सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या, एक जना पक्राउ

काठमाडौं । सप्तरीमा खुकुरी प्रहार गरी नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।बिहीबार सप्तकोशी नगरपालिका– १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । बिहीबार घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

सीसीटिभी फुटेजमा एक जना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको डीएसपी न्यौपानेले बताए ।

उनका अनुसार बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेको तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया