मधेस ब्युरो । मधेस प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक कार्यक्रममा गम्छा ओढाएर सम्मान गर्ने संस्कृतिको बिस्तार भइरहेको छ । रौतहटबाट आधा दशकभन्दा केही वर्ष पहिले सुरुआत भएको अतिथिलाई गम्छा ओढाएर सम्मान गरिने संस्कृतिले छिटै अन्य जिल्ला र कार्यक्रमलाई आफ्नो पहुँचभित्र पार्न सफल भएको छ ।
बज्जिका साहित्य संगम रौतहटले विस्तार गरेको संस्कृति हो – गम्छा सम्मान । संगमले गर्ने वार्षिक कार्यक्रममा अतिथिहरूलाई गम्छाले सम्मान गर्दै गम्छाको दुवै छेउमा संस्था र कार्यक्रमको नाम छपाएको थियो । करिब सात वर्ष पहिले २ दर्जन अतिथिलाई गरिएको सामूहिक गम्छा सम्मानले संस्कृतिकै रूप लिइसकेको छ । अब सम्मानपत्र, अभिनन्दन पत्र तथा फूलको माला भएर पनि यदि गम्छा छैन भने कार्यक्रममा नुन नपुगेको तरकारीजस्तो हुने गरेको सहभागीहरूले बताउन थालेका छन् ।
सार्वजनिक कार्यक्रममा पुग्नु, अतिथिको आसन ग्रहण गराइनु तर एउटा गम्छाले सम्मानसमेत नगर्दा आयोजकलाई नै खल्लो लाग्न थालेको हुन्छ । आयोजकहरूले वार्षिक वा अलिकति सम्मानित व्यक्तित्वहरूलाई बोलाएर कुनै कार्यक्रमको व्यवस्थापन गर्दछन् भने कम्तीमा अतिथिहरूलाई गम्छा ओढाएर सम्मान गर्ने चलनको बिस्तार भइसकेको छ ।
पहिले फूलको माला लगाएर स्वागत गर्ने चलन अत्यधिक थियो । अहिले पनि स्वागतका लागि फूलको माला लगाइन्छ अतिथिको गलामा तर घाँटीमा गम्छा पहिराएपछि कार्यक्रमको शोभा नै बढ्ने गर्दछ । बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण सम्झन्छन् – पहिलोपटक रौतहटको गरुडास्थित संगमको एउटा कार्यक्रममा गम्छा ओढाएर अतिथिहरूलाई सम्मान गर्दा सबैले नौलो अनुभूति गरेका थिए । फोटो र सम्मानको भाव दुवै खुब भाइरल भएको थियो । अनि त्यसपछि यस संस्कृतिको बिस्तार भइरहेको छ ।
श्रीकृष्ण सम्झन्छन् – अग्रज साहित्यकार सञ्जय साह मित्रको कल्पना हो ः अतिथिहरूलाई गम्छा ओढाएर सम्मान गर्नुपर्छ भन्ने । हाम्रो परम्परागत संस्कृतिमा गम्छाको धेरै उपयोगिता रहेको हुनाले आधुनिक संस्कृतिसित गम्छालाई जोड्न आवश्यक रहेको साहित्यकार मित्रको भनाइलाई संगम नेतृत्वले कार्यान्वयन गरेको दाबी यादवको छ ।
पहिले गम्छा पुरुषको मात्र चिनारी हुने गरेको थियो । सुरुका केही कार्यक्रमहरूमा महिलालाई गम्छा ओढाउन अप्ठ्यारो हुन्थ्यो तर विस्तारै सम्मानमा विभेद किन ? भन्ने लाग्न थालेपछि महिलालाई पनि गम्छा ओढाएर सम्मान गरिन थालिएको छ । सार्वजनिक कार्यक्रममा महिला र पुरुषलाई एक साथ उही र उस्तै गम्छाले सम्मान गरिन थालिएपछि गम्छा समानताको प्रतीक बन्न पुगेको अनुभव रहेको छ ।
मधेसको लोकजीवनमा गम्छा बहुउपयोगी कपडा हो । गर्मीमा ओछ्याएर पल्टिन मिल्ने, घाममा हिँडदा टाउको छोप्न सकिने, कतै मुख धुनुपर्दा मुख पुछ्न सजिलो हुने, उस्तै परे कपडा फेर्न सहयोग गर्ने, धेरै जाडो भएमा कानलाई जोगाउने गम्छाले मुरेठा बनाउन पनि हुन्छ । मुरेठा अर्थात् पगरी पनि मधेसको पहिचान नै हो । गम्छा त काँधमा सुहाउने कपडा नै हो । यसरी बहुउपयोगी गम्छा अहिले सार्वजनिक सम्मानको प्रतीक बन्न पुगेको छ ।
सम्मान गर्नेले गम्छा ओढाउँदा सम्मानित हुनेले पनि निहुरेर हात जोडेको सम्मानको दृश्यले मधेसमा दोहोरो सम्मानको संस्कृतिलाई झल्काउँछ ।
आफ्नो कार्यक्रमलाई भव्य र सभ्य बनाउन चाहनेले आगन्तुक जतिलाई गम्छाले अनिवार्य सम्मान गर्ने गरेका छन् । यसैले कुनै कुनै कार्यक्रममा त हजार जना जतिलाई गम्छा ओढाएर सम्मान गर्ने गरिन्छ । हजारभन्दा बढीलाई गम्छा ओढाएर सम्मान गर्दा सम्पूर्ण कार्यक्रम नै गम्छामय हुने गरेको छ । अझ कुनै कुनै कार्यक्रममा एकै किसिमको गम्छा रहन्छ । एकै किसिमको गम्छाले आगन्तुक अतिथि जतिको काँधको शोभा बढाउँदा सबैले सम्मानको समान पोसाक लाए जत्तिकै देखिन पुग्छ ।
अब बिस्तारै संघसंस्था हुँदै पालिकाहरूले आयोजना गर्ने कार्यक्रमहरू पनि गम्छामय हुन थालेको छ । औपचारिक कार्यक्रमको शोभा र सम्मानको रूपमा गम्छाको प्रयोग र प्रचलन विस्तार हुँदै गएपछि यदि कुनै सम्मानित कार्यक्रममा गम्छा दिइँदैन भने आलोचना गर्ने गरिन्छ – एउटा गम्छाले सम्मान गर्न नसक्नेले किन यस्तो ठुलो कार्यक्रमको आयोजन गर्नु ? मधेसमा पहिरनको एक पहिचानमध्ये गम्छाले औपचारिक कार्यक्रममा सम्मानको प्रतीक बन्न पुग्दा औपचारिक कार्यक्रमहरू केही महँगा हुन पुगेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया