अर्बौंको सम्पत्ति कवाडी बन्दै

अझै ५०/६० वर्षलाई थेग्ने गरी भौतिक संरचना भएको गोरखकाली रबर उद्योगका बिग्रेका उपकरण बनाउन र प्रविधि फेर्न थप केही लगानी गरे उद्योग पुनः सञ्चालन गर्न सकिनेमा सरकारले घोषणाबाहेक केही गरेन

काठमाडौँ । ९ वर्षदेखि बन्द रहेको देशकै एकमात्र टायर उत्पादन गर्ने उद्योग गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने घोषणा भएको १ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममै रुग्ण अवस्थामा पुगेको रबर उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आए पनि कार्यान्वयनको चरणमा भने प्रवेश नै गरेको छैन । सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि उद्योग सञ्चालनका लागि प्रक्रिया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जुन सेन ओलीले बताए ।

‘मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो । तर, उद्योग सञ्चालनको गृहकार्य अघि बढेको छैन,’ उनले भने । मन्त्रालयले रुग्ण तथा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि २०७८ सालमा प्रारम्भिक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको निर्देशक ओलीले बताए । ‘हेटौँडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई दिनेबारे सरकारले छलफल चलाइरहेको छ । तर, गोरखकाली रबर उद्योग सञ्चालनको ढाँचा र लगानी स्रोतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने । सरकारले नीति तथा कार्यक्रममार्फत् गरेको निर्णयले आशा जगाए पनि घोषणा कार्यान्वयन हुनेमा भने संशय कायमै छ । यसअघि पनि गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने घोषणा भए पनि कार्यान्वयन भने भएनन् ।

२०४९ साल साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण २०७२ सालदेखि पूर्ण रूपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत २८० कर्मचारीलाई २०७६ फागुनमा ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् ।

गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीमा ६६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झन्डै १० अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको उद्योगमा २५ वर्ष काम गरेका दिनेश कार्कीले बताए । सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनः सञ्चालन गर्न सकिने उनले बताए । ‘५०/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना छ,’ उनले भने, ‘बिग्रेका उपकरण बनाउन र प्रविधि फेर्न थप लगानी गरे पुग्छ ।’ कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक ‘बायस’ प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । ‘रेडियल प्रविधिमा जाने हो भने ५० करोड रुपैयाँभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ,’ उनले भने ।

यसअघि मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि गोरखकाली रबर उद्योगलाई पुनःसञ्चालन गर्न सकिने भनेर औँल्याएको थियो । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले संघ सरकार र प्रधानमन्त्रीबाटै प्रतिबद्धता आएकाले आफूहरू उद्योग सञ्चालन हुनेमा आशावादी रहेको बताए । ‘जिल्ला र स्थानीय स्तरबाट पनि पहल हुँदै आएको छ, तर अहिलेसम्म प्रयास सार्थक बन्न सकेको छैन,’ उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको अवधारणमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ सरकारले उद्योग सञ्चालनको घोषणा गर्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्न सक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको मगरको भनाइ छ । ‘बजारमा रहेको भारतीय टायरको बर्चस्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ,’ उनले भने, ‘स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा यसले ठुलो मद्दत पुर्याउँछ ।’ लगानी र नयाँ प्रविधि भित्र्याएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत सर्वसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् । राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवद्र्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया