साहित्य सिर्जनामा उदाहरणीय बन्दै रेणु गुप्ता

मधेस प्रदेशमा निकै कम महिला साहित्य सिर्जनामा रहेका छन् । निकै कम महिलामा पनि साहित्यिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हुन्, रेणु गुप्ता । गुप्ताको हालै एउटा बालसाहित्यिक कृति प्रकाशित भएको छ, ‘मेला’ । बज्जिका भाषामा प्रकाशित ‘मेला’ नै यस भाषाको नेपालमा पहिलो बालसाहित्यिक कृति हो । यससँगै गुप्ताको प्रकाशित कृतिको संख्या सात पुगेको छ । २०५७ सालमा श्यामप्रसाद शर्माद्वारा लिखित ‘धर्मको बारेमा केही कुरा’ कृतिलाई भोजपुरीमा ‘धर्म के बारे मे कुछेक बात’ शीर्षकमा अनुवाद गरेर औपचारिक रूपमा साहित्यको क्षेत्रमा देखापरेकी गुप्ताको करिब अढाई दशकको यात्रामा सबैभन्दा बढी अनुवादकै कृति प्रकाशित छन् । शर्माकै ‘जातजातिका कुरा’लाई गुप्ताले भोजपुरीमा ‘जात जात के बात’ शीर्षकमा २०५८ सालमा अनुवाद गरेपछि केही समय कृति प्रकाशनमा सुस्तता आएको देखिन्छ ।

बाराको कलैया उपमहानगरपालिका–५ बरेवामा २०३५ सालमा माता सुमित्रादेवी र पिता महेन्द्रप्रसाद साहकी माहिली छोरीको रूपमा जन्मेकी गुप्ताको मातृभाषा भोजपुरी भए पनि बहुभाषिक साहित्यकार हुन् । भोजपुरी भाषाको पहिलो अनुवादिका गुप्ताको बज्जिका भाषामा पहिलो बालसाहित्यिक कृति प्रकाशित हुँदासम्म नेपालीमा पनि साहित्यिक कृति प्रकाशित भइसकेको छ । भोजपुरी, नेपाली र बज्जिकामा लेख्ने गुप्ताको ‘जोगी र चोरी’ प्रकाशित तेस्रो कृति हो । बालबालिकाले संकलन गरेका लोककथाहरूलाई संकलन गरी गुप्ताले सम्पादन गरी २०६० सालमा प्रकाशन भएको हो । यसबाट गुप्ता दुई दशकदेखि बालसाहित्य क्षेत्रमा क्रियाशील रहेको स्पष्ट हुन आउँछ । ‘जोगी र चोरी’ नेपाली भाषामा प्रकाशित बाललोककथा संग्रह हो ।

नेपाली र जनसंख्या गरी दुई विषयमा स्नातकोत्तर गरी मुख्य गरी शिक्षण पेसामा रहेकी गुप्ताको हेटौँडाका साहित्यकार गिरिजा अधिकारीको कविता संग्रह ‘इतिहास र लाल झा’ लाई बज्जिका भाषामा ‘इतिहास आ लाल झा’ भनी अनुवाद गरेकी छन् । बज्जिका भाषामा प्रकाशित गुप्ताको यो कृति २०७० सालमा प्रकाशित भएको हो ।

बज्जिका मातृभाषी क्षेत्रमा कार्यथलो भएको हुनाले साहित्यकार गुप्ताको हिमचिम बज्जिका साहित्यकारहरूसित हुनुका साथै बज्जिका साहित्यको कार्यक्रममा हुने गरेको छ ।

बहुभाषाका साथै बहुविधामा कलम चलाउने गुप्ताको मुख्य विधा आख्यान र काव्य हो । आख्यानको लघुकथामा गुप्ताको पहिचान बनेको छ । रौतहट जिल्लाबाट प्रकाशित पहिलो लघुकथा कृतिमा गुप्ताको पनि लघुकथा परेको छ । २०७९ सालमा प्रकाशित ‘रौतहटका लघुकथा’ गुप्ताको संयुक्त कृति हो । २०८० मा गुप्ताको ‘मेला’ प्रकाशित भएको छ भने २०८१ म प्रकाशन हुन थालेको छ – ‘बज्जिका लघुकथा’ । यो संयुक्त लघुकथा संग्रह हो । यो कृति प्रेसमा रहेको गुप्ताको भनाइ छ ।

सिर्जना साहित्य समाज रौतहटको संस्थापक अध्यक्ष रहेकी गुप्ताको नेतृत्वमा दर्जनौँ साहित्यिक कार्यक्रमहरू भएका छन् । यसकारण रौतहटको साहित्यिक जागरणमा गुप्ताको महत्वपूर्ण योगदान रहेको छ । यसै गरी ‘गौरी शंकर मिथिला वाङ्मय प्रतिष्ठान’ को वरिष्ठ उपाध्यक्ष, बुढ्यौली साहित्यिक समाज, मधेस प्रदेशको उपाध्यक्ष, बज्जिका साहित्य संगम रौतहटको उपाध्यक्षसमेत रहेकी साहित्यकार गुप्ताले साहित्यिक योगदानको विभिन्न संघसंस्थाबाट सम्मान पनि पाएकी छन् ।

२०५७ मै ‘लीलाधर मिश्र स्मृति पुरस्कार’ पर्साबाट प्राप्त गरेकी गुप्ताले ‘मानवअधिकार तथा शान्ति समाज’ केन्द्रीय कार्यालयले स्थापना गरेको राष्ट्रिय स्तरको ‘श्री नारायण दाहाल स्रष्टा सौगात’ २०७७ मा प्राप्त गरेकी छन् । समाजले पुरस्कार स्थापना गरेपछि पहिलो पुरस्कार पाउने साहित्यकार गुप्ता नै हुन् । यसैगरी लोकसाहित्यको क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै गुप्तालाई ‘एसएस लोकसाहित्य पुरस्कार’ २०७२ मा प्रदान गरिएको छ ।

अनेक पत्रपत्रिका तथा अनलाइनहरूमा हजारौँ लेखरचना तथा विभिन्न विधाका साहित्य सिर्जना छरिएर रहेको गुप्ताले पत्रपत्रिकामा पनि योगदान दिएको देखिन्छ । बज्जिका भाषाको पहिलो साहित्यिक पत्रिका ‘बज्जिकार्पण’मा सम्पादक रही काम गरेकी गुप्ता ‘नेपाल पत्रकार महासंघ, रौतहट शाखा’को पहिलो महिला पत्रकार सदस्यको रूपमा पनि सेवा गरिसकेकी छिन् । भाषा, साहित्य र पत्रकारिता आदि क्षेत्रमा योगदान दिएको भन्दै शिव–सावित्री प्रतिष्ठान नेपालले गुप्तालाई ‘शिव–सावित्री सम्मान’ २०७२ ले सम्मानित पनि गरिसकेको छ ।

यसैगरी जनकपुरमा रहेको ‘श्री सरस्वती राजनारायण प्रतिष्ठान’ले गुप्तालाई अभिनन्दनपत्रसहित ‘वीणादेवी पुरस्कार’ २०८० बाट सम्मानित र पुरस्कृत गरेको छ । गुप्तालाई कटहरिया नगरपालिकाले ‘जानकी महोत्सव सम्मान, २०७६’ तथा गरुडा नगरपालिकाले २०७५ मा ‘प्रशंसापत्र’ले पनि सम्मानित गरेको छ ।

लामो समयदेखि साहित्य सिर्जनामा लागिरहँदा कृतिहरूको संख्या बढ्ने तथा साहित्यको क्षेत्रमा पहिचान पनि कायम हुने बताउँदै साहित्यकार गुप्ता भन्छिन्, ‘साहित्यले खान त पुग्दैन तर साहित्यकारले पाउनुपर्ने सम्मान भने समाजले दिइरहेको हुन्छ ।’

समाजको उत्थानमा साहित्यको भूमिका महत्त्वपूर्ण हुने गुप्ताको भनाइ छ । संस्कृति बचाउन आफ्नो मातृभाषा बचाउनुपर्ने तथा मातृभाषा बचाउन आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्दै गुप्ताले प्रतिभा प्रस्फुटन तथा विकासको खासै वातावरण नरहेको अवस्थामा बालबालिकालाई साहित्य सिर्जनातर्फ प्रोत्साहन गर्न अभिभावकहरूले पनि साहित्य पढ्नुपर्ने आवश्यकता रहेको बताउँछिन् ।

मधेसी शिक्षित महिला स्वाभाविक नै बहुभाषिक हुनुपर्ने समाजको संरचना रहेको अवस्थामा हरेक भाषालाई सम्मान गर्ने अभिव्यक्तिको रूपमा साहित्य सिर्जनालाई लिन सकिने गुप्ता बताउँछिन् । साहित्य पढ्न तथा लेख्न सबै शिक्षित महिलालाई गुप्ता आह्वान पनि गर्छिन् । गुप्ता भन्छिन्, ‘मनको बह पोख्ने एउटा ठाउँ साहित्य पनि हो ।’

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया