आजदेखि बजेट अधिवेशन

काठमाडौँ । आजदेखि प्रतिनिधिसभाको बर्खे अधिवेशन बैठक सुरु हुँदैछ । आज दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको चौथो अधिवेशनका रुपमा बर्खे अधिवेशन सुरु हुन लागेको हो । यसका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूचीसमेत तयार पारेको छ ।

कार्यसूची असअनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका सांसदहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद्को तेस्रो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसद् अवरोध गरेको थियो । शुक्रबारको बैठकमा भने कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने बताएको छ । साथै, उनीमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया