दुःखको कारण र दुःखबाट अन्त्य

सन्दर्भ २५६८औँ बुद्ध जयन्ती

अहंकार दुःखको कारण हो भन्ने जान्दाजान्दै पनि हामी अहंकारकै कारण प्रेसर, सुगर, मुटुको रोग पालिरहेका छौँ । न हामीले केही ल्यायौँ न केही लैजान्छौँ । तर पनि व्यर्थ अंहकार किन ?

अर्जुनमोहन भट्टराई

भगवान बुद्धले भन्नुभएको छ– ‘संसारमा दुःख छ दुःखका कारणहरू छन् दुःखलाई हटाउन सकिन्छ ।’ बुद्ध प्राचीन भएतापनि यथार्थवादी हुनुहुन्थ्यो । खुसीः प्राप्ति, लक्ष्य र पुरस्कारसंग सम्वन्धित छ तर सुःखः भौतिक, मानसिक, शारीरिक, पारिवारिक आदिमा विभक्त गर्न सकिन्छ । सुःख केही समयको लागि हो जुन एकल अनुभुति हो तर खुसी दीर्घकालसम्म जान्छ जुन भौतिक वस्तुबाट लिन सकिन्न । जस्तो कि महंगो बिस्तारामा सुत्दैमा निद्रा आउने होइन ।महंगो बिस्तारा भौतिक सुःख हो यसबाट खुसी नमिल्न सक्छ संसारमा सबैथोक भएर पनि दुःखी र केही नभएर पनि सुखी मानिसहरू असख्य भेटिन्छन ।

संसारमा सुखी मानिस धेरै भेटिन्छन त्यसमध्ये कमै मानिस खुसी भेटिन्छन । खुसी सुखी र शान्ती भिन्न छन तर एक अर्कामा अन्तर सम्वन्ध छ । खुसी हरेक मानिसमा फरक फरक ढंगबाट हुन्छ । स्वामी विवेकानन्दका अनुसार भौतिक सुख चाहाने जोकोहीले पनि भौतिक सुःख पाउछ तर उसले त्यो भौतिक सुःख भित्र रहेका पीडा पनि लिनुपर्छ ।

५६३–४८३ बिसिको अवधितिर बुद्ध जन्मेको भन्ने इतिहासमा पढन पाइन्छ । एक राजकुमारको रुपमा जन्मेर सिद्धार्थ गौतमबाट भगवान गौतम बुद्ध बन्न सफल एक व्यक्तित्व आज एक ज्ञान र दर्शन र धर्मको रुपमा विश्वभरमा फैलिएको छ । सुःखको रहस्य धेरै आशा भरोसा चाहना होईन बरु थोरैमा रमाउने क्षमता विकास गर्नु हो । ग्रिक दार्शनिक सोक्रेटसको भनाई बुद्ध भगवानको बिचारसंग काटिकुटि मिल्छ ।

पाली भाषाबाट आएको ’बुद्ध‘ शव्दको अर्थ ज्ञान लिनु वा ब्युँझनु हुन्छ । हरेक कुराको कारण हुन्छ , बुद्ध ज्ञानले विज्ञान जस्तै कारण र असरलाई बताइरहेको छ तसर्थ बुद्ध धर्म दर्शनलाई बैज्ञानिक दर्शन मानिन्छ ।

बुद्धको दर्शनमा दुःखको कारण नै लगाव, माया, प्रेम, आशक्ती हो । यो दुःख आवेगात्मक तथा मानसिक हुन सक्छ । जीवन, मृत्यु, रोग, भोक, जन्म नै दुःखको कारण हो ।

‘अप्प दिपो भव’अर्थात आफै ज्योती बन आफैलाइ जान, बुझ, चिन । यसको अर्थ आफु नै सबैथोक हौ आफुलाइ जान र बुझ । अज्ञान बुद्धुपना त्यागेर ज्ञान मार्गमा लाग ।

आशक्ति सबै दुःखको कारण हुन । बुद्धका यो सन्देश नबुझेर हामी बुद्ध बन्ने सोच पालेर पनि बुद्धु बनिरहेका छौ । आशक्तीको सिकार छौ । पुत्र मोह, पत्नी मोह, धन मोह, पद मोहबाट आफुलाई बिर्सेर अरु कसैका लागि आफनो अमुल्य जीवन सुम्पेर बुद्धु बन्दै रोगको सिकार हुदै छौ,जसबाट अकाल मृत्यु, आत्महत्या, एन्जाइटि, डिप्रेसन, मनोरोगी भैरहेका छौँ ।
बुद्धको ज्ञान ध्यानमा तल्लिन भएकाहरू पनि सुखी छैनन् । साढे दुई वर्षको गुम्वा बसाईमा मेरा केही अनुभुती छन् । सबै कुराको कारण भौतिकवादी सोच र सुविधाको आशक्ती नै हो । हुन त मेरो आकलन पनि गलत हुन सक्छ ।

अन्य धर्ममा विश्वास गर्ने कुरा बढी छन तर बुद्ध दर्शनमा कुनै घटना,कार्य,परिघटना घटनुको पछाडी कारणहरू छन भनिएको छ तर हामी आज विना कारण भौतारिइरहेका छौँ । विना कारण चिन्तित बनेर बुद्धु बनिरहेका छाैँ ।

काम शुद्ध, बोली शुद्ध, विचार शुद्ध, सोच शुद्ध, प्रयास शुद्ध, जीवनसैली शुद्ध, विचारशिलता शुद्ध, ध्यान शुद्ध यी ८ विषयलाई बुद्ध दर्शनले इंगित गरेको छ ।

बुद्ध दर्शन दुई भागमा बाँडिएको छ । एक थेरावाद पुरातन कट्टर जुन भिक्षु बन्ने, घर परिवार त्याग्ने, ध्यान गर्ने विषय छ । अर्को महायान जसमा अलग मत छ जसमा बोधिसत्वको विषय छ ।
थेरावाद श्रीलङका, बर्मा, थाइलैन्ड, क्याम्वोडिया, लाओस र महायान नेपाल, भारत, जापान, चाइना, तिव्वत ,कोरिया ताइवान, मंगोलिया र भियतनाममा अपनाइन्छ । एसिया प्यासिफिक क्षेत्रमा झण्डै ९८ प्रतिसत मानिस बुद्ध धर्म मान्छन । अन्य महादेशमा कम संख्या छ । बुद्धमार्गिहरू दैनिक बढिरेहका छन ।

काम, क्रोध, लोभ, मोह, हिंसा, मिध्यावचन,गफगाफ,चोरी जस्ता विषय बुद्ध दर्शनले बर्जित गरेको छ । यसो हो भने मानिसको पारिवारिक गृहस्थ जीवन कसरी चल्छ ? द्रव्य आर्जन नगरी जीवन चल्दैन जसमा लोभ र मोह बान्छनीय छ । जव हामी लोभ र मोहमा लाग्छौ तव बुद्ध धर्म दर्शनको बर्खिलाप हुन्छ ।
आफनो काम गर्ने, मेहनत गर्ने, व्यापार, उद्यम, व्यवसाय गर्ने व्यक्ति बुद्धिष्ट बुद्धमार्गी हुन सक्छ या सक्दैन ? यो प्रश्न गहन छ । ‘कसैलाई हानी नहुने तर आफुलाई फाइदा हुने’ झुट बोल्नको लागि धर्मशास्त्रले छुट दिएको छ ।

लाउजिका अनुसार तपाइको जीवनमा आउने हरेक उतार चढावलाई सहज लेउ अन्यथा दुःख हुन्छ । सम्राट अशोकको भनाइ समाज समृद्ध बनाउन हामी समाज मजबुत बनाउनुको सट्टा काम सहज बनाउन चाहान्छौ । बिवेकानन्दका अनुसार सत्यको लागि सबै चिज छाड्न सकिन्छ तर कुनै पनि कुराको लागि सत्य छाड्न सकिन्न । स्वामी रामकृष्णको भनाइमा अहंकार हटेमा सबै दुःखहरू हट्छन ।
अहंकार दुःखको कारण हो भन्ने जान्दाजान्दै पनि हामी अहंकार पालेर,प्रेसर सुगर मुटुको रोग पालिरहेका छौँ । न हामीले केही ल्यायौँ न केही लैजान्छौँ तर पनि व्यर्थ अंहकार किन ?

सत्य साइ बाबाको अनुसार रिस, अहंकार र इस्र्या यी तीन कुरा महारोग हुन, यसबाट टाढा रहौँ । बुद्ध,कृष्ण सबैको मत सुःख शान्ती मार्गमा छ हामी व्यर्थ कुरामा चिन्ता गरेर तडपिरहेका छौ ।
सबैजसो दार्शनिकको भाषामा दुःखको कारण आशक्ती, लालशा र लोभ नै हो तथापी हामी त्यसलाई छोड्न पीडातर्फ लगिरहेका छौँ । आजको दिनमा धेरै मानव रुपी महात्माहरू आफुलाई भगवानको उपमा दिइरहेका छन्, यसैमा हामी बुद्धु बनी तिनिहरूलाई पछ्याइरहेका छौ । यसको अर्थ उनिहरू खराब भन्ने चाहि होईन ।
‘आदमी फरिस्ते बन सकते हो मगर आदमी नहि’यो हिन्दीको सायरीको अर्थ बिशाल छ जसले व्यावहारिक मानव जो सारा जीवन कठिनाई बोकेर बाँची रहेको छ । उ भगवान होइन मानिस बन्न चाहन्छ । आजको दिनमा असल मानिसको खाँचो छ । मानव बन्न सक्यौ भने अज्ञानता हराउछ ।

