महोत्सवमा मगर चलचित्र ‘रोस’लाई चारवटै विधामा उपाधि

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा गत जेठ २३ गतेदेखि सुरु भएको चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा मगर भाषाको चलचित्र ‘रोस’ ले चारवटै विधामा उपाधि जित्न सफल भएको छ ।

चलचित्र रोसले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट कलाकार र उत्कृष्ट पटकथामा उपाधि हात पार्न सफल भएको हो । पाल्पाको निस्दी गाउँपालिका– ५ गल्धाको खरकडाँडामा मगर जातिको परम्परागत नाच घाँटुसँग सम्बन्धीत रहेर चलचित्र छायाँकन गरिएको हो ।

‘रोस’ को अर्थ मगर भाषामा चलन चल्ती भन्ने हुन्छ । विशेषत पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा लोपउन्मुख घाँटु नाचलाई संरक्षण गर्ने उदेश्यले चलचित्र निर्माण गरिएको निर्देशक बुद्धसुनारी मगरले जानकारी दिए ।

मगरहरुको सांस्कृतिक नाच घाँटुमा नाचिने ‘जोगिया’ जसले दर्शकलाई मनोरञ्जन दिएर केही पैसा आम्दानी गरेका घाँटु नाचमा आवश्यक पर्ने सामग्री किन्न मद्दत गर्दछ । जुन व्यक्तिको मृत्यु पछि ‘जोगिया’को भुमिका कसले गर्छ त ? भन्ने विषय यस चलचित्रमा उठान गरिएको छ ।

बुद्ध सुनारी मगरको निर्देशनमा निर्मित उक्त चलचित्रको निर्माण तुलाजी सारु मगर र गणेश थापा मगरले गरेका थिए भने चलचित्रको मुख्य भुमिकामा राधु बयम्बु, जेनिसा सोती र लोकमायाँ बयम्बु मगरको रहेको छ । त्यसैगरी उत्कृष्ट अभिनयको विजेता धनबहादुर बयम्बु मगर बनेका छन् । सुनारी फिल्मस प्रालिले बजारमा ल्याएको उक्त चलचित्र १ घण्टा १८ मिनेटको रहेको छ ।

प्रतिक्रिया