मूलरूपमा अमिलो, पिरो, तितो, गुलियो, टर्रो र नुनिलो गरी ६ प्रकारका रस हुन्छन् । यी ६ रसको स्वादलाई समग्रमा मिठो र नमिठो भनी बताइने गरिन्छ । यी ६ स्वाद विकृत भएभछि तमतम्याइलो आदि अन्य स्वादको पनि जन्म हुन्छ । जिभ्रोले थाहा दिने रस भएकोले रसलाई जिभ्रोको विषय भनिन्छ । जिभ्रोले हरदम मिठो कुरा मात्र खान मन गर्दछ । तर, शरीरलाई मिठो कुराले मात्र फाइदा गर्दैन । नित्य ६ प्रकारकै रसको सेवन गर्नुपर्दछ । गुलियो रस शरीर वृद्धिका लागि अति आवश्यक रस हो, त्यसैले स्वभावतः शरीरले आफ्नो वृद्धि हुने अवस्थामा गुलियो रस बढी खोज्दछ । तर, यसबेलामा पनि अर्थात् सानै उमेरदेखि अन्य रस पनि खुवाउने वा खाने बानी गर्नुपर्दछ । शरीर वृद्धिको चरण रोकिएपछि गुलियो धेरै खाने गर्नु हुँदैन ।
भएभरका शास्त्रले इन्द्रियलाई वशमा राख भनेर लेखेका छन् । यो भनेको के हो ? यहाँ सरल भाषामा उदाहरणसहित बुझाउन प्रयास गरिएको छ । कान, नाक, जिभ्रो, आँखा र छाला : शरीरका यी पाँच अंगलाई इन्द्रिय वा ज्ञानेन्द्रिय भनिन्छ । यी अंगमार्फत विभिन्न कुराको मानिसलाई ज्ञान हुने हुनाले यिनलाई ज्ञानेन्द्रिय भनिएको हो ।
शव्द वा आवाज विषय (कान)
सबैभन्दा पहिला कानका कुरा गरौँ । कानले मानिसलाई शब्द वा आवाजको ज्ञान दिन्छ । जुन इन्द्रियले जे कुराको ज्ञान दिन्छ त्यसलाई त्यो इन्द्रियको विषय भनिन्छ । कानको विषय शब्द हो ।
अब कानलाई कसरी नियन्त्रण गर्ने त ? कानको स्वभाव उसलाई प्रिय लाग्ने कुरा मात्र सुन्न खोज्ने हुन्छ । आलोचना सुन्न चाहँदैन, मन नपर्ने कुरा सुन्न चाहँदैन । अत्यधिक चर्को आवाज निरन्तर सुन्नु र अति मसिनो आवाज बल गरेर निरन्तर सुन्न खोज्नुजस्ता कार्यले कानमा रोग निकाल्दछ । यो अवस्थालाई क्रमशः शब्दको अतिप्रयोग र हीनप्रयोग भनिन्छ ।
कानको उसलाई मनपर्ने कुरातिर खिचेर लैजाने र मन नपर्ने कुराबाट भगाउन खोज्ने जुन स्वभाव हुन्छ त्यसबाट जोगिँदै तथा सुनाइको हीनप्रयोग र अतिप्रयोगबाट मध्यप्रयोगमा अभ्यस्त बनाउने अभ्यासलाई कानको विषय अर्थात् शब्दलाई नियन्त्रण गर्नु भनिन्छ ।
आजकल मेरो बेस्ट फ्रेन्ड भन्दछन् । कोही मेरो लँगौटिया यार भन्दछन् । तीसँग अत्यधिक संगत गर्दछन् । घण्टौँ गफमा भुल्दछन् । यसको भित्री रहस्य के हुन्छ त भन्दा त्यहाँ दुवैले दुवैको कुरो काट्दैनन् । दुवै मित्रमा निःस्वार्थ भावना भएमा वा मित्रमा हुनुपर्ने गुण भएमा यसले कुनै असर गर्दैन तर स्वार्थको मित्रता भए यसले मानिसलाई गम्भीर संकटमा लैजान सक्दछ । यसैले मित्रसँग पनि सीमित मात्रामा मात्र सुख वा दुःखका कुरा गर्नुपर्दछ ।
