सहकारी ठग नै सत्तामा : कसरी न्याय पाउलान् पीडितले ?

मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौँ सर्वसाधारणको ९ खर्ब रकम डुबेको छ । त्यसमा यी तीन मन्त्रीहरूको पनि नाम छ । बचतकर्ताको करोडौँ रकम पचाएको उनीहरूमाथि आरोप लाग्दै आएको छ । बिडम्बना प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा जोडिएका आफ्नै सरकारमा भएका मन्त्रीहरूमाथि कारबाही थालेका छैनन् । अनि यस्तो व्यक्तिले सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्छ र पीडितहरूले न्याय पाउँछन् भनेर सर्वसाधारण कसरी विश्वास गर्ने ?

अनुषा थापा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनका तीन मन्त्रीलाई सहकारी ठगीको आरोप लागेको छ । गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र श्रममन्त्री डोलबहादुर अर्याल (डिपी) माथि सहकारीको रकम हिनामिना गरेको आरोप छ ।
मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं सर्वसाधारणको ९ खर्ब रकम डुबेको छ । त्यसमा यी तीन मन्त्रीहरूको पनि नाम छ । बचतकर्ताको करोडौँ रकम पचाएको उनीहरूमाथि आरोप लाग्दै आएको छ । बिडम्बना प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा जोडिएका आफ्नै सरकारमा भएका मन्त्रीहरूमाथि कारबाही थालेका छैनन् । अनि यस्तो व्यक्तिले सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्छ र पीडितहरूले न्याय पाउँछन् भनेर सर्वसाधारणले कसरी विश्वास गर्ने ? बचतकर्ताहरूको सडकमा बाँस भएको छ । सहकारीमै पैसा राखेका कारण उनीहरूको घरपरिवारसँगको सम्बन्ध बिग्रिएको छ । कतिपय त घरबाटै निकालिएका छन् । आफ्नो सम्पत्ति त खाइदियो नै सहकारीले सँगै परिवारसमेत गुमाउनुपर्यो ।

यता, सहकारी ठगीको आरोप लागेका मन्त्रीहरू भने झन्डावाला गाडी चढेर हिँडिरहेका छन् । अब सर्वसाधारण प्रधानमन्त्री प्रचण्डमाथि विश्वास गर्दैनन् न त केपी ओलीमाथि नै । यत्रो बचतकर्ताको करोडौँ रकम खाएको आरोप लाग्दा वा प्रमाण नै हुँदासमेत किन यी तीन मन्त्रीलाई बर्खास्त गरिएन । किन छानबिनका लागि समिति गठन गरिएन ? उल्टै प्रधानमन्त्री प्रचण्ड र ओली उनीहरूको सपोर्टमा लागिपरेका छन् । सत्ता टिकाउन यिनीहरू जे पनि गर्छन् भन्ने कुरा अहिले सावित भइसकेको छ । सहकारीका सञ्चालक, अध्यक्षहरू बचतकर्ताको रकम खाएर भाग्दासमेत सरकारले कारबाही नगरेको भन्दै सर्वसाधारण आक्रोश पोख्छन् । हिजो सहकारी खोल्न सरकारले लाइसेन्स दिएको हो ।

तर, अहिले यत्रो करोडौँ बचतकर्ताको खर्बौं रकम सहकारीका सञ्चालक, अध्यक्षहरूले खाइदिँदा पनि सरकारले चासो नदिँदा सर्वसाधारणको सरकारबाट विश्वास उठेको छ । देशमा सरकार पनि छ र ? भन्ने जनमानसको मनमा उठिसकेको छ । सहकारीले बचतकर्ताको बिल्लीबाँठ बनाएको देखेर अहिले बैंकमा पैसा निकाल्नेको भिड छ । सहकारीझैँ बैंक पनि कतै डुब्ने त होइन ? भन्ने डर सर्वसाधारणमा उत्पन्न भइसक्यो । सहकारी डुब्दा सरकारले चासो दिएन । बचतकर्ताहरूका लागि केही गरेन । त्यसैले, अहिले सर्वसाधारण आफैँ चलाख भएका छन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंक खोल्न स्वीकृति दिएको हो । सहकारीबाट यत्रो बचतकर्ता ठगिँदासमेत सहकारीमन्त्री बलराम अधिकारीले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालक, अध्यक्षलाई पक्राउगर्न सिआइबीलाई पत्र लेखेनन् ।

न त अब सहकारीमा बचत नगर्नुस् भनेर सार्वजनिक सूचना नै निकाले, उनले । सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले पनि निक्षेप फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्न टिप्पणी उठाएर मन्त्रालय पठाएनन् । पीडित बचतकर्ताहरू कहिले मन्त्रालय, कहिले विभाग त कहिले स्थानीय तह र प्रहरीचौकी । उनीहरू विभिन्न निकाय धाएको पनि दुई वर्ष भइसक्यो ।

सहकारी पीडित वचतकर्ताहरूले माइतीघर मण्डलामा ६२ दिन आन्दोलन गरे । आन्दोलनले भयावह रूप लिने भएपछि सरकारले सात बुँदे सहमति गर्यो । तर, सहमति कार्यान्वयन नभएपछि पीडित बचतकर्ताहरू फेरि सडकमा उत्रिए । महिनौँ दिन संघर्ष गरे । अनशन गरे । र, सरकारले फेरि पनि आठ बुँदे सहमति गर्यो । यद्यपि, सहकारीबमोजिम केही कार्य भएको छैन ।

अहिलेसम्म बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीका सञ्चालक, अध्यक्षलाई सरकारले समातेको छैन । उल्टै सहकारी ठगीमा जोडिएका व्यक्तिहरू सत्ताको रस चाखिरहेका छन् । घरैपिच्छे सहकारी पीडितहरू छन् । सहकारीले नठगेको मान्छे नै भेटिँदैन । सहकारीहरू ठग, चोर हुन् भनेर बुझे । तर, ढिलो बुझे । आफू डुबेपछि मात्र उनीहरूले यो कुरा थाहा पाए । पछिल्लो समय बजारमा सहकारी नै भेटिँदैनन् । सबै सहकारी भागिसकेका छन् । नभागेकाहरू पनि भाग्ने तयारीमा छन् । सहकारीमा बचत गरेर डुबेका पीडितहरू अहिले आफ्ना आफन्त, साथीभाइहरूलाई भन्छन्, ‘अब बैंक पनि टाट पल्टिन्छ । हामी त डुबिहाल्यौँ । तपार्इंहरूचाहिँ सतर्क हुनु ।’ अहिले बैंकमा कर्जा प्रवाह ठप्प छ । कर्जा माग्न कोही जाँदैन ।
कर्जा प्रवाहसँगै अहिले बैंकमा बचतकर्ता गर्नेहरू पनि घट्दो छन् । बचतकर्ताहरू डिपोजिट गर्नुभन्दा निकालिरहेका छन् । सहकारी किन डुब्यो ? भनेर अहिले सर्वसाधारण र सरकारले नै थाहा पाएको छ । सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा गर्दा सहकारी भाग्नुपर्यो । अनि बैंकको पनि लगानी यिनै तीन क्षेत्रमा त छ ।

त्यसैले, अहिले बैंक टाट पल्टिने संकेत देखिँदै गएको छ । घरजग्गा, गाडी र सेयर दलालीहरूले आफ्नो फाइदाका लागि सहकारी डुबाइदिए, बैंक टाट पल्टाइदिए र सर्वसाधारणको कन्तविजोग बनाइदिए । अटो व्यवसायीहरू भारतमा एक लाखमा पाइने गाडी नेपाल ल्याएर ५० लाखसम्ममा बेचे । जग्गा दलालहरूले खेतीयोग्य जमिन प्लटिङ गरेर आनाको पाँच हजार नपर्ने जमिन लाखौँमा बेचिदिए । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरूले मूल्य बढाएर ३५ सयमा बेचे । अहिले यो क्षेत्रमा पूरै मन्दी छ । बजारमा सबै बेच्न चाहने मात्र भेटिन्छन् तर किन्ने कोही छैन । ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ ।

बैंकबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेकाहरू अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण दिनप्रतिदिन बढ्दै गएको छ । तर, तिर्न पैसा छैन । अर्कोतर्फ धितो पनि बिक्री भइरहेको छैन । यता, बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर पनि किन्ने कोही छैन । बजारमा मन्दीका कारण घरहरू धमाधम खाली भइरहेका छन् ।

