नयाँ दिल्ली । बलिउडका स्टार आमिर खानका भाञ्जा इमरान खानले गरेको पुनरागमनको प्रयासमा झट्का लागेको छ । इमरान गएको एक वर्ष यता अभिनेता एउटा वेब सिरिजलाई लिएर चर्चामा थिए । मेकरहरूले यो वेब सिरिजलाई रद्द गरिदिएका छन् । अहिले इमरानसँग कुनै पनि प्रोजेक्ट छैन । आफ्नो पुनरागमनका लागि अब कति समय लाग्न सक्छ भन्ने कुरामा यी अभिनेता नै अनभिज्ञ छन् ।
इमरान ‘कयामत से कयामत तक’ र ‘जो जीता वही सिकन्दर’मा बाल कलाकारको रूपमा देखिएका थिए । उनले सन् २००८ मा निर्देशक अब्बास टायरवालाको फिल्म ‘जाने तू या जाने ना’बाट नायकको रूपमा ठूलो पर्दामा डेब्यु गरेका थिए । उनको यसपटकको ठूलो पर्दाको यात्रा पनि धेरै समयसम्म टिक्न सकेन । त्यसपछि लगातार फ्लप फिल्ममा देखिएका इमरानको अन्तिम फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । त्यसयता उनले आफ्नो अधिकांश समय विदेशमा बिताइरहेका छन् । जन्मजात अमेरिकी नागरिक इमरान विगत दुई वर्षदेखि ओटिटीमा केही गर्ने ताकमा थिए ।
निर्देशक अब्बास टायरवालाले गत वर्ष इमरान खानसँग डिटेक्टिभ सिरिज बनाउने योजना बनाएका थिए । चर्चित ओटिटीले पनि यसका लागि सकारात्मक संकेत दिएको थियो । सोही वर्षको सुरुदेखि नै यस सिरिजबारे नयाँ छलफल सुरु भयो । ओटिटीले जस्तो खालको भारतीय जासुस शृंखला बनाउन चाहेका थिए सो इमरानको वेब सिरिजमा देखिएन । यस योजनामा सिरिजको बजेट पनि बाधा बनिरहेको थियो । अन्ततः ओटिटीले यो सिरिज रद्द गर्ने निर्णय ग¥यो ।
वेब सिरिज रद्द भएपछि इमरान निराश भएका छन् । उनी जे हुन्छ, राम्रोका लागि हुन्छ भन्ने विश्वासमा छन् । वेब सिरिजलाई लिएर अहिले उनको टोन फेरिएको छ । ‘हिंस्रक कहानी मलाई खासै मन पर्दैन । हरेक विवादको समाधान बन्दुक हुन सक्दैन । धेरै हिंसा भएका कथाहरू समाजका लागि पनि राम्रो होइनन् । हिंसात्मक कार्यहरू स्वभाविक वा प्राकृतिक न्यायको साथमा हुँदैनन् भने त्यस्ता कथाहरू भन्नु उचित होइन’, उनले भनेका छन् ।
यतिबेला इमरान खानसँग कुनै फिल्म वा सिरिज छैन । सिरिज बन्द भएपछि क्यामेराको अगाडि इमरानको पुनरागमन अस्पष्ट भएको छ । आफ्नो पुनरागमनका लागि अभिनेताले मामा आमिर खानसँग पनि लामै कुरा गरेका थिए । तर, यति बेला आमिर आफ्नो सारा ध्यान छोरा जुनैदको ठूलो पर्दामा डेब्यूमा लगाइरहेका छन् ।
प्रतिक्रिया