‘कमेडी दरबार’ असार मध्यमा

काठमाडौँ । टेलिभिजन कमेडी सो ‘कमेडी दरबार’ आगामी १४ असारबाट प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्ने यो सो प्राइम टाइम टेलिभिजनमा हरेक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण हुने बताइएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा फस्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरूको लुक्स सार्वजनिक गरिएको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमला लगायतले कमेडी दरबारलाई शुभकामना दिएका थिए । कमेडीको विधामा अर्को नयाँ सो थपिँदा आफूलाई निकै खुसी लागेको कलाकार दीपाश्रीले बताइन् ।

यस्तै विशाल भण्डारीले आफूहरूसँगै काम गरेका साथीहरूले नयाँ सो ल्याउँदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए । पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिइओ विकास लामिछाने, प्रबन्ध निर्देशक एलिजा गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिति थियो ।
कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै छिन् । उनले कमेडीको क्षेत्रमा नयाँ सोच भएका युवाहरूसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । उनीसँगै अभिनेता विजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, मिस पबीसँगै कमेडियनहरू हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिकाबारे जानकारी गराएका थिए । उक्त सोका लागि कलाकार व्यवस्थापन तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं छन् । सोको क्रियटिभ प्रमुखमा विकास अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईंटेल छन् ।

प्रतिक्रिया