पर्यटनको प्रचुर सम्भावना बोकेको जलकेश्वर

सर्लाही । लालबन्दी नगरपालिकाको सिरानमा अवस्थित लखन्देही बाँधको पश्चिमपट्टीको सानो बस्ती छिचोलेर स्यांगवा डाँडा हुँदै ज्यूँधर (जिवजोर) खोल्सीको किनारै किनार आधा घण्टा जति पैदलयात्रा पछि एउटा शान्त, मनमोहक, ओशिलो पहराको फेदमा पुगिन्छ । पानी बगेको कलकल मधुर ध्वनि र चराचुरुंगीको सुरिलो आवाजको पृष्ठभूमीमा सो पहरामा देखिने अलौकिक आकृतिहरुले मानव मन स्वतः आकर्षित हुन्छ । खुला आकाश मुनि पहगमा बनेका शिवलिंग र अन्य देव–रुप आकृति रहेको सोही स्थल नै जलकेश्वर महादेव स्थल हो ।

स्थानिय जलकिनी गाँउको समीपमा रहेकाले त्यस स्थानलाई कतिपयले जलकिनी महादेव स्थान पनि भन्ने गरेको पाइन्छ । मानव वस्तीदेखि टाढा निर्जन जंगल, पहरामा अवस्थित र कुनै मानव निर्मित मन्दिर बिना विराजित शिवलिंग लगायत अन्य देव–आकृतिहरुको त्यहाँ नियमित पुजा हुने गर्दछ । सो मन्दिरमा पुगी दर्शन गर्नेहरुको मनोकामना पूरा हुने जनविश्वास रहेको लामो समयदेखि मन्दिरस्थलको सरसफाई र रेखदेख गर्दै आएकी दुखमाया मझिनी बताउछिन् । ‘मागेको भाकल पुरा हुन्छ, यहाँ जिवित देवता रहनुहुन्छ । यहाँ आएर पुजा र दर्शन गर्नाले फलिफाप हुन्छ ।’ मन्दिरको सफाई गर्दै गर्दा मझिनीले भनिन् ।

त्यहाँ अनेक आकृति रहेका पहरा भित्र पञ्चकन्याको मन्दिर रहेको बताइन्छ । भित्र झन भित्र अनेक आकृतिमा बिभिन्न देवी देवताको बास रहेको मानिन्छ । त्यस आकृतिभित्र शिव पार्वतिको मन्दिर समेत रहको स्थानिय बताउँछन । त्यसैले अप्ठ्यारो बाटोका वाबजुद धेरै ठूलो संख्यामा दर्शनार्थी श्रदालुहरु त्यहाँ दर्शनका लागी पुग्ने गर्दछन् । खासगरी साउनको सोमबार, जनैपूर्णिमा, शिवरात्री, वालाचतुर्दशी, श्री पञ्चमी जस्ता महत्वपूर्ण चाड र तिथिहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । शनिबार र सोमबार पनि दर्शनार्थीको बाक्लै भिड हुने गर्दछ ।
जलकेश्वर महादेव स्थापना कहिले भयो भन्ने बारेमा यकिन जानकारी कसैलाई छैन । तर पत्थरकोट क्षेत्रमा मानव वस्तीको विकास करिव २०० वर्ष पुरानो हो भनी स्थानीयवासीले बताए अनुसार मन्दिरको स्थापना पनि सोही समय तिर भएको स्थानीय वासिन्दाहरु बताउँछन ।

यती पुरानो मन्दिर भएता पनि यसको प्रचार प्रसार र व्यापकता २०५२ को दशैं ताकादेखि मात्र हुन थालेको हो । २०५२ साल कार्तिक १२ गतेका दिन स्थानिय रुद्र बहादुर महत आफ्ना गाई वस्तु चराउनका लागि हालको महादेवस्थान परिसरमा आएका थिए । साँझपख घर फर्कने बेलामा सबै गाई एक्कासी काम्न थाले । उनले ती गाईलाई के भएको भन्ने अनुमान गर्न सकेनन् र लगेर गोठमा बाँधिदिए ।

स्थानिय पशुचिकित्सकले पनि निको पार्न नसके पछि धामी झाक्रीलाई देखाए । तर पनि गाईहरु काम्न छाडेनन् । बरु एउटी गर्भिणी गाईको बन्चा पेटमै तुहियो । अन्ततः उनले खयरमाराका एक ७० बर्षीय थापा थरका धामिलाई झिकाइ उनीबाट झारफुक गराउँदा उनीहरु सहित अन्य धामि–झाक्री (तान्त्रिक)हरुले काम्दै यही स्थानमा आएर यहाँ अनेक देवी, देउता, नाग आदिको स्थान रहेको र तिनलाई यथासमयमा पूजा गर्ने प्रबन्ध मिलाइएको खण्डमा यहाँका मानिस लगायत अन्य श्रद्धालुको पनि भलो हुने बताए । त्यसपछि स्थानिय मानिसहरुको पहलमा सो ठाँउमा खोजी गर्दा शिवलिंग लगायत अन्य देव आकृतिहरु फेला परे ।


त्यसपछि लगातार तीन दिन तीन रातसम्म स्थानिय समुदायले स्थानिय प्रशासनको समेत सहयोगमा भजन किर्तन धुप–आरती गरे । त्यसवेला पत्थरकोट निवासी केहि धार्मिक प्रवृत्तिका मानिसहरुले शिव भगवान आइ आफ्नो यथोचित पूजा गर्नू भन्ने आदेश दिएको सपना देखे । धेरै व्यक्तिले समान खालको सपना देखेकोले सबै गाउँले मिली त्यस स्थानमा महादेव लगाएत अन्य देवी देवताको नियमित पूजा–अर्चनाको प्रवन्ध गरे ।

त्यस मन्दिरस्थलको भौगोलिक अवस्थालाई विश्लेषण गर्दा धार्मिक दृष्टिकोणले मात्र नभएर पर्यटकीय रुपमा पनि यसको महत्व रहेको छ । पहाडको फेदीमा अनेक आकृतिका देवी देवताको उत्पती हुनु आफैमा हेर्न लायक छ । अहिले त्यहाँसम्म पुग्नका लागि १०८ ओटा खुड्किला बनाइएको छ । अन्य निर्माणका कामहरु पनि क्रमैसँग भइरहेको वडाध्यक्ष दुर्गा बहादुर रखालले बताए । उनका अनुसार पर्यटकीय दृष्टिकोणबाट हेर्दा निकै फाइदा लिन सकिने ठाउँ भए पनि भौगोलिक बिकटताका कारण त्यहाँ रौनक थप्न सकिएको छैन । यस अघिका बर्षहरुमा त्यहाँ बाबाजी जोगीहरु पनि बस्ने गरेका, कुनैले त पानी समेत नखाई छातिमा जमरा समेत उमारेका आफुलाई जानकारी रहेको बताउँदै वडाध्यक्ष रखालले अब एउटा आश्रम बनाएर नियमित एउटा बाबाजी बस्ने वातावरण बनाउन लागीएको जानकारी दिए ।

त्यहाँ एउटा गुफा, अलि माथी डाँडामा एउटा गुम्बा निर्माणको योजना रहेको सुनाउँदै वडाध्यक्ष रखालले त्यसको लागि संघ र प्रदेशमा बजेटमा माग गरिएको बताए । त्यस्तो डाँडामा समेत पानीको प्रशस्त सुविधा रहेको छ । यस क्षेत्रलाई सानो हलेसि महादेवको रुपमा विकाश गर्न सकिन्छ कि भन्ने लागेको वडाध्यक्ष रखालको भनाई छ ।

साबिक पत्थरकोट गाबिस १, हाल लालबन्दी १२ मा पर्ने सो मन्दिर लालबन्दी बजारबाट १० किमि उत्तरतर्फ पर्दछ । जल्केश्वर महादेव मन्दिर संरक्षण समिती बनाएर मन्दिरलाई थप ब्यवस्थीत बनाउने प्रयास भइरहेको छ । यो मन्दिर १२ नम्बर वडाको मात्रै नभएर सबैको अपनत्व होस भनेर अन्य वडा र गाउँलाई समेत समेटेर ब्यवस्थापन समिती गठन गर्न लागिएको वडाध्यक्ष रखालले बताए ।
लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले मन्दिरको संरक्षण र बिकाशमा नगरपालिकाको बिशेष ध्यान रहेको बताएका छन् । जल्केनी मात्रै नभएर लालबन्दीको उत्तरतर्फका भागलाई धार्मिक पर्यटकीय धामको रुपमा बिकाश गराउने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख अधिकारीले सुनाए ।

१२ नम्बर वडामा रहेको भ्यू टावर र १५ नम्बर वडामा रहेको नगरपालिकाकै सबैभन्दा अग्लो ठाउँ बाहुनडाँडामा नारायणको मन्दिर निर्माण गर्ने योजनामा नगरपालिका र वडाध्यक्षहरु रहेका छन् । वडा नम्बर १३ नारनडाँडामा भ्यू टावरको निर्माण सम्पन्न भएको छ । त्यहाँ अहिले आन्तरिक पर्यटक पुग्ने गरेका छन । त्यहाँसम्म जानको लागि बाटोको सुविधा नरहेकोमा हाल त्यहाँ सडक निर्माण गरिएको छ । कच्चि ट्रयाक खोलेर बाटो निकालिएको छ भने त्यसलाई पक्कि बनाएर १५ नम्बर जोड्दै परवानीपुर चोक झारेर आन्तरिक तथा बाह्य पर्यटकलाई केहि दिन यतै रोक्ने स्थानियको आम्दानीमा बृद्धि गर्ने उद्धेश्य नगरपालिकाले राखेको छ । वडाध्यक्ष शिवकृष बैद्यले भ्यू टावरको केहि कामहरु बाँकी रहेकोले यो आर्थीक बर्षमा प्रदेश सरकारले केहि बजेट बिनियोजन गरिदिएमा त्यो काम पनि सम्पन्न गरिने जानकारी दिए ।

समुन्द्रि सतहबाट ५२० किलोमिटर उचाईमा रहेको सो ठाउँ अत्यन्तै रमणिय रहेको छ । हावापानी समेत राम्रो रहेकोले त्यहाँको पर्यटन बिकासका लागि भ्यू टावर निर्माण गरिएको वडाध्यक्ष बैद्यले बताए । करिव ६५ लाख रुपैँयाको लागतमा टावरको निर्माण भएको हो ।

त्यसैगरि १५ नम्बरको बाहुँनडाँडामा ऐतिहासिक नारायणको मुर्ति स्थापना गर्ने, गुम्बाहरु बनाउने र सम्भव भएसम्म केवलकारसमेत चलाउने योजना वडा कार्यालयले गरेको छ । यसपालिको बजेटमा ति योजना मध्येका केहि काम गर्ने र आगामि बर्षहरुमा बाँकी काम गर्ने योजना रहेको वडाध्यक्ष गोरख बलले बताए ।

प्रतिक्रिया