खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

काठमाडौँ । पछिल्लो १० महिनामा नेपालमा खाद्यवस्तुमा अचाक्ली मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य वस्तुमा मूल्यवृद्धि बढेको देखिएको हो

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति (मूल्यवृद्धि) २ दशमलव ९६ प्रतिशत छ । गत वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव २७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकां) २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत र मरमसलाको ८ दशमलव ९८ प्रतिशत छ ।

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ७दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७ दशमलव २५ प्रतिशतले बढेको छ, भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकां ७ दशमलव १३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव २६, शिक्षाको ५ दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३ दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक शून्य दशमलव ४८ प्रतिशतले घटेको छ । गत वैशाखमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ४ दशमलव ३०, तराईको ४ दशमलव ३२, पहाडको ४ दशमलव ७० र हिमालको ४ दशमलव २२ प्रतिशत रहेको छ ।

१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । १० महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९ दशमलव २ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव १ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव २ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया