जंगलमा डढेलो लागेपछि गाउँ मात्रै होइन, घरभित्रै छिर्छन् जनावर

गलेश्वर । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।

जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजीमा गाउँ पसेको स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्’, मंगला–५ का किसान टीकानाथ कँडेलले भने ।

कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिए जस्तै भयो ।’

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरा समेत खाइदिन थालेको उनले बताइन् । खेतबारीमा बाँदर र बँदेलले तथा घर–आँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनै जसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती–बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

वन क्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जंगलमा डढेलो लागेपछि बेसीका बस्तीमा समेत पसेर दुःख दिन थालेको मंगला–५ छिस्वाङका निकेश पुनले बताए । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उनको भनाइ छ । बँदेलले राति मात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उनले बताए ।

जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतंक बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयौँ बच्चा यतै हुर्काइसकेको मालिका–१ का किसान टेकबहादुर विकले बताए । दुम्सी आफ्नो बस्तीमा छ्यासछ्यास्ती देखिने गरेको उनको भनाइ छ ।

बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वन क्षेत्रमा खाने कुराको अभाव हुनु, वासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती–बस्ती पसेको स्थानीय किसानले बताएका छन् ।– रासस

प्रतिक्रिया