२०४० सालमा छुट्टीमा घर आएका बेला उनको जीवनको अध्यायले कोल्टो फे¥यो । गाउँकै लुम्बिनी निमावि स्कुलमा दरबन्दी खाली रहेछ साथीभाइहरूले यतै शिक्षक हुनुपर्छ भारतमा जानहुँदैन भनेर रोके ।
‘लाहुर’ बाट छुट्टीमा आएका पाल्पाका यदुनाथ पौडेलको जीवन त्यतिबेला मोडियो जतिबेला उताको जागिर छोडेर गाउँको स्कुलमा शिक्षक बन्नुपर्ने भयो । छुट्टीमा घर आएको बेला गाउँलेले गाउँकै स्कुलमा पढाउन अनुरोध गरेपछि उनले नकार्न सकेनन् यतै रोकिए । हाल शिक्षक पेसाबाट अवकाश पाएका पौडेलको जीवनका घुम्टी कम रोचक छैनन् ।
पाल्पा जिल्लाको तत्कालीन गाउँपञ्चायत बौघापोखराथोक–५ लुहुंगमा पिता डिलाराम पौडेल र माता पूर्णकला पौडेलको कोखबाट २०१३ पुस १६ गते यदुनाथ पौडेलले धर्तीमा पाइला टेकेका हुन् ।
पौडेल सावाँ अक्षर नचिन्दै उनका पिताले शप्तशती चण्डी र सत्यनारायणको कथा पौडेललाई मुखाग्र गराएका थिए । त्यो बेला उनको उमेर जम्मा ७ वर्षको थियो । अहिलेजस्तो सिंगान पुछ्न नसक्ने चिचिलालाई रुवाउँदै कहाँ पठाउनु ? ६ वर्षमा मात्रै विद्यालयले भर्ना लिन्थ्यो । विद्यालयमा पनि सुरुमा एक–दुई कक्षामा संस्कृतमा कर्मकाण्ड पढाइन्थ्यो, तीन कक्षामा गएपछि नेपाली, अंग्रेजी, गणितजस्ता पाठ्यक्रम समावेश गरिन्थ्यो । उनको पालामा अँगार पिसेर कालो दलेको काठको कालोपाटीमा दूधेखरीले अक्षर लेखिन्थ्योे ।
श्री लुम्बिनी प्राथमिक विद्यालय पाल्पामा कक्षा पाँचसम्म अध्ययन गरिसकेपछि उनका पिताले ‘चिठी तमसुक गर्ने भइहालिस्’ भन्दै स्कुल छोडाएर घरव्यवहार चलाउन भनी १५ वर्षको उमेरमा पवित्रादेवी घिमिरेसँग मागी विवाह गरिदिए । बिहेको केही समयपछि नै उनी भारत जान भनेर गाउँका दुई जना साथीको साथ लागेर भारतको कानपुर पुगे । तर, साथमा गएका ती दुई जना साथी आफ्नो साथी भेट्न जान्छु भनेर गएका फर्केनन्, उनी बिखर्ची भए । मध्यरातमा भेटेका एक जना मान्छेले ससौल भन्ने ठाउँको होटलमा काम लगाइदिए । त्यो होटलमा उनले २१ दिन काम गरे । त्यही बेला उनले भोपालमा भएका जेठो दाजु लोकनाथ पौडेललाई चिठी पठाए । चिठी पाएपछि लिन दाजु आइपुगे, दाजुसँग भेट भएपछि अब बाँचियो भन्ने लाग्यो उनलाई । दाजुले आपूmसँगै भोपाल लगे ।
भोपालमा केही दिन बसेपछि दाइले उनलाई घर पठाए । सात महिना घर बसेपछि फेरि साथीसँग भागेर लखनउ पुगे । लखनउमा एक वर्ष नोकरी गरेर घर फर्किए । केही समयपछि दाजुले फेरि भोपाल नै लिएर गए । महिनाको ४० रुपैयाँ तलब पाउने गरी बालसेविका तालिम केन्द्रमा काम लगाइदिए । एक वर्ष तालिम केन्द्रमा काम गरेपछि उनलाई धेरै वर्ष छोडेको पढाइलाई