समाजवादीका अध्यक्ष नेपालद्वारा प्रवेश द्वारको शिलान्यास

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालले एक प्रवेश द्वारको शिलान्यास गरेका छन् । अध्यक्ष नेपालले शुक्रबार सो प्रवेश द्वारको शिलान्यास तथा अर्को योजनाको उद्घाटन समेत गरेका छन् ।

चालु आर्थिक वर्ष गौर नगरपालिकाको नगरस्तरीय योजना बाटगौर नगरपालिका– ७ सिसवास्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा निर्माण हुने नगर प्रवेश द्वारको अध्यक्ष नेपालले शिलान्यास गरेका हुन् । राजपुर नगरपालिका र गौर नगरपालिकाबीच सीमानामा निर्माण हुन लागेको गौर नगरपालिका प्रवेश द्वारले गौर नगरपालिकाको सीमा प्रारम्भ र अन्त्य भएको संकेत गरिने छ ।

६७ लाखको लागतमा निर्माण हुने उक्त नगरस्तरीय प्रवेश द्वारको ठेक्का अनमोल निर्माण सेवा गौर नगरपालिका– ४ लाई परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले जानकारी दिए । २०८२ साल वैशाख भित्रमा निर्माण कार्य सकिने सो प्रवेश द्वारको लम्बाई करिब १०० फिट रहेको बताइएको छ । प्रवेश द्वारको निर्माण गौर चन्द्रनिगाहपुर सडक ४ लेन विस्तारलाई मध्यनजर गर्दै डिजाइन गरिएको छ ।

त्यसैगरी ४ करोडभन्दा बढीको लागतमा गौर नगरपालिका– २ स्थित लाल बकैया नदीमा निर्माण भएको झुलुंगे पुलको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव, पूर्वराज्य मन्त्री डाक्टर बंशीधर मिश्रालगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया