घरेलु उद्योगमा महिलाको आकर्षण

वीरगन्ज । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले पर्साका महिला उद्योग दर्ता गर्न आकर्षित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रममा सुधार देखिएको छ । कार्यालयका अनुसार साउनदेखि चैत मसान्तको अवधिमा जिल्लामा ७३९ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

नयाँ दर्ता भएका उद्योगमध्ये महिला उद्यमी सञ्चालक भएको संख्या भने ३२९ छ । त्यस्तै पुरुष उद्यमी सञ्चालक रहेको उद्योगको संख्या भने ४४७ छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहले तराई–मधेस जस्तो ठाउँमा महिला उद्यमी सञ्चालक भएर नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्ने प्रवृत्तिमा क्रमशः सुधार आइरहेको बताए ।

‘एक दशकअघिसम्म महिला उद्यमी सञ्चालक भएर खासै धेरै उद्योग दर्ता हुँदैनथे, सबैजसो पुरुष उद्यमी सञ्चालक भएका नयाँ उद्योग दर्ता हुने गर्थे,’ उनले भने, ‘सरकारले महिला उद्यमी सञ्चालक भएको नयाँ उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेसँगै अहिले महिला उद्यमी सञ्चालक भएका उद्योग दर्ता हुने क्रम बढेको छ ।’

सरकारले दलित/महिला र पुरुषका नाममा दर्ता हुने घरेलु तथा साना उद्योगलाई पनि ३५ प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ । कार्यालयका अनुसार अझैसम्म पनि पुरुषकै स्वामित्वका उद्योगको संख्या धेरै छ ।

चालु आवमा दर्ता भएका नयाँ उद्योगले ३ हजार २५४ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये १ हजार ९०४ पुरुष र १ हजार ३५० महिलालाई रोजगारी दिने क्षमता छ ।
कार्यालयले चालु आवको ९ महिनाको अवधिमा नयाँ साना तथा घरेलु उद्योग दर्ता गरेबापत ५९ लाख ८२ हजार ४०० रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार आव २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । गत वर्ष दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको संख्या ४५० र पुरुष उद्यमीको स्वामित्व भएको संख्या ६५४ छ ।

गत आवमा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले ५ हजार ४६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये ३ हजार २४७ पुरुष र १ हजार २१३ महिलालाई रोजगारी दिन सक्ने क्षमता छ ।
कार्यालयले गत आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट १ करोड ६ लाख ३९ हजार २५० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया