जसपाकी सांसद हसिना खानले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित जनता समाजवादी पार्टी (जसपा) की सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरेले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुख घिमिरेले सांसद खानलाई सांसद अंकित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे ।

संघीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनुअघि सभामुसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।

सो अवसरमा सचिवालयको तर्फबाट संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराउनुभयो ।

सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो ।

स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी छन् । सांसद खानले भनिन्, ‘सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्दा प्रभावकारी रुपमा उठाउने पर्यत्न गर्नेछु ।’

रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मिएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन् । उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन् । सांसद खानको अहिले बाँके कार्यक्षेत्र रहेको छ ।

प्रतिक्रिया