भारतको कर्नाटकमा बैतडीका धानुक दाजुबहिनीको शंकास्पद मृत्यु

महेन्द्रनगर । बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ ।

बुबाआमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए ।

‘दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्’, धामीले भने, ‘दुवैको शरीर चोटपटक देखिन्छ ।’

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।

‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो’, धामीले भने, ‘तर अझै शव अस्पतालमै छ ।’ मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।– रासस

प्रतिक्रिया