उपनिषद्मा आनन्द र शान्ति खोज्दा

कुनै पदमा पुगेको हुँदैन उसमा अनायाश परिवर्तन भइहाल्दछ । ऊ मलाई नमस्कार गरुन्, मेरा वरिपरि अरू सबै झिँगा भुनभुनाए जसरी भुनभुनाइरहुन् भनेर सोच्न थालिहाल्दछ । चाकडी गर्नेहरू पनि कुर्सी बदलिइरहने कुरा हो भन्ने कुरा ख्याल गर्दैनन्, अति नै चाकडी बजाउन थाल्दछन् । पैसा राज्यको खर्च भइरहेको हुन्छ तर चाकडी भने व्यक्तिको भइरहेको हुन्छ । पदमा भइञ्जेलसम्मको चुरीफुरी पदबाट हटेपछि समाप्त हुन्छ । उसका चाकडी गर्नेहरू जुम्राले मर्न लागेको मानिसलाई छाडे जसरी छाड्दै अर्को पदमा भएको व्यक्तिको शरीरमा सर्न थाल्दछन्

मोहन प्रसाद सापकोटा

पहिले पहिलेका ग्रन्थबाट हुबहु सार्ने र आफ्नो नाम दिएर नयाँ ग्रन्थ निकाल्ने चलन पहिलेदेखि नै रहेछ । किताब लेखिएको मिति पनि भए त ल ठिकै छ भन्नुहुन्थ्यो । तर जब मिति लेखिँदैन तब कुन पुस्तक पहिले लेखिएको होे र कसले कसको उद्धरण गरेको हो भन्ने कुरामा दोमन हुँदो रहेछ । गरुड पुराण र अष्टांग हृदयका तथा अग्निपुराण र अमरकोशका आयुर्वेदसँग सम्बन्धित अधिकांश श्लोक समान छन् । यस्तै कारणहरूले गर्दा पुराणको रचनाकालका सम्बन्धमा थप विवाद उत्पन्न भइरहेको पाइन्छ । पुराणहरूका बीचमा पनि यो समस्या देखिन्छ ।

पुराणका बारेमा नकारात्मक टिप्पणी गर्ने औकात मसँग नभए तापनि एउटै श्लोक एउटै पुराणमा पटकपटक दोहोरिएको देख्दा भने पुनरुत्थानका क्रममा प्राचीन ग्रन्थ भद्रगोल बनाइएको हो भन्ने कुराको पुष्टि हुन्छ । वेदको व्याख्या गरिएको मानिने त्यसपछिका सबै ग्रन्थमा लेखकको बासस्थान, उनले अँगालेको सम्प्रदाय र उनको जीवनशैलीलाई समर्थन गर्ने खालका श्लोकहरू तलमाथि भएका वा गरिएका वा थपिएका देखिन्छन् ।

जस्तै ः एउटा अति प्रसिद्ध पुराणविशेषको एउटा अध्यायमा शिव र विष्णुमा भिन्नता देख्ने मानिस कहिल्यै मोक्ष हुन सक्दैन भनिएको छ भने तल अर्काे अध्यायमा शैव धर्मको सम्प्रदायविशेष मान्ने व्यक्ति म्लेच्छ समान हुन्छ भनिएको छ । यस्ता प्रमाण अनेकौँ पुराणमा पाइएका छन् । सम्प्रदाय बढ्दै गएर विवाद पनि बढ्दै गएपछि पुराणहरू गिजोल्न थालिएको देखिन्छ । गीताको अर्थ अथवा स्वस्थानीको पवित्र पुस्तक गिजोले जस्तै रहेछ, यो गिजोल्ने प्रचलन पनि ।

आजकल नयाँ खँदिला शास्त्रीय कृति लेख्नुभन्दा पनि अर्कोलाई होच्याउनमै विद्वत्ता खर्च हुने गरेको पाइन्छ । सप्ताह लगाउँदा शिवलाई र शिवपुराण लगाउँदा विष्णुलाई होच्याउन भनी पुराणहरू पक्कै लेखिएका थिएनन्जस्तो लाग्दछ । मनमा देवताविशेषप्रति नै द्वेष पाल्ने पण्डित, सन्त, महन्त, प्रभू, महाप्रभू आदिले मानव समाजलाई समान किसिमले ज्ञान बाँड्न सक्दैनन् ।

