खराब निर्वाचन शैलीबाट असल नेता जन्मदैन

खराब प्रक्रियाबाट निर्वाचित जनप्रतिनिधिबाट असल कामको अपेक्षा कसरी गर्ने ? नेपालका राजनीतिक पार्टीका अधिवेशनहरु पनि यस्तै गरि संपन्न हुने गरेका छन । क्रियाशील र संगठित सदस्य बनाउदा देखि धाधली हुन्छ पार्टी भित्र । योग्य र आवश्यक होइन , आफ्नो मानिस छनौट गरिन्छ । पार्टी राजनीतिमा पनि पैसा र पावरको परिचालन हुन्छ । पद प्रतिष्ठा पाउन जालझेल र षड्यन्त्र हुन्छ ।

ताराबहादुर कोइराला

शान्तिसुरक्षा प्रदान गरेर मतदाताहरुलाई निर्वाध रुपमा मतदान गराउने जिम्मेवारी निर्वाचन आयोगको हो । मतदान नियमित रुपमा भइरहेको छ छैन वा कसैको हस्तक्षेप वा बल प्रयोगबाट प्रभावित छ कि के छ नियमन गर्ने काम पनि निर्वाचन आयोगकै हो । निर्वाचन आयोग अन्तरगत दुबै प्रहरी संगठन र त्यसको सहयोगकोलागी नेपाली सेना खटिएको हुन्छ । सुरक्षा चुनौती रहेका संभावित मतदान केन्द्रको पहिचान भैसकेको हुन्छ । यसकोलागी थप सुरक्षा ब्यवस्था मिलाएको पनि हुन्छ । कब्जा गर्ने र हस्तक्षेप गर्नेले बिहानै देखि सुरु गरेका हुन्छन् जसको खबर निर्वाचन आयोगले पाएन भन्ने अबस्था रहदैन ।

झन अहिलेको अत्याधुनिक संचार सुविधा भएको अबस्थामा सुचना नपाउने सम्भावना नै रहदैन । निर्वाचन अनुगमन र पर्यवेक्षणको लागि पत्रकार , मानवअधिकारबादि र राष्ट्रिय अन्तराष्ट्रिय पर्यवेक्षकहरु पनि उपस्थित हुन्छन् । कहिलेकाहीँ सुरक्षा निकायको काबु भन्दा परिस्थिति बाहिर हुनसक्छ । यसको रिपोर्टिङ आफ्नो च्यानलबाट गरेकै हुन्छ । यति हुदाहुदै पनि अपवादमा बाहेक सबै मतदानलाई बैधानिक मानेर मतपेटिका जिल्लामा ल्याएर बुझाउने काम हुन्छ । यसको पछाडि निम्न कारणहरु छन ।

जतिसुकै स्वायत्त भने पनि निर्वाचन आयोगले स्वतन्त्र रहेर काम गर्न सकेको छैन । हुनुपर्ने आँट , हिक्मत र साहस प्रमुख निर्वाचन आयुक्तहरुमा देखिएन । राजनीतिक भागबण्डाको आधारमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु नियुक्ति हुने परम्पराले गर्दा निर्णय गर्दा मुख हेर्न , दायाँबायाँको प्रतिक्रिया बुझ्ने र भविष्यमा आफुमाथि आइपर्ने जसअपजसको हिसाब गरेर निर्णय गर्न खोज्दा अनिर्णयको बन्दि बनेको देखिन्छ ।

मतदान केन्द्रको प्रमुख लगायत प्रहरीको मिलेमतोमा पनि बुथ कब्जा हुने गरेका छन भने प्रतिद्वन्द्वी कमजोर भएर प्रतिकार गर्न नसकेर पनि भएका छन् । कमजोर पक्ष भागीसकेको हुन्छ वा प्रतिकार गर्न सक्ने अबस्थामा हुदैन । कर्मचारी र प्रहरीलाई सहि ढंगले निर्वाचन हुनुनहुनु सँग सरोकार हुदैन । उनीहरू आफु सुरक्षित रहने र जसरी पनि निर्वाचन सक्नुमानै आफु सफल भएको ठान्दछन् । पर्यवेक्षक टोली आआफ्नो आस्था अनुसार रिपोर्टिङ गर्छन् । विदेशी टोली नेपालीहरुकै प्रभावमा काम गर्छ कि के हो । निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको प्रतिवेदन पेश गर्छ ।

यसरी बुथ कब्जा र पैसा खर्च गरेर जितेको मानिस जनताको सहि नेता कसरी हुन सक्दछ ? सक्षम र स्वाभिमान नेतृत्व कसरी मान्ने ? तर हाम्रो समाजले यस्तै नेताहरूलाई आदर्श मान्छ । बहादुर र सफल पनि । खराब प्रक्रियाबाट निर्वाचित जनप्रतिनिधिबाट असल कामको अपेक्षा कसरी गर्ने ? नेपालका राजनीतिक पार्टीका अधिवेशनहरु पनि यस्तै गरि संपन्न हुने गरेका छन । क्रियाशील र संगठित सदस्य बनाउदा देखि धाधली हुन्छ पार्टी भित्र । योग्य र आवश्यक होइन , आफ्नो मानिस छनौट गरिन्छ । पार्टी राजनीतिमा पनि पैसा र पावरको परिचालन हुन्छ । पद प्रतिष्ठा पाउन जालझेल र षड्यन्त्र हुन्छ । मतदान र मतगणनामा समेत धाधली हुन्छ । स्वच्छ प्रतिस्पर्धा माथि भरोसा छैन । नेताहरुको अनुकुल विधान बन्दछन र संशोधन हुन्छन । गुट मजबुत बनाउन र आफ्नो प्रभुत्व कायम राख्न योग्यता क्षमता र इतिहास होइन नेता प्रतिको भक्तिभाव अनि बफादारिता मापदण्ड बन्ने गरेको छ । पार्टी भित्रको यो गैर लोकतान्त्रिक परम्परा र चरित्र भ्रष्टाचार बढाउन र सुशासन बिथोल्नका लागि चुनौती मात्रै होईन घातक सिद्ध भएको छ ।

नेपाली कांग्रेसकै सन्दर्भमा कुरा गर्नु पर्दा पार्टी विधिविधान र पद्धतिले चलेको छैन । जसको शक्ति उसको भक्ति । गिरिजाप्रसादको शक्ति चल्यो गणेशमानले मर्ने बेलामा पार्टी छाडनु प¥यो । किसुनजीले रुदै प्रधानमन्त्रीबाट राजिनामा दिनु प¥यो र अन्तमा म काँग्रेस होइन भनेर हात्तीवन लाग्नु प¥यो । एमालेका सन्दर्भमा खड्ग ओलीको खड्गा मजबुत भयो सिपी , मोहनचन्द्र , माधव , वामदेव र झलनाथको बेहाल भयो । प्रचण्ड चमकिए । मोहन वैद्य , बाबुराम र सिपी गजुरेलहरु हराए । नेताहरुको कार्यशैली , महत्वाकांक्षा र चरित्र त बबर शमशेर , राजा महेन्द्र र ज्ञानेन्द्र भन्दा फरक देखिएन ।

नेपालका हरेक राजनीतिक परिवर्तनहरु पार्टीहरूका विचार र मान्यता नेता विशेषको चमत्कारिक ब्यक्तित्वले नभएर नेपाली जनता , राजनीतिक दल र नेताहरुको एकता , त्याग र साझा संकल्पले सम्भव भएको हो । नेताहरूको आह्वानमा नेपाल र नेपाली जनताको उज्ज्वल भविष्यको कामना गर्दै अनगिन्ती वीर वीरंगनाहरुले जीवन आहुती दिएका छन् । अमर सहिदहरुलाई स्मरण गर्दै नेपाली जनतालाई साक्षी राखेर प्राप्त राजनैतिक उपलब्धिहरुलाई आर्थिक सामाजिक क्षेत्रमा रुपान्तरण गरेर मुलुकको उज्ज्वल भविष्यकोलागि एक हुनुको विकल्प छैन । परिवर्तनकारी दलहरुले साझा प्रण गरेको दिन हाँसो हराएको नेपाली जनता मुक्त कण्ठले हास्नेछन् । कमजोर बनेको स्वाभिमान फेरि जाग्नेछ । एक पार्टी वा ब्यक्तिको प्रयासले मात्र बर्तमान संकटबाट देशलाई मुक्त गर्न सक्ने अबस्था नभएको कुरा नेताहरूले छिटो बुझ्नु आवश्यक छ ।

निजामती कर्मचारी र सुरक्षा निकाय

हाम्रो सुरक्षा निकाय र निजामती कर्मचारीको संगठनको जन्म राजा महाराजाहरु कै सेवा र संरक्षणकोलागि भएको हो । सरकारी सेवामा प्रवेश पाउन पनि चाकरी गर्नु पर्ने चलन थियो । राजाका नजिकका भाई भारदारहरु वा पुराना चाकरीदारले सिफारिस गर्नु पर्थ्यो । राजाकै सेवा गर्ने , हुकुम तामेल गर्ने र राजा प्रति सदा बफादार रहने उसको मुल कर्तब्य हुन्थ्यो । राजा वा राजाको प्रतिनिधिको आदेश नमाने उ बरखास्त हुनु पथ्र्यो । राम्रो वा नराम्रो मनले माने पनि नमाने पनि आदेश मान्ने बानी बसाल्नु अनिवार्य थियो । स्वामि भक्ति संस्कृतिबाट जन्मिएर हुर्किएको हो हाम्रो निजामती र सैनिक सेवा । राजाको सिंदुर परेपछि माथिकालाई जी हजुरी गर्ने र प्रजा अनि तलकालाई शासन जमाउने अधिकार पाउथ्यो ।

समयको परिवर्तन संगै संविधान र कानुनले अधिकार र कर्तव्य निर्देशित हुनथाल्यो । यो सेवा देश र जनता प्रति उत्तरदायी बनाईदै लगियो । भनिन्छ जंगबहादुरको मुलुकी ऐन १९१० र पद्म शमशेरले बनाएको नेपालीको संविधान २००४ ले कानुनी राज्यको अवधारणा अगाडि सार्यो । अझैसम्म ती पुराना आचरण र ब्यबहारहरुले हामीमा प्रभाव पारिरहेको छ ।

२०४६ को जनआन्दोलनमा निजामती कर्मचारीहरुको योगदानलाई कम मुल्यांकन गर्न मिल्दैन । राजा ज्ञानेन्द्रको आन्दोलन प्रतिको कठोर तथा निर्मम कदमलाई साथ नदिएर खासगरी नेपाली सेनाले देशलाई ठुलो रक्तपातबाट जोगाएकोमा उच्च मुल्यांकन गर्नै पर्छ । तर पनि हामीमा रहेको दास मनोवृत्ति समाप्त भएको थिएन । पार्टीमा पहिलेदेखि लागेका कर्मचारीहरुको बोलबाला र हालीमुहाली बढन थाल्यो । भनिन्छ गिरिजाप्रसाद पहिलोपटक प्रधानमन्त्री हुँदा विराटनगरबाट एकजना पियन सिधै फोन गरेर काम अह्राउथे । माधव नेपाल हुँदा बाणिज्य बैकको पियनको घरमा हाकिमहरुको गाडीका लाइन लाग्न थाल्यो । .

प्रतिक्रिया