मनसरा टिम देशव्यापी दौडाहमा

काठमाडौं । ‘मनसरा’ को निर्माण पक्षले सो फिल्म मिश्रित समाजको कथा भएको जनाएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र मिश्रित समाजको कथालाई समेटिएको बताएको हो । चलचित्र २१ वैशाखमा देशैभर रिलिज हुँदै छ । चलचित्रको प्रचारप्रसारका लागि निर्माण पक्ष देश दौडाहमा छ ।

चलचित्र निर्देशक एवं लेखक उपेन्द्र सुब्बाले समाजमा भएका घट्नाहरूलाई आधार बनाएर सिनेमा निर्माण गरिएको बताए । ‘मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउनेछन्’, उनले भने । सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि सिनेमामार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजिएको उनले सुनाए ।

निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पूर्वतिर पाइने धान जसको डाँठ अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाए तापनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसँग जोड्ने प्रयास सिनेमामा गरेको उनले बताए । अभिनेता प्रवीण खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । सामाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारमा बसेर हेर्न मिल्ने उनको भनाइ छ । उनी सिनेमामा साधारण कृषकको भूमिकामा देखिएका छन् ।

नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन् । जारीमा दर्शकबाट पाएको मायास्वरूप मनसराको आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन् । कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिकाअनुसार नै आफूलाई चलचित्रमा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भूमिकालाई आफूले सक्दो निभाउने प्रयास गरेको उनले बताइन् । अभिनेत्री मेनुका प्रधान चलचित्रमा आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा ढुक्क छिन् । सामाजिक कथा भएकाले चलचित्र हेर्न हलसम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।
कार्यकारी निर्माता सिजन दाहालले चलचित्र छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए । कमर्सियल चलचिलमा जत्तिकै लगानी मनसरामा लागेको उनको भनाइ छ ।

प्रतिक्रिया