरेश अर्थात् शरीरधारी जीवका ईश्वर (पशुपतिनाथ) का नामले तीन वटै लोकमा प्रख्यात हुनेछु । त्यहीँ (विशाल तालभित्र) सबै प्राणीको रक्षा गर्दै डरलाग्दो नागदहको पानीभित्र म ३० हजार वर्षसम्म बस्नेछु ।’ जब वृष्णिकुलमा जन्मिएका श्रीकृष्णले इन्द्रको अनुरोधमा दानवहरूलाई मारी पर्वतलाई काटेर यो दह खोल्नेछन् तब यो देश सबै म्लेच्छको अधिनमा रहनेछ (जानेछ) ।
सारसंक्षेप ः पशुपतिनाथको स्वयम्भू ज्योतिर्लिंग ३० हजार वर्षसम्म पानीमा डुबेको थियो । अर्थात् कुनै कारणवश वाग्मतीको निकास थुनिएर काठमाडौँ उपत्यका ३० हजार वर्षसम्म तालकै रूपमा रहेको थियो ।
विश्लेषण
स्वयम्भू पुराणमा मञ्जुश्रीले चोभारको डाँडो काटेको कुरा उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ, ‘तलाउको दक्षिणतिर रहेको पहाडलाई हेरी ती महासत्व (मंजुदेव, मञ्जुश्री, बोधिसत्व) ले चन्द्रहास नामक तरबारले (उक्त पहाडलाई) काटी तलाउको पानी बगाए ।’ गोपाल वंशावलीमा काठमाडौँ उपत्यका पानी खोलेपछि पनि लामो समयसम्म बस्तीविहीन थियो भन्ने भाव उल्लेख भएको पाइन्छ । जसमा भनिएको छ, चक्रवर्ती सम्राट युधिष्ठिरको अधिराज्यमा, हिमालयको मध्य काखमा रहेको, घनाजंगल भएको भूमण्डल (नेपाल उपत्यका) मा, प्रधान श्रीभृंगारेश्वर भट्टारक (शिव देवता)को उत्पत्ति भयो । स्वर्गमा नियमपूर्वक बस्ने देवता, दानव, गन्धर्व, सिद्ध, विद्याधर, उरग (सर्पजातका देवयोनि), मुनि, अप्सरा, यक्ष आदि मेरा मायाले मोहित भएका कारण म बसोबास गरिरहेको यो पुण्यदायी (पशुपति क्षेत्रको) रहस्यलाई जान्दैनन् ।
तपस्वीहरूका लागि यो क्षेत्र तपोभूमि एवं सिद्धक्षेत्र हो । यो क्षेत्र प्रभास, प्रयाग, नैमिष, पुष्कर, कुरुक्षेत्र आदि भन्दा पनि पूण्यदायी क्षेत्र हो भनी विद्वानहरूले बताएका छन् ।
भगवान् शिव भन्छन्, जहाँ हिउँले ढाकेका मेरा ससुरा हिमालय रहेका छन्, जहाँबाट गंगा आदि गरिएका सबै पूण्य नदीहरूको उत्पत्ति हुन्छ, त्यस्तो उत्तम पूण्यशाली क्षेत्रमा रहेका सबै नदीहरू पूण्यदायक हुन्छन् । त्यहाँ रहेका सबै झरना वा कुण्ड र सबै पर्वतहरू पूण्यदायक हुन्छन् ।
विश्लेषणः
भृंगारेश्वरको मन्दिर ललितपुरको सुनाकोठीमा छ । पहिला उक्त शिवलिंग प्रकट भएको हो कि पशुपतिनाथलाई नै इंगित गर्न खोजिएको हो भन्ने कुरा कतै स्पष्ट छैन । तर यो विवरणले आजभन्दा करिब ५५ सय वर्ष अघि उपत्यकाको पानी खोलिएको तथ्य पुष्टि हुन्छ । किनकी श्रीकृष्णले पृथ्वी छाडेपछि कलियुग सुरु भएको हो भनिएको छ । अहिले कलियुग लागेको ५ हजार १२४ वर्ष बितेको छ ।
ऐतिहासिक कालगणनामा ५ हजार वर्ष भनेको थोरै समय हो । ५ हजार वर्षको इतिहाससमेत तहसनहस भएको ऐतिहासिक प्रमाणले यो उपत्यकाको (तथा नेपालका अन्य भूभागको) अहिले चलिरहेको सभ्यता पनि धेरै समय टिक्ने छैन भनेर सहजै अनुमान गर्न सकिन्छ ।
हम्मर र छिनोको प्रयोग गरेर डाँडो काट्न सम्भव थिएन । जसले काटेको भए पनि ऊसँग तत्कालीन विशिष्ट प्रविधिको ज्ञान वा शक्ति थियो भनेर बुझ्नुपर्ने हुन्छ । पानीले खिइँदा खिइँदा चोभारको गल्छी गण्डकी नदीको गल्छीजस्तो भएको भने पक्कै होइन । भारतमा रहेको अजन्ताको गुफा बनाउँदा जुन प्रविधि प्रयोग भएको थियो सम्भवतः त्यही कालमा त्यो प्रविधि यहाँ पनि प्रयोग गरिएको हुन सक्दछ ।
त्यहाँ सिद्ध र चारणले सेवा गरिरहने एउटा आश्रम हुनेछ । सशरीर म रहने उक्त आश्रमलाई शैलेश्वर भनिनेछ । विश्लेषण ः जताततै जथाभावी मन्दिर बनाउने वा स्थानको नाम बदल्ने परम्पराले गर्दा शैलेश्वर कुन हो यसै भन्न सकिने स्थिति छैन । पाँच हजार वर्षमै हामीले हाम्रा प्रायः सबै ऐेतिहासिक र धार्मिक इतिहास पोलेर खाइसक्यौँ । प्राचीन नाम मासेर नयाँ नाम राख्नु इतिहास मेट्नु हो । जसले तिहास मेट्दछ त्यसको इतिहास पनि मेटिनेछ ।
हुन त ईश्वरको बास सबैतिर सशरीर नै हुन्छ तर ‘सशरीर’ शब्दले काठमाडौँ उपत्यकाको कुनै डाँडामाथि प्राचीन कालमा भगवान् शिवको (वा उहाँको कुनै अवतारको पूर्ण कदको मूर्ति रहेको तर्फ पनि संकेत गरिरहेछ । कालान्तरमा यो मूर्ति बुढानीलकण्ठको मूर्ति भेटिए जसरी भेटिन सक्दछ ।
प्राडा ऋषिराम पोखरेलले सुन्दरीमाईको मन्दिर रहेको सुन्दरीजलको डाँडोलाई श्रीशैल भनी बताएका छन् (तरुण खबर, ३० भाद्र, २०७८) । यदि शिवपुरी वा सुन्दरीमाई रहेको डाँडोलाई श्रीशैल मान्ने हो भने त्यहाँ कतै रहेको शिवको विग्रह (मूर्ति) लाई शैलेश्वर भनिएको हुनुपर्दछ, जुन मूर्ति आजसम्म पाइएको छैन । सम्भवतः शैलेश्वरको मूर्ति त्यहाँ कतै रहेको गुफाभित्र हुनुपर्दछ । किनकी यो विग्रह (मूर्ति) अति नै गोप्य भएको कुराको प्रसंगमा भेटिएको छ ।
म्लेच्छहरूको शानकालपछि सूर्य वंशीय क्षत्रियहरूले तिनलाई मारेर ब्राह्मणहरूको संरक्षण र प्रवद्र्धन गर्दै त्यो देशमा राज्य गरी बस्नेछन् । तिनले सनातन धर्मको स्थापना गरी लामो समयसम्म राज्य चलाउनेछन् ।
विश्लेषण ः गोपाल वंशावलीअनुसार उपत्यका बस्तीयोग्य भएपछि करिब ५०५ वर्ष गुप्त वा गोपालवंशको, करिब १६१ वर्षसम्म महिषपाल वंशको र करिब १ हजार ८५० वर्षसम्म किरातवंशको शासन रहेको देखिन्छ । यसपछि मात्र यो उपत्यका सूर्यवंशको अधिनमा गएको थियो । यसैले पुराणमा सम्भवतः पहिला तीन वंशको शासनकाललाई म्लेच्छ शासनकाल भनिएको हुनुपर्दछ ।
म्लेच्छ शब्दको अर्थ ?
‘म्लेच्छ’ शब्दको पुराना ग्रन्थहरूमा अनेक थरी अर्थ लगाइएको छ । यो ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रभन्दा फरक वर्ग हो । सबै अर्थलाई मन्थन गर्दा ‘खानपिन, रहनसहन, बोलचाल, लवाइखवाइ र धर्मको परिधि वा कुनै पनि नियमलाई नमानी आफूखुसी जीवन जिउने’ वर्गलाई म्लेच्छ भन्नु उपयुक्त हुन्छ ।
उपत्यकाको पानी कसरी खोलियो भन्ने बारेमा थोरै विश्लेषण गर्न चाहेँ ।
कुनै पनि संरचना तत्कालीन शाषक वा शक्तिशाली व्यक्तिले बनाएको भनेर लेख्ने परम्परा छ । तर, उक्त संरचना बनाउने विज्ञ भने अरू नै हुन्छन्, जसको कतै नामोनिसान राखिँदैन, हुँदैन । यही परम्पराले गर्दा नै प्राचीन रहस्यमय कुराहरू र प्रविधि रहस्यमय नै भइरहेका हुन् । उदाहरणका लागि द्वारका सहरकै कुरा गरौँ । भगवान् श्रीकृष्णले द्वारका बनाए भनिन्छ तर उनले सहर बनाउने ठेक्का विश्वकर्मा (देवताका शिल्पकार, तत्कालीन सदावहार उत्कृष्ट कन्स्ट्रक्सन कम्पनी) लाई दिएका थिए । एक रातमा बनाइएको भनिने उक्त सहर बनाउन भगवान् शिवका लाखौँ भूतप्रेतका गण एवं कुबेर आदिको समेत सहयोग लिइएको थियो ।
एकैरातमा द्वारका सहर निर्माणका सम्बन्धमा ग्रन्थान्तरमा लेखिएको छ–
श्रीकृष्ण भन्छन, ‘हे विश्वकर्मा ! जबसम्म तिमी द्वारका नगर बनाइरहन्छौ तबसम्म यक्षगणहरूले हिमालयबाट रातोदिन मणिहरू लेराइरहनेछन् । कुबेरका प्रेरणाले आएका ७ लाख यक्ष, शंकरले पठाएका १ लाख बेताल र १ लाख कूष्माण्ड तथा पार्वतीले नियुक्त गरेका दानव र ब्रह्मराक्षस तिम्रा सहायक हुनेछन् ।’ यो भनाइले वा दिवानिशं वा रातोदिन भन्ने शब्दले एक रातमा द्वारका बनेको भन्ने भनाइलाई समर्थन गर्दैन । रातोदिन लगाएर सामान थुपारी एकै रातमा बनाएको भने हुन सक्दछ । अथवा भूलवश छन्द मिलाउन यो शब्दको प्रयोग भएको पनि हुन सक्दछ ।
यसैले उपत्यका थुनेर ठूलो ताल बनाउन र कालान्तरमा खोल्न के प्रविधि प्रयोग गरिए भन्ने कुरा रहस्यमय नै रहेको छ । महाभारत आदि सबै ग्रन्थमा लेखिएका विवरण हेर्दा महाभारतकाल त्यस युगको उच्चतम प्रविधिको प्रयोग भएको युग थियो । अर्को शब्दमा भन्नुपर्दा त्यो समय प्रकृतिको उच्चतम शोषणको समय थियो । त्यसैले भीषण नरसंहार भएको थियो । उक्त नरसंहारमा त्यसबेलाको तथाकथित उच्च प्रविधि र त्यसको प्रयोग गर्ने सबै वैज्ञानिक कि त मारिएका थिए कि तिनलाई शक्ति प्रयोग गर्न नसक्ने बनाइएको थियो । उच्चतम बिन्दुमा पुगेपछि सबै कुरा नाश हुन्छ भन्ने आधुनिक सिद्धान्त र युगको अन्त हुँदा विशेष ज्ञान सबै लोप हुन्छ भन्ने शास्त्रको सिद्धान्त समान देखिन्छ । क्रमश ः
प्रतिक्रिया