सन्त वा साधु वा ब्रह्मचारीले ज्ञान प्रवाह गर्दा वृक्षसमान हुनु भनिएको छ । वृक्षमा फल फल्दा चोरले टिप्न नपाओस् भन्ने नियम राखेर फल्दैन । चोरले, विद्वानले सबैले टिपेर खान सक्दछन् । चिन्नेले श्रीखण्डलाई घोटेर चन्दन लगाउँदछ, नचिन्नेले त्यही चन्दनको गिँडोलाई खुर्केर खुर्पाको बिँड बनाउँदछ । कसैले चन्दनको दुरुपयोग गरिरहेछ भन्दैमा उसलाई चन्दनको महत्व सुनाउनै हुँदैन भन्नु अथवा कसैले चन्दन घोटेर लगाइरहेछ भन्दैमा उसलाई चन्दनका बेफाइदा सुनाउनै हुँदैन भन्नु सनातन धर्मको मर्म विपरीत हुन्छ । मूल ईश्वर बाहेक गुण मात्र भएको दुर्गुण नभएको कुरा ब्रह्माण्डमा नै केही पनि छैन ।

अरू कुरा के गर्नु कुनै सभ्यता पृथ्वीका लागि वा सृष्टिको निरन्तरताका लागि बोझ भयो भन्ने अवस्था आउँदा उक्त सभ्यता नाश गर्नका लागि भगवान्ले नै अवतार लिएर अधर्म फैलाएका कथा पनि पुराणमा छन् । यसैले वरिपरिको वातावरण हेरेर धेर दिमाग खियाउन नहुने रहेछ, सबै कुरा समय वा कालले नियन्त्रण गर्दाे रहेछ । ‘जे भयो राम्रै भयो, जे भइरहेछ राम्रै भइरहेछ, जे हुनेछ राम्रै हुनेछ’ यसको तात्पर्य यही रहेछ ।

एउटै सुन्तलाको दानामा रहेका गेडाबाट समान किसिमले हुर्काएका विरुवाले समान फल दिँदैनन् । एउटै आमाको काखबाट जन्मिएका जुम्ल्याहा सन्तानको स्वभाव र प्रगति समान हुँदैन । चन्द्रमा, सूर्य र पृथ्वी उही नै हुन् तर पनि हरेक पलको मौसम बदलिइरहेको हुन्छ । सबै समयको खेल हो । शान्ति प्राप्त गर्न विवेकले तटस्थ भएर काम गर्न सक्नुपर्दछ । मनको शान्ति देखाउने वा प्रचारप्रसार गरिने विषय नै होइन । व्यवहारमा हेर्दा कसैलाई केही पाउँदा शान्ति हुन्छ, कसैलाई केही हराउँदा शान्ति हुन्छ । कसैलाई कोही मरेको सुन्दा शान्ति हुन्छ, कसैलाई कोही बाँचेको थाहा पाए शान्ति हुन्छ । यस्ता शान्ति क्षणिक सुखका भोगाइ मात्र हुन् वास्तविक शान्ति होइनन् । पाउँदा र गुमाउँदा इन्द्रियले तत्काल दिने प्रतिक्रियाको दुरी जति कम भो त्यति नै वास्तविक शान्ति प्राप्त हुने गर्दछ ।

