मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर गाउँमा लुटपाट गर्ने समूहको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको छ ।
प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार लुटेरा समूहको खोजिका लागि जुम्ला जिल्ला, डोल्पा जिल्ला र मुगु जिल्लाबाट प्रहरी खटिएका छन् । शनिबार साँझ ५ बजे गाउँमा रहेका ५८ घरमध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरी भागेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिएका थिए ।
अध्यक्ष लामाका अनुसार लुटेराहरुले गाउँमा रहेका गुम्बाका पुजारीलाई पनि कुटपिट गरेका थिए । समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा स्थानीय ५३ वर्षीय दोर्जे तामाङ, २६ वर्षीया टोमा छोईङ तामाङ, १८ वर्षीया शान्ति तामाङ र १७ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि मुगु जिल्ला अस्पताल ल्याउने तयारी भए पनि घटनास्थल १२ घण्टा पैदल दुरी टाढा र सञ्चार सुविधा पनि नभएकाले घाइतेहरूको उद्धार तथा उपचारमा कठिनाई भएको छ ।
प्रहरीले स्थलगत रुपमा लुटपाट भएको मालसामान, नगद र गरगहनाको एकिनतर्फ लागेकाले सबै लुटेको सामानको एकीकृत मूल्य ननिकाल्दासम्म लुटेराहरुले कति मूल्य बराबरको सरसामान, गरगहना र नगद लुटे भन्न नसकिने पनि प्रनाउ थापाले बताए ।
घटना शनिबार बेलुकी ५ बजेतिर भए पनि सञ्चार सम्पर्क नभएका कारण आइतबार बिहान मात्र प्रहरीले सूचना पाएको थियो । सूचना पाएपछि पुलु प्रहरी चौकीबाट प्रहरी आइतबार बेलुका घटनास्थलमा पुगेको हो । सीमा प्रहरी चौकी मुगुबाट पनि प्रहरी त्यहाँ पुगेका छन् ।
मुगु
प्रतिक्रिया