सामुन्ने हुँदा मुखले चेपारो घस्ने तर अर्काको दुःखमा रमाउने र सुखमा डाह गर्ने खालको मन बढी हुन्छ । शब्दको यो मोहलाई नियन्त्रण गर्न नसके के हुन्छ त ? एउटा उदाहरण राख्न चाहेँ ।
शुचिर्दभाङ्कुराहारो विदूरभ्रमणे क्षमः ।
लुब्धकोद्गीतमोहेन मृगो मृगयते वधम् ।।
पवित्र कुशका मुना खाँदै टाढाटाढासम्म घुम्दै जान सक्ने मृग पनि सिकारीको गीत (वा संगीत) मा मोहित भएर मारिन पुग्दछ ।
यो शब्द विषयले गर्ने विनाशको अथवा कानलाई नियन्त्रण गर्न नसक्दा हुने विनाशको एक उदाहरण हो । मृग अत्यन्त चनाखो हुन्छ । तर, ऊ मिठो आवाज सुनेपछि सबै कुरा बिर्सेर त्यही आवाजतिर मन्त्र मुग्ध हुन पुग्दछ ।
धार्मिक, राजनीतिक, आर्थिक आदि कुनै पनि शब्द जालमा नपर्नू, पहिला नियत बुझ्न प्रयास गर्नू । हाम्रो देश पतन हुनुको एक प्रमुख कारण यही शब्दजाल हो । कोही सन्तका पछि त कोही नेताका पछि दृष्टिविहीन भएर कुदिरहेका हुन्छन्, नियत बुझ्न खोज्दैनन् । जब स्वार्थी तर मीठा कुरा गर्ने सन्त वा नेता जेल जान्छ अनि कालो अनुहार लिएर मरीच चाउरिए जसरी चाउरिँदै फर्किन्छन् ।
गन्ध विषय (नाक)
नाक अर्को एक इन्द्रियको नाम हो । यसले मानिसलाई बास्ना वा गन्धका बारेमा ज्ञान दिन्छ । ‘मेरो नाकले त केही थाहा पाउँदैन त’, ‘रुघा लागेर हो कि ?’ आदि कुरा सुन्नु आजकल अचम्मको विषय रहेन । नाकले किन काम गर्न छाड्दछ त ? पहिलो कुरा त नाकसम्बन्धी कुनै पनि रोगलाई बेवास्ता गर्ने आदत बसालेमा नाकका मसिना नसाले गन्धलाई दिमागसम्म लैजानै कार्य बन्द हुने गर्दछ यसैले गन्ध र बास्ना थाहा हुन छाड्दछ ।
दोस्रो कुरा अतियोग वा हीनयोग भयो भने पनि नाकले काम गर्न छाड्दछ । कुनै पनि कडा गनाउने वा कडा बास्ना आउने कुरा लगातार सुँघिरहने अवस्था वा आदत भए त्यसलाई गन्धको अतियोग भनिन्छ । बल गरेर बास्ना वा गन्ध सुँघ्ने अवस्था वा आदत भए त्यसलाई हीनयोग भनिन्छ । यस्तो परिवेशमा काम गर्ने मानिसको गन्ध थाहा पाउने क्षमता नाश हुन्छ । नाकले गन्ध थाहा पाउने हुनाले गन्धलाई नाकको विषय भनिन्छ । मिठो बास्ना वा कडा गन्ध मात्र सुँघ्ने आदत नबसाई सामान्य अवस्थामा राख्नु भनेको गन्ध विषयलाई नियन्त्रण गर्नु हो । यसो नगरे के हुन्छ त ? एउटा उदाहरण राख्न चाहेँ ।
उत्कर्तितुं समर्थोकपि गन्तुं चैव सपक्षकः ।
द्विरेफो गन्धलोभेन कमले याति बन्धनम् ।।
भावार्थ ः अगिपछि भए कमलका कोमल फूलका पत्तिलाई नै काट्न सक्दथ्यो । प्वाँख भएकाले बेलैमा उडेर पनि जान सक्दथ्यो । तर बास्नाले लोभिएको भँमरो दिउँस फुल्ने र राती चाउरिने कमलमा मस्तसँग रस चुस्दै बास्ना सुँघेर बस्दछ । उसलाई सूर्य अस्ताउन लागेको पनि थाहा हुँदैन । बिस्तारै कमल खुम्चिन्छ र त्यो भँमरो त्यही कमलभित्र च्यापिई निसासिएर मर्दछ ।
यसैगरी राती फुल्ने कमलमा पनि अनेक थरी कीरा च्यापिएर मरिरहेका हुन्छन् । यो गन्ध विषयले गर्ने विनाशको उदाहरण हो ।
रस–विषय (जिभ्रो)
जिभ्रो पाँच इन्द्रियमध्येको अर्को एक इन्द्रिय हो । मूलरूपमा अमिलो, पिरो, तितो, गुलियो, टर्रो र नुनिलो गरी ६ प्रकारका रस हुन्छन् । यी ६ रसको स्वादलाई समग्रमा मिठो र नमिठो भनी बताइने गरिन्छ । यी ६ स्वाद विकृत भएभछि तमतम्याइलो आदि अन्य स्वादको पनि जन्म हुन्छ । जिभ्रोले थाहा दिने रस भएकोले रसलाई जिभ्रोको विषय भनिन्छ । जिभ्रोले हरदम मिठो कुरा मात्र खान मन गर्दछ । तर, शरीरलाई मिठो कुराले मात्र फाइदा गर्दैन । नित्य ६ प्रकारकै रसको सेवन गर्नुपर्दछ । गुलियो रस शरीर वृद्धिका लागि अति आवश्यक रस हो, त्यसैले स्वभावतः शरीरले आफ्नो वृद्धि हुने अवस्थामा गुलियो रस बढी खोज्दछ । तर, यसबेलामा पनि अर्थात् सानै उमेरदेखि अन्य रस पनि खुवाउने वा खाने बानी गर्नुपर्दछ । शरीर वृद्धिको चरण रोकिएपछि गुलियो धेरै खाने गर्नु हुँदैन । जन्मेदेखि ३० वर्षभित्र मानिसको शरीर पूर्णरूपमा विकसित हुन्छ ।
६ वटै रस दिनहुँ खानाले र सम्भवभएसम्म कुनै पनि २ वा ३ रस एकैठाउँमा पहिले नै मिसाएर नखानाले शरीरमा रोग लाग्ने सम्भावना कम हुन्छ । अधि रस हुने हर्रो, अमला, लसुन आदि प्रयोग गर्नु उचित हुछ । मानिस मिठो खान पाएपछि सबै थोक बिर्सन्छन् । अझ अर्काको घरमा गएर मिठो खान पाए बढी खुसी हुन्छन् । ‘अल्छी तिघ्रो स्वादे जिभ्रो’ शरीरका लागि हानिकारक हुन्छ ।
जिभ्रोको अर्को काम शब्द सञ्चार गर्नु पनि हो । नीतिमा नरम वचन बोल्नु अर्काको चित्त दुख्ने शब्द वा आवाज ननिकाल्नु भनिएको छ । कठोर हुनाले दाँत चाँडै झर्दछ तर नरम हुनाले जिभ्रो आजीवन जस्ताको तस्तै रहन्छ । समग्रमा भन्नुपर्दा स्वादका वशमा जिभ्रोलाई जान नदिनु नै रस–विषय नियन्त्रण गर्नु हो । एउटा श्लोक राख्न चाहेँ ।
अगाधसलिले मग्नो दूरेकपि वसतौ वसन् ।
मीनस्तु सामिषं लोहमास्वादयति मृत्यवे ।।
अथाह पानीमा आनन्दसँग डुबुल्की मारिरहेको र अत्यन्त टाढा रहेको माछा बल्छीमा अड्काइएको एक टुक्रा मासुको लोभमा ज्यान गुमाउन पुग्दछ । यो रस–विषयले गर्ने विनाशको उदाहरण हो ।
रूप–विषय (आँखा)
शरीरका ५ इन्द्रियमध्ये अर्को इन्द्रियको नाम आँखा हो । कुनै पनि कुराको रूपको ज्ञान आँखाले गराउँदछ । यसैले रूपलाई आँखाको विषय भनिन्छ । स्वतन्त्र छाडिएको आँखाले शरीरको स्वस्थता वा अस्वस्थताको मतलब गर्दैन, उसलाई के मन पर्दछ त्यो मात्र हेर्न खोज्दछ । लगातार तेजिलो कुरा हेरिरहनाले तथा मसिना कुरालाई बलपूर्वक हेरिरहने गर्नाले आँखाको दृष्टिक्षमता नाश हुन्छ । यसलाई क्रमशः अतियोग र हीनयोग भनिन्छ ।
मोबाइल वा टेलिभिजन आदि हेरिरहने बानी, त्यसमा पनि अमुक विषय मात्र हेरिरहने बानी, राम्रा कुरा मात्र हेर्ने बानी, मनलाई वेचैन नबनाउने कुरा मात्र हेर्ने बानी, सुन्दरताप्रति अति आकर्षित हुने जस्ता बानी गर्नाले यसको विपरीत अवस्थालाई शरीरले नसहने स्वभाव विकसित हुन्छ । शरीरलाई सिधा राखी सिधा नहेर्ने बानीले आँखा नै टेढो हुन्छ । सुतेर पढ्ने वा हेर्ने बानीले दिमागलाई असर गर्दछ । आँखाको काम सबै कुरा हेर्नु हो । उसलाई जे मन पर्दछ त्यो मात्र हेर्न दिइनु भनेको रूप–विषयमा फस्नु हो । यो विषयमा फसेपछि के नतिजा हुन्छ त ? एउटा उदाहरण राख्न चाहेँ ।
स्निग्धदीपशिखालोकविलोलितविलोचनः ।
मृत्युमृच्छति सम्मोहात् पतङ्गः सहसा पतन् ।।
तेलयुक्त बत्तीको ज्वालाबाट निस्कने प्रकाशप्रति मोहित भएर चञ्चल आँखा हुने पुतली एक्कासि बत्तीको ज्वालामा परेर मर्न पुग्दछ । यो रूप विषयले गर्ने विनाशको उदाहरण हो ।
बत्तीको कुरा आएका हुनाले थप केही जानकारी गराउन चाहेँ ।
पहिले पहिले (कसैकसैले अहिले पनि) हरेक घरमा साँझको बत्ती बाल्ने चलन थियो वा छ । ‘शुभं भवतु कल्याणं आरोग्यं सुखसम्पदा । मम ज्ञानप्रकाशाय (शत्रुविनाशाय) दीपोज्योति नमोस्तुते’ भनिन्थ्यो । यसको धार्मिक कारण लक्ष्मीको स्वागत गर्नु हो । यसको वैज्ञानिक कारण भनेको पुतली आदिजस्ता आँखाले देखिने र साँझमा मानिस वा घरपालुवा जनावरलाई हमला गर्न अधिकार प्राप्त अदृश्य कीटाणु वा जीवलाई आकर्षित गरेर मार्नु हो । पहिलेपहिले गोठमा पनि साँझको बत्ती बाल्ने नियम थियो । तपाईंसँग आइग्लास वा सूक्ष्मदर्शक यन्त्र छ भने साँझमा बालिने बत्तीको मन्तिर के के मरिरहेको हुन्छ आफैँ देख्न सक्नुहुन्छ ।
‘आँखाको तिरीमिरी …झ्याइँ वा ¥याइँ’ यो उखान सम्झना नै होला । रूप–मोहमा आँखालाई फस्न नदिनु नै चक्षुरिन्द्रियलाई वशमा पार्नु हो ।
स्पर्श–विषय (छाला)
मानिसको अर्को ज्ञानेनिन्द्रयको नाम छाला हो । चिसो, तातो, कडा, मुलायम, छुने लोभ र छुनबाट हुने वितृष्णा आदिजस्ता कुरा छालाले ज्ञान दिने गर्दछ । एलर्जी एवं यौनसुखको एक भाग पनि छालाले ज्ञान दिने गर्दछ । छालाले दिने यी सबै ज्ञानलाई एउटै शब्दमा भन्नुपर्दा स्पर्शज्ञान भनिन्छ । त्यसैले छालाको विषय स्पर्श हो ।
यसलाई पनि अतिप्रयोग र हीनप्रयोग गर्नु हुँदैन । अत्यन्त तातो वा अत्यन्त चिसो कुरा छुने अभ्यासले छालाले कालान्तरमा स्पर्शज्ञान नै पाउन छाड्दछ । यसैगरी अत्यन्त नरम वा अत्यन्त कडा कुरा मात्र छुन खोज्ने छालाले पनि कालान्तरमा कडा र नरम कुराको वास्तविक ज्ञान नै पाउन छोड्दछ । विपरीत लिंगीलाई छुन खोज्ने अनियन्त्रित उत्तेजनालाई नियन्त्रण नगरिए त्यसबाट अनेक थरी अपराध वा रोग हुन सक्दछ । छालालाई चिसो र तातो, कडा र मुलायम तथा मन परेको कुरा छुन पाउने र नपाउने अवस्थाको बीच स्थितिमा राख्नु भनेको नै स्पर्श इन्द्रियलाई नियन्त्रण गर्नु हो । छालाको चाहनालाई स्वतन्त्र छाडिदिए के हुन्छ ? एउटा उदाहरण राख्न चाहेँ ।