जवानीमा लोग्नेलाई स्वास्नी त स्वास्नीलाई लोग्ने भए पुग्दछ, अरू कोही पनि चाहिँदैन । जब बच्चा जन्मिन्छ तब तिनको २५ प्रतिशत घमण्ड चूर हुन्छ । पतिपत्नीमा सीमित मायाँ त्यसपछि विकेन्द्रित भएर बच्चामा सर्दछ । पहिले ५०–५० प्रतिशत हुने माया अब ३३–३३ प्रतिशतमा झर्दछ । एवं क्रमले जति व्यवहारले छोप्दै जान्छ तब मायाको प्रतिशतमा पनि ह्रास हुँदै जान्छ । यसपछि जवानी सकिँदै जान्छ अनि क्रमशः माया परनिर्भरता र आशमा रूपान्तरण हुन थाल्दछ । स्वार्थवश जे आफूले सोचिएको हुन्छ, त्यो कुनै पनि कुरा सन्तानबाट पाइँदैन । अनि परस्परमा रिस, डाह आदि हुन थाल्दछ । यसपछि कोही भित्रभित्रै रोएर बस्दछन्, कोही जीवनको रहस्य थाहा पाई परमार्थ सुधार्नतिर लाग्दछन् । त्यसैले पहिले नै जवानीको उन्मादले लेराउने तरंगमा आफूलाई पात बहे जसरी बहन नदिनू ।

भनिन्छ अहिले नेपालीको सरदर आयु ७० वर्ष नाघिसक्यो रे ! आयुको गुणस्तर कस्तो छ बताइरहन परेन, प्रायः सबै शरीरभरी रोग र किटाणु बोकेर ओखतीका भरमा बाँचिरहेछौँ । सृष्टि नाश हुनका लागि र जन्म मृत्युका लागि हुन्छ । जन्मदिन, बिहेको वर्षगाँठ, बिहे, व्रतब्रन्ध आदि अनेक मोहजन्य कुराले यो सत्यलाई छोपिरहेको हुन्छ । वास्तवमा जन्मेदेखि नै हरपल उसका आयु घटिरहेको हुन्छ । त्यसैले उमेरका आधारमा विभेद गर्नु वा उत्ताउलो हुनु वा अस्वभाविक गतिविधि गर्नु बेकार हो । आयु अस्थिर त हुन्छ नै यसका बारेमा भविष्यवाणी गर्न पनि सकिन्न । दुनियाँका बारेमा भविष्य बताउने अति ठूलो ज्योतिष (साधक बाहेक) लाईसमेत एक निमेषपछि आफूलाई के हुन्छ भन्ने कुराको नै ज्ञान हुँदैन ।

चित्त अर्थात् मन अति नै चञ्चल हुन्छ । ऊ छिनमा माया गर्दछ त छिनमा घृणा । छिनमा विश्वास गर्दछ त छिनमा शंका । छिनमा गरिब हुन्छ त छिनमा सेठ । छिनमा दयालु बन्दछ त छिनमा हिंस्रक । छिनमा आस्तिक बन्दछ त छिनमा नास्तिक । यसैले छोटो समयको सम्पर्कमा कसैको मनलाई ‘मैले राम्ररी बुझेको छु’ भनेर घमण्ड गर्नेहरू मूर्ख हुन्छन् । यस्तो समुद्रको छालझैँ अस्थिर मनलाई शान्त पार्ने एउटा मात्र उपाय आध्यात्मिकता हो । जीवनभर आध्यात्मिकतालाई नछाड्नू ।