निरन्तरता दिने रहर जाग्यो । सिँचाइ विभागमा सेक्युरिटी गार्डको नोकरी गर्दागर्दै घरै बसेर स्वअध्ययन गरेको भनेर उनले मध्यप्रदेश शिक्षामण्डलबाट कक्षा १० मा फारम भरे । पास भएपछि त्यस बेलाको हायर सेकेन्डरीमा पढे । ‘रातीमा डिउटी गर्ने र दिनमा साना केटाकेटीको २०÷२० जनाको समूह बनाएर दुई घण्टा ट्युसन पढाउने काम गरेँ’, पौडेल विगतमा फर्कन्छन् ।
२०४० सालमा घर आएका बेला उनको जीवनको अध्यायले कोल्टो फे¥यो । गाउँकै लुम्बिनी निमावि स्कुलमा दरबन्दी खाली रहेछ साथीभाइहरूले यतै शिक्षक हुनुपर्छ भारतमा जानहुँदैन भनेर रोके । लुम्बिनी निमाविमा जागिर स्वीकृत भएपछि उता राजीनामा पठाए । उताको स्थायी जागिर छोडेको आठ वर्षपछि मात्रै यता स्थायी भए । २०४८ सालमा कृष्णप्रसाद भट्टराईको पालामा एक वर्ष पढाएकालाई पनि स्थायी गर्ने निर्णय भएपछि बल्ल पौडेल पनि स्थायी शिक्षक भए ।
उनी प्रावि तहको शिक्षक तर विद्यालय निमावि भएकाले उनलाई प्रअ हुने झण्झट आइपरेन । जुन विद्यालयमा जागिर प्रवेश गरे सोही विद्यालयबाट सेवा निवृत्त भए । २०४१ कात्तिक १३ गते प्रावि तृतियबाट प्रवेश गरी २०७२ पुस १५ गतेसम्म ३२ वर्ष सेवा गरी प्रावि द्वितीय श्रेणीबाट सेवा निवृत्त भएका पौडेलले शिक्षण पेसालाई समाजसेवाको पाटोका रूपमा लिएका छन् ।
त्यो बेला समाजमा शिक्षकको मानसम्मान थियो । गाउँघरमा सानातिना कागज, तमसुक लेखाउन परे शिक्षककहाँ नै जाने चलन थियो । आफूले धेरैको कागज लेखिदिएको पौडेल अहिले पनि सम्झन्छन् ।
उनले उच्च शिक्षा अध्ययनको अभिलाषाले स्नातकमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा भर्ना भएर प्राइभेट परीक्षा दिए । तर, तीव्र अभिलाषा हुँदाहुँदै पनि घर व्यवहार र आर्थिक अवस्थाका कारणले उनको अध्ययन गर्ने अभिलाषा अधुरो रह्यो ।
धेरै ठूलो डिग्री नलिए पनि स्वअध्ययनलाई भने कहिल्यै रोकेनन् । समाज चलाउनलाई आवश्यक पर्ने ज्ञान ठूलो हो भन्ने पौडेल प्रमाणपत्रको घमण्ड गर्ने तर एउटा तमसुक पनि लेख्न नजान्ने आजका डिग्रिधारीको खासैै अर्थ छैन भन्छन् । स्वअध्ययन नै ज्ञानको स्रोत हो भन्ने पौडेलको मत छ । कहिलेकाहीँ नगरेको दोषको पनि भागी बन्नुपर्दोरहेछ भन्ने पौडेलले आफैँ अनुभव गरेका छन् । २०४२ भदौमा वडा समितिले गाउँमा स्कुलको लागि घरघरबाट चन्दा उठाएछ । पछि हिसाब गडबढ भयो भन्ने कुरा आएपछि गाउँको शिक्षक भएकोले उनलाई हिसाब हेरिदिन भनियो । १ हजार ५०० हिसाब गढबढ भएको पत्ता लाग्यो । त्यतिबेला पाल्पाको स्थानीय साप्ताहिक पत्रिकाकामा रकम हिनामिना भएको खबर छाप्यो । त्यसपछि हिनामिना गर्नेले रकम त तिरेनन् नै पत्रिकामा सार्वजनिक गरिदिएको आरोपमा उल्टै हिसाब हेरिदिने शिक्षक पौडेललाई १ हजार ५०० जरिमाना तिर्न वाध्य पारियो । पौडेल यसलाई राजनीतिक प्रतिशोध ठान्छन् । पञ्चायतको दबदबा रहेको बेला कि १ हजार ५०० तिर नत्र स्कुलको जागिर छोड्नुपर्छ भनेपछि अस्थायी जागिर जोगाउनका लागि भए पनि अनाहकमा जरिमान तिर्नु परेकोमा उनी अहिले पनि दुःखी छन् ।
पौडेल शिक्षणसँगै समाजसेवामा पनि सक्रिय रहँदै आएका छन् । हाल जीवनको उत्तरार्धको निवृत्त जीवनमा पनि समाजसेवामा सक्रिय छन् । उनी २०५१ सालमा कार्तिके सामुदायिक वनमा सचिव पदमा रहेर ८ वर्ष काम गरे । राजुबास खानेपानी योजनाको सचिव, २०७१ सालमा स्थापित बौघापोखराथोक कृषि सहकारी संस्था लिमिटेडको सचिवमा हालसम्म निरन्तर छन् । २०५१ सालमा काभ्रे खानेपानी योजनाको सर्वप्रर्थम लुहुंगमा पानी खुवाउने योजनाको अगुवाइ उनैले गरेका थिए । जंगल बचाउ अभियानका लागि २०४९ सालमा आफ्नै घरमा नमुना गोबरग्याँस बनाएर गाउँलेलाई गोबरग्याँसका लागि अभिप्रेरित गरेका थिए ।
पौडेल कृषि सहकारीको माध्यमबाट गाउँका किसानहरूलाई उत्पादन बढाउनु अभिप्ररित गर्नुपर्छ भन्छन् । देशको आर्थिक अवस्था सुधार्न माटोमै रमाउनुपर्छ भन्ने उनी आज पनि माटोसँग खेलिरहेका छन् । माटोसँग खेल्न रमाउँछन् । अहिले गाउँ छोड्नेहरू बढेका छन् तर सुविधासम्पन्न ठाउँमा बस्न सक्ने अवस्था भए पनि उनलाई गाउँ छोड्न पटक्कै मन छैन ।
उनको ‘दुःखको सागर’ नामको उपन्यास २०३५ सालमा प्रकाशित भएको छ जुन, भारतमा छापिएको थियो । उनका अन्य सिर्जना भने अप्रकाशित रहेका छन्, विशेषतः कविता र उपन्यासमा बढी कलम चलाउछन् पौडेल । पाँच कक्षामा पढ्नुपर्ने माधव घिमिरेको घाम पानी कविताले साहित्य लेखनमा प्रेरित गरेको उनको भनाइ छ ।
त्यस्तै सबैभन्दा बढी मन परेको पुस्तक देवकोटाको मुनामदन धेरैपटक पढेका छन् । २०३५ सालमा भारत जाँदा यो पुस्तक पनि साथमा लगेका उनलाई मुनामदनको ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दि मनले’ भन्ने श्लोक असाध्यै मन पर्छ ।
सन्तानलाई असल संस्कार दिने हो संस्कार दिएपछि बालबच्चाले आफैँ गरिखान्छन् भन्ने उनको मान्यता छ । धनका बलले हुर्केका सन्तानले संस्कार सिक्दैनन् भन्छन् पौडेल । नैतिक शिक्षा अपरिहार्य लाग्छ उनलाई । यही मान्यतामा रहेर विद्यालयमा पढाउँदा सबै बालबालिकालाई आफ्नै बालबच्चा मानेर शिक्षा दिएकोले आजपर्यन्त पनि आफ्ना विद्यार्थीहरूले सम्मान गर्ने गरेको पौडेलको अनुभव छ । पौडेललाई शिक्षामा योगदान दिएको भन्दै जिल्ला शिक्षा कार्यालय पाल्पाले २०७२ सालमा प्राथमिक द्वितीय श्रेणी दीर्घसेवाबाट सम्मान गरेको थियो भने लुम्बिनी मावि तानपाले विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सम्मान गरेको थियो ।
