न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले ३४ वटा फौजदारी मुद्दामा दोषी ठहर गरेको छ । यससँगै उनी अपराधमा दोषी ठहरिएका पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।
ट्रम्पलाई अदालतले पोर्नस्टारलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो । अमेरिकाको आगामी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका ट्रम्पले पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध गोप्य राख्न ‘हस् मनी’ दिएको समाचार बाहिरिएको थियो ।
सिद्धान्ततः उनलाई प्रत्येक अभियोगका लागि ४ वर्षको जेल सजाय हुन सक्छ । उनको सजाय भने जुलाई ११ मा सुनाइनेछ । बिनाजमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उनलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो ।
यद्यपि, जेल जाने सम्भावना नै किन नहोस्, ट्रम्पलाई नोभेम्बरमा राष्ट्रपति जो बाइडनलाई सत्ताच्यूत गर्न आफ्नो लडाइँ जारी राख्नबाट रोक लगाइएको छैन । ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताएका छन् भने ट्रम्प आफैँले आदेशप्रति तत्काल प्रतिवाद गरेका छन् । ‘म निकै निर्दोष मानिस हुुँ,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउनेछ ।’ उनले यो मुद्दालाई ‘धाँधलीपूर्ण’ र ‘अपमान’ को संज्ञा दिएका छन् ।
‘कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने फैसलाले देखाएको ट्रम्पलाई दोषी ठहर गर्ने अदालतको आदेशपछि बाइडेनको चुनावी अभियानले विज्ञप्ति जारी गर्दै बताएको छ । ‘ट्रम्पले हाम्रो लोकतन्त्रका लागि जुन खतरा खडा गरेका थिए, त्योभन्दा ठुलो खतरा कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।
न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको ४ दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिएका हुन् । १२ सदस्यीय निर्णायक मण्डलले २ दिनसम्म ११ घन्टाभन्दा बढी छलफल गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएको थियो । मर्चनले ‘कठिन र तनावपूर्ण कार्य’ पूरा गरेकामा निर्णायक मण्डललाई धन्यवाद दिए ।
अदालतले करिब ६ हप्ताको सुनुवाइका क्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग बयान लिएको थियो ।
पोर्नस्टार ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखमा किर्ते गरेको आरोप लागेको थियो । ड्यानियल्सले २०१६ को चुनावअघि ट्रम्पका वकिल माइकल कोहेनले १ लाख ३० हजार अमेरिकी डलर दिएको दाबी गर्दै आएकी छिन् । कोहेन अहिले विभिन्न मुद्दामा जेलमै छन् ।
ड्यानियल्सले सन् २००७ मा भएको गल्फ प्रतियोगिताका क्रममा ट्रम्पले यौन सम्बन्धको प्रस्ताव राखेको बताएकी छिन् । ट्रम्पले आफूलाई सँगै खाना खान निम्तो दिए पनि आफूले सुरुमा अस्वीकार गरेको र आफ्ना पब्लिसिस्टले जान भनेपछि गएको उनको भनाइ छ । त्यतिबेला ट्रम्पकी पत्नी मेलानिया सुत्केरी भएकाले प्रतियोगितास्थलमा नआएको उनको दाबी छ । सहमतिमै यौन सम्बन्ध भए पनि ट्रम्पले झगडा गरेको र असुरक्षित सम्बन्ध राखेको ड्यानियल्सको दाबी छ ।
ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षड्यन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ । यद्यपि, राष्ट्रपतिको चुनावअघि यी मुद्दाहरू सुरु हुने सम्भावना छैन ।
प्रतिक्रिया