छाया स्थिर हुँदैन । घामअनुसार परिवर्तन हुन्छ । गतिअनुसार परिवर्तन हुन्छ । कसैले गरेको देन वा बनाएको सिद्धान्त पनि छायाजस्तै हुन्छ । स्थिर हुँदैन । कसैको छहारी वा संरक्षण कतै कहिल्यै पनि निरन्तर चल्दैन । अहिले खोलिएका बाल सुधार गृह वा वृद्धाश्रम निरन्तर चल्दैनन् । किनकि ती छाया हुन् । छाया पनि गर्मीमा प्रिय हुन्छ तर जाडोमा हुँदैन । वृक्ष र घाम भएन भने छायाको अस्तित्व समाप्त हुन्छ । त्यसैले छायाप्रति नभई छायाका वास्तविक सृष्टिकर्ताका बारेमा गहन चिन्तनमनन गर्ने गर्नू ।
‘धनै छ सर्वोत्तम सार जे छ’ । झट्ट हेर्दा यो सहीजस्तो देखिन्छ । सारसौँदो देखिने मानिस करोडौँको सम्पत्ति छ तर चिया पिउँदापिउँदै भुक्लुक्क ढलेर चट हुन्छ । धन त जति पनि छ तर कतिलाई मन लागेको केही कुरा पनि खानपिउन शरीरले दिँदैन । धनका लागि नाता तोडेका, कानुन तोडेका, देश छाडेका, शरीरको माया नगरेका जस्ता अनेकथरि उदाहरण समाजमा पाइन्छन् । समयक्रमले सडकपतिलाई अर्बपति र अर्बपतिलाई सडकपति बनाएका अनेकौँ उदारहण समाजमा पाइन्छ । उपभोग वा दानसमेत नगरी धन थुपार्ने पनि प्रशस्त छन् ।

कुनै व्यक्तिले आफ्नै डस्नाभित्र पैसा राख्ने रहेछ । बिचरा ओछ्यानमै बित्यो होला, आफन्तले मरेको ओछ्यान फाल्न लगाएछन् । डम्पिङ साइडमा फोहोर खोतल्दै जाँदा एक व्यक्तिले उक्त सिरकमा भएको पैसा पाएछ र नयाँ जिन्दगी सुरु गर्न भनी गाउँतिर गएछ । मृतकले थुपारेको धन परिवारलाई समेत काम लागेन । मरेर लैजाने केही पनि होइन, सत्कर्म सँगै जान्छ । त्यसैले धन चञ्चल हुन्छ भन्ने जानी शास्त्रले बताए बमोजिम उपभोग, दान, सत्कर्म र सञ्चय गर्ने बानी बसाल्नु पर्दछ । पूरै ब्रह्माण्ड ‘ल आजदेखि तँलाई’ भनेर कसैले कसैलाई दियो भने पनि ऊ ‘अर्को ब्रह्माण्ड पाए हुन्थ्यो’ भन्न थाल्दछ ।

कुनै पदमा पुगेको हुँदैन उसमा अनायाश परिवर्तन भइहाल्दछ । ऊ मलाई नमस्कार गरुन्, मेरा वरिपरि अरू सबै झिँगा भुनभुनाए जसरी भुनभुनाइरहुन् भनेर सोच्न थालिहाल्दछ । चाकडी गर्नेहरू पनि कुर्सी बदलिइरहने कुरा हो भन्ने कुरा ख्याल गर्दैनन्, अति नै चाकडी बजाउन थाल्दछन् । पैसा राज्यको खर्च भइरहेको हुन्छ तर चाकडी भने व्यक्तिको भइरहेको हुन्छ । पदमा भइञ्जेलसम्मको चुरीफुरी पदबाट हटेपछि समाप्त हुन्छ । उसका चाकडी गर्नेहरू जुम्राले मर्न लागेको मानिसलाई छाडे जसरी छाड्दै अर्को पदमा भएको व्यक्तिको शरीरमा सर्न थाल्दछन् । स्वामित्व चञ्चल हुने हुनाले स्वामीले तथा उसका हुक्केबैठकेले धेरै आशक्त हुनु सही होइन । कुनै पदमा बस्नेले वा स्वामी हुनेले तथा तिनका मतियारले हरेक पदलाई नीतिसम्मत तरिकाले चलाउनु वा चलाउन सहयोग गर्नुपर्दछ ।

अन्तमा एउटा श्लोक

यौवनं जीवितं चित्तं छाया लक्ष्मीश्च स्वामिता ।

चञ्चलानि षडेतानि ज्ञात्वा धर्मरतो भवेत् ।।

जवानी, जीवन (आयु), चित्त, छाया, धन र प्रभूत्व ः यी ६ कुरा चञ्चल हुन्छन् (स्थिर हुँदैनन्) । यो कुरा बुझी मानिसले धर्मतिर ध्यान दिनू ।

प्रतिक्रिया