पौडेलका दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् । जेठा छोरा कोशलराज पौडेल नेपाल सरकारको अधिकृत छन् भने कान्छा सञ्जय आफ्नै व्यापार व्यवसायमा छन् । जेठी छोरी कल्पना पौडेल वैदेशिक रोजगारीमा रहेकी छन् भने कान्छी छोरी वन्दना पौडेल उच्च शिक्षा अध्ययनका लागि त्रिविबाट नेपाली साहित्यमा विद्यावारिधि गर्दैछिन् ।
सन्तानबाट आफ्नो लगानीको व्याज खोज्न नहुने उनको मान्यता छ । सन्तानलाई शिक्षादीक्षा दिने र उनलाई खुट्टामा उभ्याइदिने हो उनको आफ्नो जीवनलाई स्वतन्त्र छोडिदिनुपर्छ भन्छन् उनी । ‘आफ्नो दायित्व सम्झे भने बेग्लै हो नत्र सन्तानले सेवा गर्नुपर्छ भन्ने भावना राख्नुहुन्न, पौडेल भन्छन्, ‘बुढेसकालमा आपूmले नसकेको बेला सन्तानले हेर्लान् त्यो उनको कर्तव्य हो ।’
२०३९ सालमा भारतको भोपालमा बस्दा अखिल भारत नेपाली संघको सचिवको रूपमा काम गरेका पौडेल तत्कालीन राष्ट्रिय शिक्षक संगठनबाट संगठित भएर २०६२÷०६३ सालको जनआन्दोलनमा सहभागी भएका थिए । गणतन्त्रपछि भने सक्रिय राजनीतिमा छैनन् । नेताले जनतालाई पहिला जुन सपना देखाएका थिए त्यस अनुसारको व्यवहार नदेखेपछि उनलाई दिक्क लाग्छ । २०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ जिल्ला कमिटी पाल्पाको सदस्य पौडेल त्यसबेला अर्घाखाँचीका बेदुराम भुसाल हप्ताहप्तामा पाल्पा आएर प्रशिक्षण दिने गरेको अहिले पनि सम्झन्छन् । गरिब दुखियाको लड्ने भनेकाहरू अहिले फेरिएको र राजनीति जनसेवा भए पनि त्यस अनुसारको आचार व्यवहार नभएको उनको गुनासो छ । वृद्धावस्थामा राज्यले औषधि उपचार गरिदेओस् र वृद्धाश्रममा राखेर भए पनि राज्यले हेरचाह गरोस् भन्ने चाहन्छन् पौडेल ।
आफ्नै गाउँका दुई जना साथीले गैरे र पराजुलीले जागिर लगाइदिने भनेर भारतको कानपुरको प्लेटफर्ममा अलपत्र बनाएको घटना उनको जीवनको अविष्मरणीय क्षण हो । त्यसबेला रेलवे टिकट स्टेसनमा १० पैसामा पेटभरी खान पाइन्थ्यो तर आपूmसँग पाँच पैसा मात्रै भएकाले एक गिलास पानी किनेर खाएको उनी अहिले पनि सम्झन्छन् ।
जीवनको सबैभन्दा खुसीको क्षण भने जेठो छोरा कोशलराज पौडेल र बुहारी गोमा ज्ञवालीले सरकारी अधिकृतमा नाम निस्केको दिनलाई सम्झछन् । छोरा बुहारीको जागिरका लागि कुनै नेतालाई गुहार्न नपरेको उनलाई थप खुसी छ । बुवाआमाको निधन उनका लागि सबैभन्दा दुःखद् क्षण हो ।
प्रतिक्रिया