सर्लाही । पछिल्लो समय खुल्ला सिमानाकाको फाइदा उठाउँदै भन्सार छलेर भित्र्याउने सामानलाई प्रहरीले बरामद गर्न थालेको छ । सर्लाहीमा विभिन्न बाटो प्रयोग गर्दै भन्सार छलेर भित्र्याउँदै गरेको करिव ६ लाख मूल्य बराबरको सामान प्रहरीले आइतबार बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, ब्याग, सुटकेस, पेय पदार्थ र किरानाका सामानहरु बरामद गरेको जनाएको छ ।
२ वटा भारतीय नम्बरको मोटरसाइकलसहित बरामद सामानको मूल्य करिब ५ लाख ९९ हजार ९६५ रुपैँया रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।
३ तीन दिनअघि पनि सर्लाही प्रहरीले करिव साढे २१ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेर भन्सार कार्यालय मलंगवामा बुझाएको थियो । जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरीले लत्ताकपडा, कस्मेटिक र किरानाका सामानहरु र सवारी साधनसहित बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ५ मोटरसाइकल र दुई जिपसमेत बरामद गरेर करिब २१ लाख ४६ हजार २९५ रुपैयाँ बराबरको सामान भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।
सर्लाही
प्रतिक्रिया