कला र साहित्य

कला र साहित्यको अन्तरसम्बन्ध नङ र मासुको जस्तै छ । साहित्यमा कलाको चर्चा ईसापूर्व ३ हजार वर्षअघिदेखि हुन थालेको मानिन्छ । हुनत् मानिसले लिपीको प्रयोग गर्नुअघि नै चित्र तथा मूर्ति बनाउन थालिसकेका थिए । पाषाणयुगमा मानिसले एकअर्कासँग संवाद गर्दा आवाज, हाउभाउ तथा मुद्रा र रेखाचित्रको प्रयोग गर्दथे । पाषाणयुगदेखि नै मानिसले चित्रकर्म गरे पनि साहित्यको सुरुवात् भने मेसोपोटामियाको सभ्यतापछि नै भएको मानिन्छ । मेसोपोटामियाका पुरोहित राजा गिलगामेसको महाकाव्य नै अहिलेसम्म भेटिएको विश्वकै पहिलो साहित्य मानिन्छ । जसमा दैवीशक्ति र मानवशक्तिको रुपमा गिलगामेसलाई प्रस्तुत गरिएको छ ।

यस्तै, विश्वकै पहिलो लेखाई पद्धतिको विकास पनि मेसोपोटामिया सभ्यताअन्तर्गत पर्ने सुमेरियनले नै गरेका थिए । जसलाई ‘क्युनेफर्म’ नामबाट चिनिन्छ । जसमा उनीहरुले विभिन्न इतिहास, धार्मिक, आर्थिक विवरण, घटना तथा तथ्यलाई अभिलेख राख्दथे । वास्तवमा विविध घटना र परिवेशलाई अभिलेखीकरण गर्ने प्रचलन पनि यहीबाट सुरु भएको मानिन्छ । अभिलेखसँगै साहित्य लेखनको कामसमेत यहाँका मानिसले गरेका थिए ।

इजिप्टमा त चित्रात्मक लेखाइको विकास भएको थियो । जसलाई ‘हाइरोग्लिफ’ भनिन्थ्यो । विश्वमा विकास भएका मेसोपोटामिया, इजिप्ट, सिन्धुघाँटी, ग्रीक, रोमन लगायतका सभ्यतामा लेखाइ पद्धतिसँगै तिनमा कला, साहित्य, संस्कृति, धर्म तथा विविध सामाजिक प्रचलनको सुरु भएको पाइन्छ । सभ्यता विकासमा कला, साहित्य, संगीत तथा अन्य मानवीय क्रियाकलापको समानान्तर विकासले सघाउँ पुर्याएको पाइन्छ । विश्वमा जब दर्शनशास्त्र, सौन्दर्यशास्त्र, इतिहासका बारेमा परिचर्चा सुरु भयो त्यति बेलाबाटै कलाको विषयसमेत लेख्न थालियो ।

वैदिक वाङ्मयमा ईसापूर्व १५ सयदेखि नै कलाका बारेमा चर्चा हुन थालेको मानिन्छ । खासगरी विभिन्न देवदेवीको आकृति कस्तो हुनुपर्दछ भन्ने विषय वैदिक तथा पौराणिक वाङ्मयमा चर्चा गरेको पाइन्छ । कलामा प्रतिमालक्षणका रुपमा लिइने विभिन्न देवदेवी तथा पशुपंछी आदिको आकार र स्वरुपको नापजाँच ती वाङ्मयमा गरिएको छ ।

०००

कलालाई भाषिक रुपमा आममानिससँग संवाद गराउने माध्यम भनेकै वाङ्मय हो । ललितकलाको गरिमा र महत्वलाई आमपाठकसम्म पु¥याउन साहित्यको विशिष्ट भूमिका रहेको हुन्छ । हुनत् रङको भाषा सर्वमान्य हुन्छ तर यसको आयाम र परिवेशलाई बुझ्न लेखन वा साहित्यकै साहारा लिनुपर्दछ । ललितकलाको बारेमा आममानिसलाई बुझाउन, इतिहासलाई अभिलेखीकरण गर्न, समीक्षा गर्नका लागि पनि वाङ्मयकै भूमिका रहन्छ ।

लेखनले आममानिसमा कलाको मर्म, भाव, शैली र विषयवस्तुलाई सहज ढंगले संप्रेषित गर्दछ । यसका साथै ललितकला क्षेत्रको विकासमा समेत यसले प्रभावकारी भूमिका खेल्दछ । नागरिक, समाज र राज्यसँग कलालाई संवाद गराउन कार्यमा समेत लेखनले नै बढी प्रभावी रहँदै आएको छ । लेखन जति प्रभावकारी तथा शक्तिशाली हुन सक्यो कलाको सामाजिकीकरण, राष्ट्रियकरणका साथै अन्तर्राष्ट्रियकरणमा त्यसले सशक्त प्रभाव पार्न सक्दछ ।

कलामा आएका विषयलाई सामाजिक विषयसँग जोड्ने पुलको काम पनि लेखनले नै गर्दछ । विषयलाई प्रष्टीकरण, व्याख्या, समीक्षासँगै त्यसको आयतनलाई नाप्ने कार्यमा समेत लेखनको भूमिका विशिष्ट रहन्छ ।

०००

नेपालमा चित्रकला, मूर्तिकला तथा वास्तुकला बनाउने परम्परा प्राचीनकालदेखि नै सुरु भए पनि यिनका बारेमा यथेष्टरुपमा लिखित सामग्री पाउन सकिएको छैन । नेपाली कला लेखनको इतिहास यकिनका साथ भन्न नसकिने कतिपय प्रमाणसमेत हामीसँग छैनन् । प्राचीनकालमा ललितकलाका बारेमा विभिन्न शास्त्र, पुस्तक तथा शिलालेखमा चर्चा गरिएको प्रतिमालक्षण र अनुपात नै यसका लिखित दस्तावेज हुन् । खासगरी, त्यस्ता अभिलेखमा विभिन्न देवदेवीका चित्र तथा मूर्ति निर्माणमा तिनको नाप र प्रस्तुतिका विषयमा प्रतिमालक्षणका रूपमा वाङ्मयमा उल्लेख गरेको पाइन्छ । नेपालमा पाइएका अधिकांश प्राचीनकाल यताका कलाकृति प्रतिमाशास्त्रका आधारमा बनेको पाइन्छ । कलाकारले धार्मिक रूपमा बनाइने कलाकृति प्रतिमाशास्त्रकै आधारमा बनाइन्थ्यो । कला बनाउने प्रचलनसँगै यसका आधारभूत विषयमा समेत सुरु–सुरुमा जनश्रुति र पछि लिपिबद्ध रूपमा लेखेर राख्न थालिएको इतिहास पाइन्छ ।

विशेषगरी कलाको व्यवस्थित ढंगले लेखन कार्य ग्रीकबाट सुरु भएको मानिन्छ । कलाका आवश्यक आधारभूत सैद्धान्तिक विषयलाई अङ्गिकार गर्दै त्यसलाई लिपिबद्ध राख्नु र अर्को पुस्तामा पुस्तान्तरण गर्दै जाने काममा ग्रीकका लेखक तथा इतिहासकारको भूमिका विशेष रहेको छ । यसअघि मेसोपोटायिया तथा इजिप्ट सभ्यतामा उनीहरूका सांस्कृतिक मान्यतालाई व्यवस्थित र आममानिससम्म पुर्याउनका लागि कलाको उपयोग बढी नै हुन्थ्यो । दृश्यभाषाको प्रभाव मानिसमा तत्कालै पर्ने भएकाले प्राचीनकालदेखि नै दृश्यमा देखिने विषयलाई मानिसले उपयोगमा ल्याए ।

०००

नेपालमा भने ललितकलाको विषयमा कहिलेदेखि लेख्न थालियो यसका विषयमा कुनै लिखित प्रमाण भेटिएको पाइँदैन । विभिन्न हिन्दू, बौद्ध धर्म ग्रन्थमा उल्लेख गरिएका विभिन्न देवदेवीका शारीरिक अनुपातको नापका विषयमा लेखिएका सैद्धान्तिक विषयबाहेक कलाको चर्चा गरी लेखिएका ग्रन्थ या सामग्री खासै पाइएको छैन ।