आफुभित्र पीडा पालेर खुसी खोज्न भोैतारिने भौतिक मानवप्रति भगवान बुद्धको ज्ञान सन्देश दर्शन महत्वपूर्ण छ । बुद्धदर्शन जीवनदर्शन नै हो,यसकारण बुद्धमार्ग पहिल्याएर जीवन सार्थक बनाउँ । शान्तीका लागि दुःखबाट बच्नका लागी इच्छा चाहना आकांक्षा सबैबाट टाढा रहनुपर्छ । आखिर यी सबै कुराबाट हामी मानव कसरी मुक्त हुन सक्छौ ? यसका लागि त भिक्षु नै बन्नु पर्ने हुन्छ ।

दुःखको कारण हामी आफै हौँ । हामी भाविनी कर्मरेखा भन्छौँ भाग्यलाई सराप्छौ तर भाग्य आफै बनाउने हो । भनिन्छ समर्थवान मानिसले भाग्यलाइ पनि तल माथि गर्न सक्छ । दुःखको श्रृजना आफै गर्छौ, जुन बोलीबाट कामबाट व्यवहारबाट कारोबारबाट लेखाइ गराइ भनाइ सुनाइ आदिबाट हुन्छ । यी यावत कुरामा नियन्त्रण दुःख कम गर्न सकिन्छ ।

दार्शनिकहरू इच्छा मार्नुलाई दुःख कम गर्ने माध्यम ठान्छन, कोही इच्छा नभएको मानिस बेकार हो पनि भन्छन । तर इच्छा नहँुदोहो त आज विज्ञानको चमत्कार हुने थिएन, इच्छा आकांक्षा र भावना भएर नै सबै विकास संभव भएको छ ।

क्षमादान नै आनन्दमार्ग हो, क्षमा जो कोहीबाट आशा गर्न सकिन्न । दया पनि हरेक मानिसमा हुदैन, यो आफैमा महंगो छ । दया, क्षमा, माया, करुणा, दान, सन्तोष, धैर्यता, सहनशिलता शान्तीको मार्ग हो,जहाँ दुःख कम हुन्छ । आफु भलो त जगत भलो भन्ने सोच एकातिर छ, अर्कोतर्फ ‘परोपकाराय पुन्याय पापाय परपीडनम्’ भन्छ । अरुलाई पीडा नदिने अरुको हित गर्नुले शान्ती मिल्छ । आफनो भलो गर्ने कुरा ठिक रहे पनि आफुलाई भलो गरिरहदा अरुको कुभलो भने गर्न हुदैन ।

नेपाली समाजमा एउटाको जरो नउखेली अर्कोको दवाइ हुदैन भन्ने पनि भनाइ छ । आफनो कल्याण गर्न अरुको अकल्याण गर्नु पर्छ भन्ने होइन । बुद्ध पूर्णीमाको सन्देशको रुपमा हामीले ग्रहण मनन गर्नु पर्ने कुरा धैर्य, संयम सादा जीवन नै हो । हामी समाजमा बरु बदनाम हुनु गुमनाम नहुनु भन्दछौ जसबाट समस्या आएको छ ।


दुःख हटाउने कुरा भन्दा दुःख कम गर्ने कुरा सान्दर्भिक छ । दुःख कम गर्नः कम बोल्ने, कुरा नकाटने, टिकाटिप्पणी नगर्ने, अरुलाई हानी हुने गरी झुटो नबोल्ने, सरल जीवन, सादा जीवन, मितव्ययिता, सरलता सहनसिलता नै अचुक मन्त्र हो ।

दुःख मार्गः घर परिवार,सन्तान, धन, सम्पत्ति, इज्जत रवाफ, धाक,अभिमान नै हो । यी सबै कुरा नहुने हो भने मानिसको आर्थिक जीवन नै हुदैन । सतको धन र इमानको व्यवहारले दुःख मार्ग बाट मुक्ति हुन्छ । सधैंभर जीवनमा लागु गर्नु पर्ने बुद्ध दर्शन मानव जीवन सफन हुनका लागि अपरिहार्य छ,जसबाट गन्तव्यमा पुगिन्छ तर समय भने लाग्छ । बुद्ध दर्शन जीवन उपयोगी छ हाम्रो दैनिक जीवनमा अपनाउ । बुद्धपूर्णिमालाई सार्थक बनाऊँ ।

प्रतिक्रिया