निजी जग्गाबाट भूमाफियाले निकाले सयौँ टिपर माटो

जनकपुरधाम । जनप्रतिनिधिलाई झुक्याएर पोखरी खन्ने नाममा सिफारिस लिई भूमाफियाले अर्कैको जग्गाबाट सयौं टिपर माटो र ग्राभेल रातारात खनेर बिक्री गरेको घटना बाहिरिएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–९ स्थित छगरियामा रहेको सिरहाको विष्णुपुर गाउँपालिका–१ कि रेणुका यादवको नाममा रहेको किता नम्बर ३०, १५२, ३१८ को २ विगा निजि जग्गाको माटो उनलाई जानकारी नै नदिई रातारात खनेर लगेका थिए ।


आपको बगौचा रहेको सो जग्गा आफूले किन्न लागेको भनेर क्षिरेश्वरनाथ नगरपालिका–९ का लक्ष्मी साह र धनुषाधाम नगरपालिका २ मंगलपुरका आनन्द साहले धनुषाधाम –९ का अध्यक्ष सरोज लामालाई भुक्याएर पोखरी खन्ने नाममा सिफारिस लिई डेढ सयभन्दा बढी टिपर ग्राभेल खनेर विक्री वितरण गरेका छन् ।

पीडित रेणुकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निजि जग्गामा जानकारी नदिई आनन्द साह र लक्ष्मी साह नाम गरेको व्यक्तिले ग्राभेल खनेर विक्री वितरण गरेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘आफूलाई पहिला जानकारी नै भएन पछि थाहा भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरमा बुझ्न जाँदा पोखरी खन्ने भनेर वडा कार्यालयबाट सिफारिस लिएको बुझियो ।’

वडा कार्यालयमा बुझ््न जादाँ आफ्नो हस्ताक्षर किर्ते गरी आनन्द साह र लक्ष्मी साह नामको व्यक्तिले पोखरी खन्ने सिफारिस लिई ग्राभेल खनेको थाहा पाए । वडाध्यक्ष लामासँग आफ्नो स्वीकृति बिना पोखरी खन्न सिफारिस किन दिएको सोध्दा तपाईको नाममा निवेदन लिएर आएपछि सिफारिस दिएको बताए । आरोपित व्यक्तिलाई पक्राउ गरेर कारवाही गर्न माग गर्दा ईप्रका ढल्केवरले जग्गा सम्बन्धी मुद्दा पालिकाले हेर्ने भएकाले त्यहाँ जानु भनेर निवेदन नलिएको उनले बताइन् । पछि शान्ति सुरक्षाको नाममा निवेदन लिइएको छ ।
आफूहरुले ग्राभेल खन्ने बिना नम्बर प्लेटको रहेका तीस्काईभेटर नियन्त्रणमा लिए पनि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन नमानी ट्राफिकलाई भन्नु भनेर आलटाल गरिररहेको रेणुकाले आरोप लगाइन् ।

घटना बारे थप जानकारी दिदैं रेणुले भनिन्, ‘गएको जेठ ९ गते प्रतिमा ठाकुर नामको व्यक्तिको खाताबाट मेरो बैंक खातामा २ लाख ५१ हजार रुपैयाँ आएको छ । त्यो रकम कसले कुन प्रयोजनले पठाएको थाहा भएन । पछि सोधखोज गर्दै जाँदा भू–माफिया आनन्द साहको नजिकको मान्छे रहेको र आफ्नो जग्गा किन्न लागेको भनी हल्ला फैलाउन रकम पठाएको थाहा पाए । फोन गर्दा लक्ष्मी र आनन्दको कहिले मोबाइलै उठदैन त कहिले स्वीचअफ हुन्छ ।’

यता ईप्रका ढल्केवरका प्रमुख इन्सपेक्टर राजकिशोर साहले घटना बारे थाहा पाए लगतै माटो ग्राभेल खन्न रोकेको बताए । तिनीहरुसँग सोधपुछ गर्दा जग्गा किन लागेको र उनीहरुको मन्जुरीमा माटो ग्राभेल खनेको भनेका छन् । पीडीतको निवेदन दर्ता गरिसकेका छौं वडाले किर्ते जालजाजी गरेको भनेर प्रमाणित ग¥यो भनेर कानून बमोजिम कारवाहीका लागि हामी अघि बढाउनेछौं ।

उता वडाध्यक्ष सरोज लामाले रेणुका देवीको जग्गा आफूले किन्न लागेको भनेर आनन्द साहका श्रीमति प्रतिमा ठाकुरले २ लाख ५१ हजार रुपैया बैंकमा जम्मा गरेको र सोही रकम बराबरको चेक दिएको प्रतिलिपि देखाएपछि सिफारिस दिएको बताएका छन् । उनले भने, ‘सुरुमा मैले जग्गा धनीलाई बोलाएर ल्याउ भनेको थिए, त्यसपछि रेणुकादेवी बिरामी छ आउन सक्दैन भनी उनको नामको हस्ताक्षर सहितको निवेदन लिएर आएपछि सिफारिस दिएको हो ।’

‘पछि जग्गा धनी रेणुका देवीले घटना बारे जानकारी नरहेको भनेपछि आफू सर्तक भएको । झुक्याएर सिफारिस लिनेहरुविरुद्ध कारवाही प्रक्रिया अघि बढाइ सकेका छौं’ वडाध्यक्ष लामाले भने ।

प्रतिक्रिया