०००

नेपालमा पत्रकारिता सुरु भएपछि समाजका विविध क्षेत्र सामाजिक सरोकारका विषय बन्न थाले । १९५८ सालमा गोर्खापत्रको प्रकाशन सुरु भएपछि यसले समाजका विविध पाटोलाई समाचारका विषय बनाउन थाल्यो । यसपछि नै कलाको विषय पनि सार्वजनिकीकरण सञ्चारमाध्यमबाट नै भएको मान्नुपर्दछ । १९९१ सालमा नेपालमा संस्थागत रूपले कला शिक्षाको सुरुवात् हुनु पनि महत्वपूर्ण घटना थियो । गोर्खापत्र या अन्य त्यसवेलाका पत्रपत्रिकाले त्यसको समाचार बनाए त्यो खोजीकै विषय भएको छ ।

नेपालमा पहिलोपटक कलाकै सन्दर्भमा केन्द्रित रहेर सत्यमोहन जोशीले ००८–०९ सालमा प्रकाशन गरेको ‘कलाकार’ त्रैमासिक हो । सुरुमा नेवारी भाषामा प्रकाशित यो पत्रिका नेपाली भाषामा समेत प्रकाशित थियो । यसले चित्रकला, मूर्तिकला, वास्तुकला, संगीत तथा साहित्यको विषयलाई महत्व दिएको थियो । २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि यसले नेपालको पुरातात्विक सम्पदा, कला, इतिहास, भाषा, संस्कृति, प्राचीन कलाका विविध पक्षका बारेमा केन्द्रित रहेर पुस्तक प्रकाशन गरेको देखिन्छ । यस्तै पुरातत्व विभागले समेत २०१० सालपछि नेपाली सम्पदा र पुरातात्विक महत्व राख्ने विषयमा अनुसन्धान गर्ने, जर्नल प्रकाशन तथा पुस्तक प्रकाशन गर्ने काम गरेको छ ।

०००

कलालाई समीक्षात्मक रुपमा जोड्ने काम भने २०१६–०१७ सालतिर गोर्खापत्रमा नारायणबहादुर सिंहको प्रवेशसँगै भएको देखिन्छ । यसपछि नेपाली कलाका बारेमा फाट्टफुट लेखिन थालियो । २०२० साल ताका गेहेन्द्रमान अमात्यले समेत गोर्खापत्र लगायतका पत्रपत्रिकामा कलासम्बन्धी लेखरचना प्रकाशन गरेको पाइन्छ । २०२२ सालमा नेपालमा कलाको संस्थागत विकास गर्ने उद्देश्य राखेर नेपाल ललितकला संस्था (नाफा) स्थापना भयो । यसले २०२३ सालमा कलाकार शिलुप्यारीको सम्पादनमा नाफाको मुखपत्र प्रकाशन भयो । त्यसको एक वर्षपछि त्यसको अर्को अङ्क निस्क्यो । २०२७ सालमा विजय थापाको सम्पादनमा कलाकार नामक अर्को पत्रिका निस्कियो । यसले पनि कला, साहित्य, संगीत तथा वास्तुकलाका विषयलाई समेट्यो । ०२७ सालमै नेपालमै पहिलोपटक नारायणबहादुर सिंहको ‘नेपाली चित्रकार’ नामक पुस्तक साझा प्रकाशनले निकाल्यो । यो पुस्तकमा त्यतिवेलाका नेपालका मूधन्र्य तथा जल्दाबल्दा २० कलाकारको जीवनीसहित उनीहरूको कृत्विका बारेमा चर्चा गरिएको छ । २०२० सालको दशकमा सिंहले गोर्खापत्रमा कलासम्बन्धी समीक्षात्मक लेख लेख्न थालेका थिए । गोर्खापत्रले मासिक रूपमा साहित्यिक पत्रिका मधुपर्कको प्रकाशन २०२५ सालबाट सुरु गर्यो । यस पत्रिकामार्फत कलाका विविध पक्षमा लेखनकार्यको सुरु पनि सिंहले नै गरे । यस पत्रिकाको महत्वपूर्ण जिम्मेवारीमा सिंह नै थिए । नाफाले ०२६ र ०३१ सालमा अङ्ग्रेजीमा आफ्नो मुखपत्र प्रकाशन ग¥यो । २०३२ सालमा नरसिंह भक्त तुलाचनको प्रकाशन, कुसुम तुलाचनको सम्पादनमा ‘कलाकृति’ नामक कला पत्रिका प्रकाशन भयो । यो पत्रिका प्रकाशनमा गेहेन्द्रमान अमात्यको सहयोग रह्यो ।

यसैगरी, २०३५ सालमा नेपालमै पहिलोपटक राजधानीबाहिर धरानबाट युवा कला केन्द्रको प्रकाशन र मुकेश मल्लको सम्पादनमा कलापत्रिका निस्क्यो । यो पत्रिका ३ अङ्कसम्म प्रकाशित भयो । नाफाले बेला बेलामा कलासम्बन्धी पत्रिका प्रकाशन गर्दै गयो । त्यस्तै, २०३४ सालमा पुसमा नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालमा कलाको विषयमा केन्द्रित रहेर गोष्ठीको आयोजना ग¥यो । यसमा उत्तम नेपाली, नारायणबहादुर सिंह, मनब्रज बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रलाई पछि पुस्तकको रूपमा प्रकाशनसमेत गरियो । नारायणबहादुर सिंहको २०३३ सालमै ‘कला एक अनुभूति एक चिन्तन’ नामक अर्को पुस्तक प्रकाशित भयो । नेपालमा कलालेखन, पत्रकारिता तथा अनुसन्धान कार्यमा नेपाल ललितकला संस्था (नाफा) ले केही काम ग¥यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पुरातत्व विभाग, साझा प्रकाशन लगायतले कलाका विषयमा रहेर केही प्रकाशनका काम गरेको देखिन्छ ।

०००

२०७४ सालसम्म आइपुग्दा नेपालमा कलालेखनमा निकै बृद्धि भएको छ । माध्यम, कला र कलाकार, तिसा, कलाकृति, आकृति, ललितकला द्वैमासिक, कलाकर्म, क्यानभास साप्ताहिक, फाइनआर्ट नेपाल डटकम, ललितकला समीक्षा, आर्टनेपाल, कलादृष्टि, ललितकला पत्रिका लगायतले कलाका विविध पक्ष र आयाममा रहेर कलालेखन तथा पत्रकारिता गरे । २०६६ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापनासँगै यसले प्रकाशन गरेका पुस्तक तथा बुलेटिन आदिले नेपाली कलालेखनको क्षेत्रलाई फराकिलो बनाउँदै लगेको छ ।

०००

कलालेखक सरोज ब्रजाचार्यले नेपालमा कलालेखनका सन्दर्भमा दस्तावेजको अभाव रहेको सुनाए । उनी भन्छन्, ‘नेपालको प्राचीनकालदेखि अहिलेसम्मका कलाकृतिको सहज दस्तावेजीकरण हुन सकेको छैन । पहिला यसमा काम हुनुपर्दछ तब कलालेखन तथा समीक्षाको विकासले गति लिन्छ । लेखनले मात्रै कलालाई चिनाउन र बुझाउन मद्दत गर्दछ । तसर्थ कलामा साहित्यको भूमिका अहम् रहेको छ ।’

कलाकार तथा लेखक तीर्थ निरौलाले कलालाई सर्वसाधारण जनतासम्म पु¥याउने एक मात्र माध्यम वा साधन अर्थात् संयन्त्र भनेको साहित्यिक लेखन, पत्रकारिता, समीक्षा भएको बताउँछन् । उनी भन्छन्, ‘कलाक्षेत्रमा भएका र भइरहने सम्पूर्ण कला गतिविधि र कलाकारका चिनारीलाई लेखका रूपमा, समीक्षाका रूपमा, पत्रकारिता वा सम्प्रेषणका अन्य माध्यमबाट समाजसम्म पु¥याउने भनेकै वाङ्मय हो ।’

पछिल्लो समय कलाका विषयलाई विभिन्न साहित्यिक, समाचारमूलक तथा अनलाइनले समेत स्थान दिँदै आएका छन् । पुस्तक प्रकाशनमा समेत साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट डिजाइन, लुम्बिनी बौद्ध विश्वविद्यालय, ललितकला क्याम्पस, सिर्जना कलेज, नेपाल आर्ट काउन्सिल, विभिन्न कलासम्बन्धी संघसंस्था, अरूपण आर्ट ग्यालरी तथा व्यक्तिगत रूपमा समेत पुस्तक तथा पत्रिका प्रकाशन गरेका छन् ।

प्रतिक्रिया