जर्मनीको फ्रयान्कफर्टमा रञ्जु यादवको एकल चित्रकला प्रर्दशनी

काठमाडौं । मिथिला चित्रकार रञ्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन् । उनले युरोपका जम्मा ४ देशको भ्रमण गर्ने छन् भने ३ देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरू प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरूको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कूटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे ।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए । नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब २५० जना नेपाली र जर्मन नागरिकहरू कार्यक्रममा सहभागी थिए भने उनीहरूले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्र्यान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरूलाई जोड्ने काम गरेको बताए । त्यस अवसरमा उनले राजदूत खड्का, चित्रकार यादव, फ्र्यान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरूलाई उहाँहरूको गरिमामय उपस्थितिका लागि धन्यवाद दिए ।

नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए । त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरू पस्किएको थियो ।

प्रतिक्रिया