हामीलाई कमजोर ठाने सत्ता उलटफेर हुन सक्छ : माधव नेपाल

मधेस ब्युरो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई कमजोर ठान्न खोजे सत्ता उलटफेर हुन सक्ने चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष नेपालबीच खटपट बढिरहेको आशंकाबीच उनले आफ्नो गृहनगर रौतहटको गौरमा शुक्रबार चेतावनी दिएका हुन् ।

आफूले ठूल्ठूला समस्या झेलेर आएको बताउँदै अध्यक्ष नेपालले तत्कालिन राजा वीरेन्द्र, ज्ञानेन्द्र, गणेशमान, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, नेकपा माअ‍ेवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि महाप्रचण्ड समेतको प्रतिस्पर्धा गरेको खुलासा गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कसैले अवमूल्यन र बेवास्ता नगर्न चेतावनी दिएका हुन् ।

रौतहटको सदरमुकाम गौर नगरपालिका– २ स्थित बकैया नदीमा नवनिर्मित झोलुंगे पुलको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने कसैको दास नभएको र कसैको इसारामा पनि नचल्ने बताउँदै आफ्नो स्वाभिमान भएको तथा मूल्य र मान्यता भएको व्यक्ति र पार्टी रहेको स्पष्ट पारे । उनले भने, ‘यो कुरालाई बुझे काम सल्टियो, नबुझे काम उल्टियो ।’

बकैया नदीमा निर्माण भएको झुलुंगे पुलले गौर नगरपालिका र इशनाथ नगरपालिकाका स्थानीयवासीको आवातजावतको समस्यालाई समाधान गरेको बताउँदै अध्यक्ष नेपालले बाढी, वर्षा तथा हिलोको समयमा आवागमन बन्द हुने समस्या अब समाधान भएको बताए । उनले गृह जिल्ला रौतहटसँगै देशको विकासको लागि निरन्तर चिन्तनशिल रहेको पनि बताए ।

गौर नगरपालिका–२ करिब ४ करोडको लागतमा निर्माण भएको झोलुंगे पुललाई मधेस प्रदेशकै दोस्रो लामो पुल मानिएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विशेष सक्रीयतामा पुलको निर्माण सम्भव भएको हो । कार्यक्रममा नगरप्रमुख साहसँगै राजदेवीका नगरप्रमुख भिखारीप्रसाद यादवसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।

यसैबीच अध्यक्ष नेपालले पूर्व–पश्चिम राजमार्गलाई रौतहट सदरमुकाम गौरसँग जोड्ने मुख्य राजमार्गमा गौर नगरपालिका– ७ सिसवामा नगर प्रवेश द्वारको शिलान्यास गरेका छन् । २०८२ बैसाखभित्रमा निर्माण सकिने प्रवेशद्वारको लागत ६७ लाख रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया