भारतमा बढ्दो गर्मी र नेपालमा ‘लू’को जोखिम

काठमाडौँ । भारतको उत्तरी क्षेत्रको जनजीवनका हरेक पाटो नेपालीका लागि चासोका विषय हुन् । त्यहाँ अहिले गर्मीले सताइरहेको छ । तातो हावा, डढेलो र खडेरीका कारण भारतका धेरै स्थान समस्यामा छन् । यिनै समस्याका कारण नेपालको सीमा क्षेत्र पनि धेरै ग्रसित छ ।

बिहीबार भारतका धेरै भूभागको तापक्रम ४८ डिग्री सेल्सियस पार गरेको छ । राजस्थानको बरमार सहरमा त तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । भारतको मौसम विभागले आगामी बुधबारसम्म तातो हावा चल्ने भन्दै सचेत रहन भनेको छ । बढ्दो गर्मीका कारण भारतका धेरै राज्यले पानी र विद्युतीय संकटको सामना गरिरहेका छन् ।

गत बुधबार दिल्लीमा विद्युतीय ऊर्जाको माग ८ हजार मेगावाट पुगेको थियो । यो इतिहासकै उच्च हो । साताभर गर्मीको प्रकोपमा रहेको दिल्लीको तापक्रम ४५ देखि ४६ डिग्री पुगेको थियो । दिल्लीका मौसमविज्ञहरूका अनुसार ५० डिग्रीभन्दा बढी तापक्रमले गर्ने असर अहिले नै दिल्लीले भोगिरहेको छ । अहिले उच्च गर्मीसँग सम्बन्धित रोगको समस्या बढेको भन्दै त्यहाँका धेरै अस्पतालले आवश्यक तयारी गरेका छन् । स्थानीयका अनुसार अहिले गर्मीको असर सहनै नसकिने छ ।

नेपाली मौसमविद्हरूका अनुसार उत्तरी भारतमा हुने मौसमीय घटनाले नेपाललाई पनि प्रत्यक्ष प्रभावित पार्छ । ‘इन्डो जेन्गेटिक प्लेन’ को असर प्रत्यक्ष रूपमा सीधै नेपाली भूभाग या नेपालको सीमा क्षेत्रमा पर्न सक्छ । २ वर्षअघिको मार्चमा उत्तरी भारतको तापक्रम ५० डिग्री पुगेको थियो । त्यसको केही दिनपछि धरानमा तापक्रम ३५ दशमलव ७ डिग्री पुगेको थियो । २ वर्षअघिको त्यो तातो हावाको असर यसरी परेको थियो कि करिब २ लाख जीवजन्तु मरेका थिए ।

वल्र्ड वेदर एट्रयुबिएसनले सन् २०२२ र २०२३ मा दुइटा अध्ययन गरेको थियो । सन् २०२२ मा भारत र पाकिस्तानमा चलेको तातो हावाको असर तथा २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, लाओस र थाइल्यान्डमा आर्द्रतासहितको तातो हावाको अध्ययन भएको थियो । ती दुवै रिपोर्टका अनुसार अहिले बढेको गर्मीको मूल कारण नै मानवीय गतिविधि हो । यो एकदमै घातक हुन सक्ने बताइएको छ ।

नेपालमा २ मे बाट नै तापक्रम वृद्धि हुँदै उच्च गर्मी निम्त्याउने घोषणा पहिले नै भएको थियो । २९ अप्रिलको तथ्यांकअनुसार नेपालका धेरै स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको थियो । अझै नेपालमा ३ किसिमको तातो हावाको जोखिम ठानिएको छ । अत्यधिक तातो हावाको जोखिममा कैलाली र कञ्चनपुरका साथै बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी र रुपन्देही छन् । मधेस प्रदेशका सबै जिल्ला उच्च गर्मी र तातो हावाको जोखिममा छन् । यी जिल्लालाई ‘रेड जोन’ मा राखिएको छ । दोस्रो तहमा डोटी, सुर्खेत, नवलपरासी (गण्डकी प्रदेश), चितवन, सिन्धुली, झापा, मोरङ, सुनसरी र उदयपुर छन् । यी जिल्ला ‘ओरेन्ज जोन’ मा छन् । अन्य सबै ‘एलो जोन’मा छन् ।

प्रतिक्रिया