दिव्याको फिल्म एक्टरको मुहुर्त

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्दै छिन् । फिल्मको मंगलबार एक कार्यक्रमकाबीच शुभमुहूर्त भएको छ । मुहूर्त कार्यक्रममा उनी पनि सहभागी थिइन् । कार्यक्रममा फिल्मका लागि आफू निकै उत्साहित रहेको उनले बताइन् ।

दिव्या लामो अमेरिका बसाइँपछि नेपाल आएकी हुन् । नेपाल फर्किएको विषयमा उनले भनिन्, ‘जन्मभूमिलाई कर्मभूमि बनाउन मन थियो । त्यसैले फर्किएँ ।’ ‘मलाई बच्चादेखि नै फिल्ममा अभिनय गर्ने मन थियो’, उनले भनिन्, ‘पहिलेदेखि नै यसका लागि विभिन्न तयारी गरेकी छु ।’

अमेरिकामा रहँदा आफूले अभिनयका विभिन्न विधासमेत सिकेको उनले खुलाइन् । फिल्ममा दिव्या अभिनेता प्रदीप खड्काको जोडीको रूपमा देखिँदै छिन् । फिल्म ‘प्रेमगीत’ फिल्म हेरेदेखि नै आफू प्रदीपको फ्यान भएको बताएकी उनले भनिन्, ‘प्रदीपसँग जोडी बाँध्न पाउनु गर्वको कुरो हो ।’

हुन त दिव्याको यसअगाडि पनि फिल्ममा डेब्युको कुरो आएको थियो तर हुन सकेन । आफूलाई पहिलेदेखि नै फिल्मको अफर आए पनि डेब्युको अवसर भने ‘एक्टर’बाट जुरेको उनको धारणा थियो । ‘फिल्ममा आफू पोखराकी एक युवतीको भूमिकामा देखिन लागेको उनले बताइन् ।

प्रतिक्रिया