‘सुगुप’ को विशेष प्रदर्शन

काठमाडौँ । लिम्बू सांस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ पूर्वाञ्चलको विभिन्न सहरमा विशेष प्रदर्शन भइरहेको छ । काठमाडौँ र ललितपुरमा सम्पन्न विशेष प्रदर्शनमा अत्यधिक रुचाइएको चलचित्र ‘सुगुप’लाई पूर्वेली दर्शकहरूले पनि औधि मन पराएका छन् । धरान, इटहरी, बिर्तामोड, झापा, भद्रपुर लगायतका स्थानमा विशेष प्रदर्शन भइरहेको सुगुपको कोसी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा आयोजिक कार्यक्रममा ‘सुगुप’को वल्र्डवाइड प्रिमियर प्रदर्शनको पोस्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र ‘सुगुप’लाई प्रायोजन गर्ने संघसंस्था र आआफ्नो स्थानबाट सहयोग गर्नुहुनेहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।

एकपछि अर्को विशेष सो हँुदै आएको ‘सुगुप’ ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आगामी लाखे जात्राको अवसरमा प्रदर्शन हुने भएको छ । २९ वैशाखमा शनिबार विर्तामोडमा भएको प्रदर्शनमा दर्शकको भिडलाई व्यवस्थापन गर्न निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो । लोकेन साँबा लिम्बूको निर्देशन रहेको ‘सुगुप’मा मौसम इम्बुङ, प्रेम सुब्बा, यासेलि योङहाङ, बबिता नेयोङहाङ लिम्बु, सुम्निमा खापुङ, डम्बर कुमारी पयाङ्गु, निता लिम्बु योमन सोदेम्बा तीर्थराज मादेम्बा लिम्बुलगायत कलाकारहरूको जीवन्त अभिनय रहेको छ । प्रस्तुतकर्ता एवं मुख्य निर्माता रबिन कुमार नाल्बो, निर्माता शैलेन्द्रकुमार नाल्बो र दिलमाया लाबुङ नाल्बो, सह निर्माता एलपि साँबा लिम्बु, मनिसा सुब्बा नाल्बो, श्रीप्रसादको लगानी रहेको छ ।

प्रतिक्रिया