गिरीन्द्रशिखराकारो लीलयोन्मूलितद्रुमः ।
करिणीस्पर्शसम्मोहाद्वन्धनं याति वारणः ।।
पहाडको टाकुरोजस्तो अग्लो र ठुल्ठूला रूख पनि ख्यालख्यालमै उखेलेर फाल्ने क्षमता भएको हात्ती ढोईको स्पर्शमा मोहित भई बन्धनमा बाँधिने गर्दछ ।
यो स्पर्श विषयले गर्ने विनाशको उदाहरण हो । जंगलको हात्तीलाई वशमा पार्न पालिएको पोथी हात्ती (ढोई) लाई लगिन्छ । मदले उन्मत्त हात्ती ढोईको उपस्थिति थाहा पाएपछि उसलाई छुन (सहवास गर्न) उत्ताउलो भएर पछि लाग्दछ । बीचमा उसलाई फसाउन धराप राखिएको हुन्छ र मत्ता हात्ती ढोईको पछि लाग्दालाग्दै त्यही धरापमा गएर फस्दछ ।
स्पर्शका विषयलाई नियन्त्रण गर्न सकिएन भने यौनरोग, यौन अपराध र यौन विकृति बढ्ने मात्र होइन वास्तविक स्पर्श ज्ञानको आनन्दबाट समेत छाला अनभिज्ञ हुन थाल्दछ । हुरीमा बसिरहने मानिसलाई मन्द पवनको आनन्द थाहा हुँदैन । मन्दपवनमा बसिरहने मानिसले सामान्य हुरी पनि झेल्न सक्दैन । तातो हावा वा तातो कुराको मात्र संसर्ग गरिरहने मानिसले चिसो कुरा सहन सक्दैन । चिसो कुराको मात्र स्पर्श गरिरहने मानिसले तातो कुरा सहन सक्दैन । छालाको विषय अर्थात् स्पर्श ज्ञानलाई बीचको अवस्थामा राख्नु नै स्पर्श विषय नियन्त्रण गर्नु हो । छालालाई के कुरा मन पर्दछ त्यसमा मात्र अभ्यस्त हुन नदिनु नै स्पर्श विषय नियन्त्रण गर्नु हो । प्रायः सबैथरी छालाको एलर्जीको एक कारण पनि यही हो । एसीमा बसिरहने मानिस बाहिरी हावा सहन सक्दैनन् । बाहिरी हावामा मात्र बसिरहने मानिसलाई एसी मन पर्दैन । रुघाले भेटि हाल्दछ । छालालाई सबै थरी वातावरणमा अभ्यस्त पार्नुपर्दछ । एउटा मात्र कुरामा बानी लगाउनु हुँदैन ।
यहाँ ५ ज्ञानेन्द्रिय (आँखा, कान, जिभ्रो, छाला र नाक) नियन्त्रण गर्नुपर्ने केही कारण उल्लेख गरियो । यसैगरी ५ कर्मेन्द्रिय (मुख, हात, गोडा, मलद्वार र जननेन्द्रिय) हुन्छन् र तिनलाई पनि नियन्त्रण गर्नुपर्दछ । ५ ज्ञानेन्द्रिय र ५ कर्मेन्द्रियलाई नियन्त्रण गर्ने अभ्यास नगर्दासम्म ११औँ इन्द्रिय अर्थात् मन आफ्नो वशमा हुँदैन । मन नियन्त्रण गर्न नसकिएसम्म ध्यान गर्न सकिँदैन । ध्यान गर्छु अब भनेर बस्दा मन भने विश्वब्रह्माण्ड घुम्न थाल्दछ । ध्यानबिना शान्ति र मोक्ष प्राप्त गर्न सकिन्न । म अत्यधिक प्रचलित अंग्रेजी शब्द (ऋबmि मयधल) शान्त बन स्मरण गराउन चाहन्छु ।
प्रतिक्रिया