जहाँ देशले होइन, विदेशले खुवाउँछ अन्नपानी !

उत्तरी नाका खुलेसँगै हर्षित स्थानीयबासी

काठमाडौँ । कोरोना महामारीको समयमा बन्द भएका पूर्वी पहाडका दुइटा सीमा नाका खुल्ने भएसँगै सीमावर्ती क्षेत्रको जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

कोरोना महामारीका कारण बन्द भएको ताप्लेजुङको टिप्ताला नाका शुक्रबारदेखि खुला गरिएको छ भने संखुवासभाको किमाथांका नाका आज शनिबारदेखि खुला हुँदै छ ।

नेपाली भएर पनि देशभन्दा अर्काको देशको भर पर्नुपर्ने यी क्षेत्रका बासिन्दामा सबैभन्दा ठुलो हर्ष छाएको छ । राज्य भएको अनुभव गर्न नपाएका यहाँका स्थानीयले स्थानीय उत्पादन बेच्नदेखि दैनिक गुजाराका लागि छिमेकी देश चीनको भर पर्नुपर्ने बाध्यता छ । यतिसम्म कि आफूले पालेका चौँरी र याक चराउने ठाउँ पनि नेपालमा छैन । उनीहरू चरनका लागिसमेत चिनियाँ भूमिमा भर पर्नुपर्ने बाध्यताका बीच कोरोना महामारीका कारण नाका बन्द हुँदा स्थानीय मर्कामा परेका थिए ।

तर, लामो प्रयासपछि शुक्रबारदेखि ताप्लेजुङको टिप्ताला नाका र शनिबारदेखि संखुवासभाको किमाथांका नाका खुलेसँगै स्थानीयले दुःखका दिन गएको अनुभव गरेका छन् । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टीबारे जानकार छेतेन लामाका अनुसार टिप्ताला नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् ।
उनीहरूले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घिउ, छुर्पीलगायत सामग्री लगेका छन् । उनीहरू करिब १० दिनसम्म तिब्बतमा रहनेछन् । गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो ।

नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशको अनुमति लिएका छन् । जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै, मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् । टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो ।

यस्तै, सरकारको लामो प्रयासपछि किमाथांका नाका पनि खुल्न लागेको हो । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब ४ वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो ।

नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको चीन भ्रमणको अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् भने खुल्न बाँकी अन्य नाका पनि खुलाउने तयारी भइरहेको छ । किमाथांका नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलाबासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका खोल्ने विषयमा नेपाल र चीनका स्थानीय अधिकारीबीच पटक–पटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार किमाथांका नाका पुनः सञ्चालन भएको घोषणा गर्नेछन् ।

नाका सञ्चालनका लागि उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथांका नाका जाने कार्यक्रम तय भएको छ । किमाथांका नाकास्थित चिनियाँ भन्सार कार्यालयमा नाका पुनः सञ्चालन घोषणाका लागि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथांका नाका पूर्णरुपमा बन्द गरेको थियो । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर बनेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

‘सीमा क्षेत्रबाट ३० किलोमिटर आसपासका नागरिकले परिचयपत्रका आधारमा किमाथांका नाकापारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका थिए,’ संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘नाका बन्द भएपछि स्थानीयको आउजाउ नै ठप्प भयो, यसबाट जनजीवन निकै कष्टकर बनेको थियो ।’

सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई १ वर्षका लागि परिचयपत्र दिने व्यवस्था मिलाएको थियो । सोही परिचयपत्रका आधारमा सीमावर्ती क्षेत्रका स्थानीयले चीनको निश्चित स्थानसम्म निर्बाध आवागमनको सुविधा प्राप्त गर्दै आइरहेका थिए । ‘सीमा क्षेत्रका स्थानीयलाई दिइएको परिचयपत्र वर्ष÷वर्ष दिनमा नवीकरण गथ्र्यौं,’ उनले भने, ‘परिचयपत्रमा आवश्यक विवरण नेपाल र चीनको आपसी सहमतिबाट टुंग्याइएको छ, चिनियाँ कर्मचारीले सहजै चिन्ने खालको परियचपत्र जारी हुँदै आएको छ ।’

सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौँरीको दूध, घिउ, भेडाको ऊन र जडीबुटीलगायत सामग्री चिनियाँ बजारमा बिक्री गर्ने तथा चौँरी तथा भेडा चरनका लागि चिनियाँ भूमि प्रयोग हुँदै आएको थियो । नेपालमा चौँरी तथा भेडाका लागि खर्कको अभाव छ । चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौँरी तथा भेडा चराउने गरेका थिए ।

किमाथांका नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो । किमाथांका नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । ‘अहिले पनि सडक पुगेको स्थानबाट २ दिन हिँडेर नाका पुग्न सकिन्छ, निकै विकट स्थानमा भएकाले संखुवासभाबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज हुँदै आएको छ,’ प्रजिअ खड्काले भने, ‘सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए ।’

कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रका बासिन्दाले चरन सुविधा पनि गुमाएका थिए । ‘नेपालका चौँरी र भेडाको चरन खर्क उतै (चीन) थियो, नाका बन्द भएपछि साह्रै नै सकस भएको थियो,’ उनले भने, ‘नाका खुलेपछि अब सीमावर्ती क्षेत्रको जनजीवन सहज हुनेछ ।’

व्यापारीले सदरमुकाम खाँदबारीबाट खच्चड तथा भरिया लगाएर किमाथांकामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु पु¥याउने गरेका छन् । ढुवानी खर्च धेरै लाग्दा उपभोग्य वस्तुलाई तेब्बर मूल्य तिर्न स्थानीय बाध्य हुँदै आएका थिए ।

किमाथांका नाकासँग नेपालको भोटखोला गाउँपालिका जोडिएको छ । भोटखोला गाउँपालिकाका वडा– १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब ५ हजारको बसोबास रहेको अनुमान छ । भोटखोला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुने भएकाले उत्पादनले मुस्किलले २÷३ महिनाको मात्र माग धान्ने स्थानीय बताउँछन् ।

किमाथांका नाकाबाट ३० किलोमिटरभित्रका नेपाली नागरिकले परिचपयपत्रका आधारमा निर्बाध रूपमा आउजाउ गर्न पाउने व्यवस्था छ । सरकारले उत्तरी सीमा क्षेत्रका बासिन्दाका लागि एकै प्रकारका विशेष पासको व्यवस्था गरेको छ । नाका सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी सहज हुने विश्वास गरिएको छ ।

यता, ५२ सय मिटर उचाइमा रहेको तोप्लेजुङको टिप्ताला भन्ज्याङमा २ साताअघि मात्र पहिलो पटक नेपाली गाडी (ट्याक्टर) पु¥याइएको थियो । सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पाले ६ वर्षदेखिको मिहिनेत सफल भएको बताए । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भन्ज्याङको दुरी ८५ किलोमिटर छ ।

प्रतिक्रिया