कोठा, सटर र फ्ल्याट दिनहुँ खाली हुँदै गएको छ । पाँच सय र हजारको नोट पनि हाहाकार हुन थालिसक्यो । मानिसहरूले सबै पैसा लुकाइसकेका छन् । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरे पनि कारोबार बढेन । सेयरमा लगाइएको १२ करोड कर्जा सीमा हटाउँदासमेत कारोबार बढ्न सकेन । पहिला भ्यालसिनको आधारमा ५० प्रतिशत कर्जा दिने गरिएकोमा बढाएर ८० प्रतिशत पुप्याउँदासमेत गाडीको किनबेचमा पनि सुधार आएन । अहिले व्यापारीहरू भन्छन्, ‘सटर खोल्नु मात्र हो, बोहनी हुँदैन । अब सटर छोड्छौँ ।’
यता काम गरेको ठाउँमा वर्षांैदेखि तलब दिएको छैन । अहिले बैंकमा पैसा राख्नुहुन्न, बैंक पनि सहकारीकै हालतमा पुग्छ भनेर जनता प्रष्ट भइसकेका छन् । सरकारले निर्माण व्यवसायी र दुग्ध किसानको अर्बौं भुक्तानी दिएको छैन । २७ खर्ब ऋण लिइसक्यो, सरकारले । यसको साँवाब्याज तिर्न सरकारसँग आम्दानीको स्रोत छैन । राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसक्यो । फेरि सरकारी कर्मचारी र जनप्रतिनिधिलाई त जसरी भए पनि तलबभत्ता, पेन्सन दिनै पर्यो । अहिले सर्वसाधारण भन्छन्, ‘सरकार अब खर्च धान्न बैंकको पैसा चलाउँछ ।’ र, आफूहरूको पैसा फिर्ता नआउने भनेर बचतकर्ताहरू आत्तिएका छन् ।
अहिले बैंकका बचतकर्ताहरूको निद्रा र भोक नै हराएको छ । अधिंकाश बचतकर्ताहरूले आफ्नो बचत निकाल्न थालिसके । ब्याजको प्रलोभनमा नपरी धमाधम बचतकर्ताहरू निक्षेप निकालिरहेका छन् । किनकि सहकारीले यत्रो बचतकर्ताको खर्बौं रकम डुबाइदिँदा त केही नगरेको सरकारले बैंक टाट पल्टिदा बचतकर्ताहरूलाई न्याय दिन्छ भनेर जनताले कसरी पत्याउने ? कसरी विश्वास गर्ने ? हावा नआई रुखको पात हल्लिँदैन । अहिले बैंक डुब्यो भनेर बजारमा भव्य हल्ला चलिसकेको छ । अनि बैंक नडुबिकन कसरी यो हल्ला चल्छ त ? राष्ट्र बैंक बैंकमा पैसा थुप्रियो भन्छ । तर, कसरी पैसा बजारमा पठाइएको थियो ? र, त्यसमध्ये कति बैंकमा थुप्रियो ? भनेर राष्ट्र बैंक भन्दैन ।
बैंक डुबे पनि राष्ट्र बैंक जनतालाई भ्रममा पारिरहेको छ । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरले बैंक डुबेको छैन भनेर जतिसुकै भने पनि अब जनता पत्याउने छैनन् । किनकि बैंक डुबेको बजारले नै देखाइसकेको छ । घरजग्गा, गाडी र सेयरको मूल्य घट्दै गएको छ । फेरि बैंकको सम्पूर्ण कर्जा लगानी पनि यिनै क्षेत्रमा छ । अनि बैंक डुब्दैन भनेर सरकारसँग के आधार छ ? केही दिनअघि एनआइसी एसिया बैंकले एक सूचना प्रकाशित गर्दै कर्जा तिर्नेलाई २० प्रतिशत छुटसँगै ब्याज, पेनाल्टीसमेत दिनुनपर्ने भन्यो । यसबाटै बैंक डुब्यो भनेर छर्लंग भइसक्यो । र, आमसर्वसाधारणले पनि यो कुरा बुझिसकेका छन् ।

प्रतिक्रिया