काठमाडौँ । नवीन चौहानले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ यही जेठ २५ गतेबाट छायांकनमा जाने भएको छ । निर्माण कम्पनी आर्टमान्डूका अनुसार यो चलचित्रलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ। टिमका केही सदस्यहरू भने दश दिन अगाडी नै छायांकन स्थल पुग्ने तालिका छ ।
यस चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने छ । ३ महिनाअघि यसको शीर्ष गीत ‘फूल’को पूरा अंशसँगै विपिन र मिरुनाको नयाँ अवतार पनि सार्वजनिक गरिएको थियो । ‘ऊनको स्विटर’ निर्देशक चौहानको पहिलो फिचर चलचित्र होे । उनले यसअघि आर्टमान्डूले निर्माण गरेका केही म्युजिकल चलचित्रहरू निर्देशन गरेका थिए। ती सबै लोकप्रिय छन् ।
चलचित्रमा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ। परीक्षाले अभिनय गरेको चलचित्र ‘पुजार सार्की’ १० जेठमा रिलिज हुँदैछ ।
यस चलचित्रलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह–लेखन सुरज कटुवालले गरेका छन् । चलचित्रमा मुख्य सहायक निर्देशक फिरोज खड्का छन् । गायक सुजन चापागाईँ र कोविद बज्रले सगींत निर्देशन गर्नेछन् ।
गीतमा हर्क साउदको शब्द रचना रहनेछ। चलचित्रमा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ । चलचित्रमा सुरज तमुले कास्टिङ निर्देशन गर्नेछन् । चलचित्रलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् । चलचित्रमा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन ्। चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् ।
रोयल भीमसेन (ट्राइडेण्ट कन्सेप्ट)को पोस्टर र पब्लिसिटी डिजाइन रहने यसको काठमाडौँ उपत्यका वितरण अधिकार काफिया फिल्मस र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनले लिएका छन् । यो वर्षको शरद ऋतुमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको छ।
प्रतिक्रिया